दाजुको निधन भएको १ दिन नबित्दै भाइको पनि गयो ज्यान

  हल्कारान्यूज  1684 पटक हेरिएको

विराटनगर । मोरङमा २४ घण्टाको अन्तरमा दाजुभाइको निधन भएको छ। लेटाङ नगरपालिका–२ का ७० वर्षीय गोपाल कोइराला र ६३ वर्षीय ईश्वरीप्रसाद कोइरालाको एक दिनको अन्तरमा निधन भएको हो।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा कोरोनाको उपचार हुँदाहुँदै दाजु गोपालको बिहीबार बिहान निधन भएको थियो भने कोरोना संक्रमण मुक्त भएका भाइ ईश्वरीको शुक्रबार बिहान ११ बजेतिर निधन भएको हो।

नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पुष्टि भएपछि गोपाललाई मंसिर ९ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उनी लेटाङमै किराना पसल सञ्चालन गरेर बसेका थिए। पछिल्लो समय श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने र ज्वरो आउने समस्या थियो।

पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि ईश्वरीलाई मंसिर २ गते बिहान अस्पताल भर्ना गरिएको थियो। पुनः परीक्षण गर्दा मंसिर ९ गते रिपोर्ट नेगेटिभ आएको थियो। नेगेटिभ रिपोर्ट आएपछि पनि उनको अवस्था गम्भीर थियो।

कोरोनामुक्त भएपछि कोभिड वार्डबाट जनरल आईसीयूमा सारेर उपचार गर्ने क्रममा निधन भएको अस्पतालले जनाएको छ। नेपाली कांग्रेस नेतासमेत रहेका ईश्वरीमा मधुमेह र फोक्सो सम्बन्धी पुरानै समस्या थियो।

ईश्वरी कांग्रेस मोरङ क्षेत्र नम्बर १ ‘ख’ का सभापति हुन् उनी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रमा कांग्रेसबाट उम्मेदवार बनेका थिए। निर्वाचनमा नेकपाका उपेन्द्र घिमिरेसँग पराजित भएका थिए।

कांग्रेसका नेता एवं उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, पार्टीका जिल्ला सचिव मोदराज घिमिरेलगायतले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेपछि शवको लेटाङकै चिसाङ खोलामा अन्त्येष्टि गरिएको कांग्रेसले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार