संवैधानिक सर्वोच्चताको लागि संवेदनशील बन्न सभामुखको अपील

  हल्कारान्यूज  435 पटक हेरिएको

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको विघटनले मर्माहत बनाएको भन्दै सम्बद्ध पक्ष संवैधानिक सर्वोच्चताका लागि गम्भीर र संवेदनशील बन्नुपर्ने बेला आएको बताउनुभएको छ।

प्रतिनिधि सभा विघटन भएको तीन दिनपछि बुधबार एक विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले ‘नेपालको संविधानको धारा ९३ (१) बमोजिम यहीँ २०७७ पुस १७ गतेभित्र संघीय संसदको सातौं अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्यासित रूपमा प्रतिनिधि सभामाथि अवरोध सृजना गरिएकोमा प्रतिनिधि सभा र आफूलाई मर्माहत बनाएको’ बताउनुभएको हो।

सरकारले प्रतिनिधि सभा विघटन गर्नु संविधान विपरीत भएको भन्दै सभामुख सापकोटाले संवैधानिक सर्वोच्चताको लागि सबै राजनीतिक दलहरूलाई एक भएर उच्चस्तरीय सहमति गर्न आग्रह गर्नुभएको छ।

‘सात दशकयताका विभिन्न आन्दोलनको जगमा संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको पालना सिंगो मुलुकको प्रमुख कार्यभार हो। संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेर गएको छ,’ सभामुख सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘संवैधानिक सर्वोच्चताका लागि माननीय सदस्यहरू, राजनैतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको छ।’

प्रतिनिधि सभाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन हुने संविधानमा व्यवस्था नरहेको सभामुखको भनाइ छ। उहाँले संविधान निर्माण गर्ने क्रममा स्थिरताका लागि प्रतिनिधि सभा विघटन नगर्ने व्यवस्था राखिएको उल्लेख गर्नुभएको छ।

‘संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ। यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधिसभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ।’

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुभएको थियो। त्यसयता कानुन व्यवसायी र अन्य सरोकारवालासँग परामर्श गरिरहनुभएका सभामुख सापकोटाले प्रतिनिधि सभा विघटन भएपछि पहिलोपटक विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार