ओलीलाई संसद विघटन निकै महंगो पर्नेछ- नेकपा युवा नेता मल्ल

  हल्कारान्यूज  1248 पटक हेरिएको

चण्डीगढ (भारत) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता रमेश मल्लले संसद विघटनको मूल्य केपी शर्मा ओलीलाई निकै महंगो पर्ने बताएका छन्।

अखिल भारत नेपाली एकता मञ्च संयुक्त राज्यसमिति चण्डीगढले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता मल्लले संसद विघटन ओलीका लागि धेरै महंगो पर्ने बताएका हुन्।

जनताले ५ वर्षका लागि चुनेको जनप्रतिनिधिमूलक संस्थालाई विघटन गरी ओलीले संविधानको गम्भीर उलंघन गरेको आरोप लगाउँदै मल्लले भने, ‘संसद विघटन गरेर तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली तानाशाही बाटोमा लागेका छन्, यो कदम उनका लागि धेरै महंगो पर्नेछ।’

ओलीको असंवैधानिक कदम अदालतले मात्रै रोक्न सक्ने र विघटित संसदलाई ब्यूँताउन सक्ने भन्दै मल्लले देशलाई नै विघटनतर्फ लैजान खोज्ने खतरनाक निर्णयप्रति न्यायालय र न्यायमूर्तिहरु गम्भीर हुने विश्वास व्यक्त गरे।

अदालतबाट पनि सरकारकै निर्णयमाथि ल्याप्चे लगाउने काम भयो भने नेपाली जनताका अगाडि सडकको विकल्प मात्रै बाँकी रहने र सडकबाटै तानाशाहरुलाई कसरी तह लगाउनुपर्छ भन्ने फैसला हुने मल्लले बताए।

‘ओली सरकारको खतरनाक निर्णयमाथि ल्याप्चे लाउने काम न्यायालयबाट हुने छैन भन्ने हाम्रो विश्वास छ, न्यायालयले संसद पुनःस्र्थापना गर्नेछ,’ अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्षसमेत रहेका नेता मल्लले भने, ‘यदि न्यायालयबाट पनि सरकारकै कदममा साथ दिने काम भयो भने हामीसँग सडकको विकल्प बाँकी नै छ। दुनियाँका सबैखाले तानाशाहलाई तह लगाउने सडक नै हो। ओलीको प्रतिगामी कदमविरुद्ध सडकमा मशालको ज्वाला बलिसकेको छ।’

‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा लिएर सत्तामा गएका आफ्नै नेता तानाशाहमा परिणत हुनु दुःखद भएको चर्चा गर्दै नेता मल्लले हिटलरको बाटोमा हिड्न खोज्ने जोसुकै तानाशाहको अन्त्य पनि हिटलरकै जस्तो हुने बताए।

ओलीले आफ्नै पार्टी नेतृत्वको कर्णाली प्रदेश सरकार ढाल्ने खेलमा लागेको भन्दै मल्लले प्रदेश २ मा ओलीनिकट व्यक्तिहरुबाटै आफ्नै पार्टीका कार्यकर्ताको हत्या गरिएको आरोप लगाए।

ओली संघीयता, धर्मनिरपेक्षता र गणतान्त्रिक व्यवस्थाकै विरोधी भइसकेको विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको भन्दै नेता मल्लले भने, ‘कर्णाली प्रदेशबाट भेट्न आएका जनप्रतिनिधिहरुलाई ओलीले प्रदेश सरकार संघको इकाई हो भन्ने आँट कसरी गर्नुभयो? भारतीय हिन्दूवादीहरुको कुरा सुनेपछि धर्मनिरपेक्षबाट पछि हट्दै हुनुहुन्छ र अन्ततः उहाँ गणतान्त्रिक व्यवस्थाकै विरुद्धमा जाँदै हुनुहुन्छ।’

देश कोरोना महामारीको संकटमा पर्दासमेत स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्ने, वालुवाटार जग्गाकाण्डमा संलग्नलाई मन्त्री बनाउनेदेखि प्रेस खरिदलगायतका भ्रष्टाचारमा मुछिएकालाई संरक्षण गर्ने प्रधानमन्त्री ओली कमरेड भन्नलायक नभएको भन्दै मल्लले भ्रष्टका नायक भइसकेको आरोप लगाए।

देश अहिलेको राजनीतिक संकटमा फसेको ओलीकै कारणले भएका चर्चा गर्दै मल्लले यसको निकास भनेको विघटित संसदको पुनःस्र्थापना र ओली प्रवृत्तिको अन्त्य भएको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार