प्रतिनिधि सभा विघटन मुद्धाः संवैधानिक इजलासमा नेकपा छुटाइदिने न्यायाधीश पनि !

  हल्कारान्यूज  100 पटक हेरिएको

काठमाडौँ । प्रतिनिधि सभा विघटनको मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा गठित इजलासमा वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन्।

यसपटक प्रधानन्यायाधीश जबराले आफ्नो कामकारबाहीमा असन्तुष्ट भएका वरिष्ठतम न्यायाधीश कार्कीलाई पनि इजलासमा राखेका छन्। कार्कीले सर्वोच्च अदालतभित्र विकृति विसंगति देखिएको भन्दै निरन्तर प्रश्न उठाइरहेका छन्।

त्यसपछिको रोलक्रममा रहेका मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडालाई इजलासमा नराखी डा. आनन्दमोहन भट्टराईलाई इजलासमा राखिएको छ। भट्टराईपछिको रोलक्रममा रहेका अनिलकुमार सिंन्हा, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्ललाई पनि इजलासमा नराखी न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको छ।

केसी यसअघि पनि प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइ गर्ने इजलासमा थिए। न्यायाधीश श्रेष्ठ यसपटक थपिएका हुन्। न्यायाधीश श्रेष्ठ गत फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दल दर्ताको विषयमा फैसला गर्ने न्यायाधीश कुमार रेग्मीसहितको संयुक्त इजलासमा थिए।

शुक्रबारको इजलासमा संवैधानिक इजलासमा जाने भनी सोझै दर्ता भएका निवेदनका साथै बिहीबार एकल इजलासको आदेशबाट फरवार्ड भएका १९ निवेदनहरु पनि एकसाथ पेस भएका छन्। सांसदहरुले पेस गरेको निवेदन सुनुवाइको आठौं क्रममा रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार