कर्णालीमा रासायनिक मल पर्याप्त

  हल्कारान्यूज  89 पटक हेरिएको

सुर्खेत । कर्णाली प्रदेशमा यस वर्ष रासायनिक मलको अभाव नहुने बताइएको छ। कर्णालीमा रासायनिक मल वितरणको जिम्मा पाएका साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेड शाखा सुर्खेत र कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले यस वर्ष मलको अभाव नहुने बताएका हुन्।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले यो वर्ष मात्र १७ हजार क्वीन्टल रासायनिक मल कृषकलाई वितरण गर्ने लक्ष्य लिएको छ। रोपाइँ सुरू नहुँदै ११ हजार ३ सय ८ क्वीन्टल मल वितरण गरिसकिएको कार्यालयले जनाएको छ।

सहकारी डिपोमार्फत् प्रतिबोरा युरिया ८ सय ६६, दाना मल (डीएपी) २ हजार ३ सय १६ र पोटास १ हजार ७ सय १६ रूपैयाँमा बिक्री–वितरण गरिरहेको कार्यालयका निमित्त प्रमुख सुन्दर केसीले बताउनुभयो। उहाँका अनुसार सम्बन्धित स्थानीय तहले सहकारीमार्फत् वितरण गर्ने मलका लागि ढुवानी खर्चसहितको मूल्य आफैले तोकेर किसानलाई वितरण गर्ने गरेका छन्।

गत वर्ष मल आपूर्तिमा समस्या भए पनि यो वर्ष भने सहज रूपमा उपलब्ध भइरहेको केसीले बताउनुभयो। पहिलेभन्दा अहिले रासायनिक मलको खतप बढिरहेको भन्दै केसीले आगामी वर्षदेखि वितरणको लक्ष्य समेत बढेर आउने बताउनुभयो। हालसम्म १७ हजार क्वीन्टल मल वितरण गर्दै आएकोमा आगामी वर्षदेखि ३० हजार क्वीन्टल वितरणको लक्ष्य लिने तयारी भइरहेको उहाँको भनाई छ। उहाँका अनुसार कर्णालीका सुर्खेत र दैलेखमा रासायनिक मलको खपत धेरै छ भने जाजरकोट र कालीकोट लगायतका जिल्लामा न्यून मात्रामा मल जाने गरेको छ।

यो वर्ष सुर्खेतमा ४ हजार ५ सय ९० क्वीन्टल युरिया, ३ सय ८६ क्वीन्टल पोटास र ४ हजार ३ सय ६० क्वीन्टल दाना मल वितरण गरिएको छ। त्यस्तै, दैलेखमा ८ सय ६८ क्वीन्टल युरिया, ६ सय ४९ क्वीन्टल डीएपी र ८३ क्वीन्टल पोटास वितरण भएको छ।

जाजरकोटमा २ सय १५ क्वीन्टल युरिया, ६० क्वीन्टल डीएपी र ८ क्वीन्टल पोटास वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ। कालीकोटमा ७० क्वीन्टल युरिया, १५ क्वीन्टल डीएपी र २ क्वीन्टल पोटास वितरण गरिएको छ।

कर्णाली प्रदेशका सल्यानमा तुल्सीपुर शाखा र रुकुम–पश्चिममा घोराही शाखाले मल वितरण गर्दै आएका छन्। जुम्ला, हुम्ला, मुगु र डोल्पाका स्थानीय तहमा डिपो छैनन्। ती जिल्लामा रासायनिक मलको प्रयोग समेत नहुने बताइएको छ।

साल्ट टे«डिङ्ग कर्पोरेशनको शाखा सुर्खेतले सुर्खेत, दैलेख र जाजरकोटमा मात्रै डिपो स्थापना गरी मल वितरण गर्दै आएको छ। कार्यालय प्रमुख रामबाबु गुप्ताले यो सिजनमा ६ हजार ४ सय ६४ क्वीन्टल डीएपी, १० हजार २ सय १३ क्वीन्टल युरिया र ३ सय ९१ क्वीन्टल पोटास वितरण गरेको बताउनुभयो। साल्ट टे«डिङ्ग र कृषि सामग्री कम्पनीले एउटै रेटमा मल वितरण गर्ने गरेका छन्।

कृषि विकास निर्देशनालयले यो वर्ष रासायनिक मलको अभाव नहुने बताएको छ। निर्देशनालयका कृषि बाली विकास अधिकृत यामबहादुर रानाले रासायनिक मल पर्याप्त रहेको बताउनुभयो। कर्णालीका जुम्ला, हुम्ला, डोल्पा र मुगुमा ढुवानी समस्याका कारण रासायनिक मल नजाने भन्दै उहाँले अर्गानिक प्रदेशको अवधारणाले पनि रासायनिक मलमा कृषकले जोड नदिएको दाबी गर्नुभयो।

निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशमा ४८ हजार ६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। त्यस्तै, ७३ हजार ३ सय ८ हेक्टर क्षेत्रफलमा मकै, ८० हजार ३ सय ५७ हेक्टरमा गहुँ र १७ हजार ९ सय ६४ हेक्टर क्षेत्रफल जमिनमा कोदो लगाउने गरिएको छ। निर्देशनालयका अनुसार ९ हजार १ सय ३१ हेक्टर क्षेत्रफल जमिनमा जौ खेती गरिन्छ।

यस्तै, कर्णालीका ११ हजार ८ सय २३ हेक्टर क्षेत्रफलमा आलु, १० हजार ४ सय ६२ हेक्टरमा दलहन, १२ हजार ९ सय ४ हेक्टरमा तरकारी र १५ हजार ३ सय ६७ हेक्टर जमिनमा फलफूल खेती गर्ने गरिएको छ।

सरकारले रासायनिक मलका लागि विनियोजन गरेको बजेटमध्ये साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडले ३० प्रतिशत र कृषि सामग्री कम्पनी लिमिटेड ७० प्रतिशत बजेट प्राप्त गर्छन्। सरकारबाट प्राप्त अनुदानमार्फत् मल खरिद गरी कृषकलाई वितरण गरिँदै आएको छ।

तुलनात्मक रूपमा कर्णालीमा अन्य प्रदेशभन्दा कम रासायनिक मल खपत हुने गरेको छ। देशभर वितरण हुने रासायनिक मलको झन्डै १ प्रतिशत मात्रै कर्णालीमा खपत हुने गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार