व्यवस्था र अवस्थाको कैरन

  भवानी बराल  105 पटक हेरिएको

आउने स्थानीय चुनावलाई लक्षित गरेर नेकपा (माओवादी केन्द्र) ले ‘व्यवस्था बदल्यौं, अवस्था बदल्नु छ’ नारा तय गरेको छ। व्यवस्था र अवस्था यी दुई शब्दको सप्रसङ्ग व्याख्या त आइसकेको छैन। तर, बदलिएको व्यवस्थाले अवस्था किन ल्याएन भन्ने प्रश्नको हल नभएको बुझाउँछ। कतै व्यवस्था नै पूर्ण आकार प्रकारको नभएर अवस्था सुध्रेन कि भन्ने प्रश्न पनि काँचैकचिलै छ।

यद्यपि परम्परागत व्यवस्था बदल्न सफल माओवादीले पहिलो पटक अवस्था बदल्ने अबको कार्यभार भएको प्रण गरेको छ। आजभन्दा ६ दशक अघिदेखि नेपाली समाजले नयाँ व्यवस्था खोज्दै आएको हो। अवस्था नसुध्रिएकोले नै नयाँ व्यवस्था खोजेको थियो। यसबीच विभिन्नखाले व्यवस्था पनि आए, गए। निरंकुश पञ्चायती व्यवस्था, राजतन्त्रात्मक बहुदलीय संसदीय व्यवस्था र पछिल्लो पटक बदलिएको गणतन्त्रात्मक संघीय संरचनात्मक लोकतान्त्रिक व्यवस्था। पछिल्लो व्यवस्था माओवादी विद्रोहको जगमा भएको हो। माओवादी विद्रोहले व्यवस्था परिवर्तन गर्न प्रमुख नेतृत्वदायी भूमिका खेलेको ठीक साँचो हो। माओवादी विद्रोहको अभावमा परिवर्तन सम्भव थिएन। तर, व्यवस्था त बदलियो अवस्था चैं के छ ? यो प्रश्न पनि अनुत्तरित हुनुहुन्न । अवस्था राम्रो वा वदलिएपछि मात्र बदलिएको व्यवस्थाको औचित्य पूरा हुन्छ।

व्यवस्थाको प्रबन्ध

संसारलाई परिभाषित गर्ने दुई वटा विश्व दृष्टिकोण छन्। ती दुई विश्व दृष्टिकोण पुँजीवादी र साम्यवादी विचार दृष्टिकोणमा आधारित छन्। यिनै दुई विश्व दृष्टिकोणको भीषण संघर्षको बीचबाट व्यवस्थाहरु परिलक्षित हुन्छन्। नेपालको नयाँ व्यवस्था भनेको हिजोको भन्दा विल्कुल नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हो। व्यवस्था जस्तो छ, अवस्था पनि त्यस्तै प्रकारको हुनु पर्छ। राम्रो हालतमा पु¥याउने, सरल सहज बाटो इन्तजाम गर्ने व्यवस्थाको परिभाषा हो। सिद्धान्त वा ऐन कानूनद्वारा स्थिर गरिएको नियम वा विधानले व्यवस्थालाई व्यवस्थित गर्नु पर्छ। संविधानले समाजवाद उन्मुख अर्थ राजनीतिक व्यवस्थाको परिकल्पना गरेको छ। व्यवस्था समाजवाद उन्मुख हुँदै जाँदा स्वतः अवस्थामा प्रभाव पर्न जान्छ। कुनै कामको निम्ति चल्दोमिल्दो उपाय या बाटो व्यवस्थाले देखाउँछ । त्यही बाटो हिँडेपछि मात्र अवस्था बदलिने हो।

अवस्थाको अन्तरंग:

व्यवस्थाको कसी अवस्था हो। व्यवस्था ठीकठाक छ छैन अवस्थाले थाहा पाउने हो। कुनै घटनासँग सम्बन्धित भएर अवस्थाको जाँच परख हुन्छ। अवस्था भनेकै कुनै कामको स्थिति हो। अवस्था भनेको साधारण भाषामा हालत, दशा पनि हो। नयाँ व्यवस्थाको स्थापनापछि आमसमुदायको हालत, दशा कस्तो छ? बेला, समय, काल, मौका र अवसर जस्ता शब्दावलीको सप्रसंग व्याख्या नै अवस्था हो। मानवमात्र हैन प्राणीको दैनन्दिन अवस्था जागृत छ वा स्वप्न छ? यी कुराहरुले अवस्थाको आँखो देखा हाल बताउँछ।

आधुनिक युगमा प्रवेश:

आधुनिक नेपालको इतिहास सुरु भएको ६ दशक नाघिसकेको छ। सन् १९५९ मा पहिलो पटक व्यवस्थाको चयन गर्न अधिकार पाए यता नेपालमा पटक पटक व्यवस्था परिवर्तन हुँदै आयो। तर, अर्थ-राजनीतिक हिसाबले समीक्षा गर्ने हो भने व्यवस्था धेरै चोटी बदलियो तर अवस्थामा तात्विक फरक आएन।

पञ्चायतकालमा पनि वालिक मताधिकारको आधारमा भोट दिने व्यवस्था थियो। तर, त्यसबखतको मताधिकार, व्यवस्था बदल्ने हदको थिएन। यसर्थ विभिन्न जनक्रान्ति, जनविद्रोहले व्यवस्था नै बदल्यो। अहिलेको परिवर्तित व्यवस्था त्यसैको देन हो। तर, अवस्था त बदलिएन। अवस्था झनै विकराल बन्दैछ। मानव समुदायको नैसर्गिक अधिकार आधारभूत आवश्यकतामा पहुँच छैन। पहुँच खुस्किदै गएको छ। गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षाको न्युनतम सुनिश्चितता छैन। आमनागरिक आधारभूत अधिकारको पहुँचबाट बाहिर हुँदै गएका छन्। यही हो अहिलेको अवस्थाको वास्तविक चित्र।

जनजीविका स्वदेशमा सम्भव भैरहेको छैन। लाखौं युवा दक्ष जनशक्ति विदेशिन बाध्य छन्। हजारौं असामयिक मृत्युको मुखमा पुग्छन्। फर्किएकाहरु पनि निष्क्रिय जीवन लिएर आउँछन्। स्वदेशमा राज्यले प्रदान गर्नु पर्ने आधारभूत विषयसँग राज्यको सम्बन्ध विच्छेद हुँदै गएको छ। शिक्षा, स्वास्थ्य निजी प्रतिष्ठानका व्यावसायिक विषय हुँदै गएका छन्। यस्तो बेलामा व्यवस्थाले हस्तक्षेप नगरे अवस्था ठीक हुने कुरै भएन। सम्पूर्ण अर्थतन्त्र विदेशी दलाल पुँजीपतिको कब्जामा गइरहेको छ। जनतालाई सूचित गर्ने आमसञ्चार माध्यम तीनै दलाल पुँजीपतिको कर्पोरेट हाउसको मातहतमा छ । उत्पादन, उत्पादन सम्बन्ध र उत्पादकत्व ह्रास आएको छ। यस्तो अर्थतन्त्रका अगाडि हाम्रो अवस्था सुध्रने त टाढाकै विषय हो।

नाराको सार्थकता:

फेरि पनि व्यवस्था त बदल्यौं अवस्था बदल्नु छ नाराको अभीष्ट महत्वपूर्ण छ। व्यवस्थाको मार्गचित्र अनुसार अवस्थामा सुधार ल्याउन वा बदल्न नसके यो व्यवस्थाको औचित्य समाप्त हुन्छ । व्यवस्था र अवस्था सिक्काका दुई पाटा हुन् । एउटाको अभावमा अर्को एक्लै पूर्ण हुँदैन। यसपछि हुने भनेको पश्चगमन हो। जतिखेर जनव्यवस्था पनि खत्तम हुन्छ। अवस्था झनै कहालीलाग्दो हुनेछ। यतिखेर प्रतिगामीहरु यही अवस्थामा खेलेर प्रतिगामी व्यवस्थाको पुनर्उत्थानमा लागेका छन्।

यसर्थ आधुनिक युगसँगै प्रवेश गरेको व्यवस्थालाई संस्थागत गर्न अवस्था बदल्न जरुरी छ। समाजवादउन्मुख अर्थ राजनीतिले मात्र अवस्थालाई सुधार गर्छ। संविधानले स्थानीय सरकारलाई अवस्था सुधार गर्ने प्राथमिक अधिकार दिएको छ। यिनै प्राथमिक अधिकारको उपयोग गर्दामात्र पनि नयाँ अवस्था ल्याउने वा बदल्ने मार्गचित्र आउँछ।

राजनीतिक आधुनिकीकरण:

अवस्था बदल्न सर्वप्रथम राजनीतिक विज्ञानको सिद्धान्तअनुसार राजनीतिलाई आधुनिकीकरण गर्न जरुरी छ। आधुनिक समाजको स्थापना गर्न लक्ष लिनु र स्रोतको विवेकपूर्ण प्रयोग गर्ने प्रक्रिया नै राजनीतिक आधुनिकीकरणको परिभाषा हो। विवेकपूर्ण र वैज्ञानिक प्रतिस्थापन नै आधुनिकीकरणको गुरु मन्त्र हो। यसले राजनीतिक संस्कार र राजनीतिक सम्बन्धहरुमा परिवर्तन ल्याउँछ।

राजनीतिक आधुनिकीकरणले पाँचवटा परिणाम ल्याउँछ। पहिलो, मनोगत स्तरका जनताको आदर्श, मूल्य, धारणा तथा पूर्वस्थितिका परिवर्तन समावेश हुन्छ। दोस्रो, बौद्धिकस्तरमा शिक्षा तथा आमसञ्चार वृद्धि भई वातावरणको ज्ञानमा बढोत्तरी हुन्छ । तेस्रो, जनताको जीवनस्तर उठाउन सामाजिक परिचालनमा प्रगति हुन्छ। चौथो, सामाजिक स्तरमा, व्यक्तिको परिवार तथा प्राथमिक समूहहरुप्रतिको केन्द्रित शक्तिको धारणामा परिवर्तन आई अन्य संगठनहरुमा स्वतः संगठित हुने प्रवृत्ति बढ्छ। पाँचौ, महत्वपूर्ण कुरा आर्थिक स्तर, कृषि, व्यापारमा वृद्धि भई औद्योगिकीकरणको विकास हुन्छ। आर्थिक गतिविधि बढ्छ। औद्योगिकीकरण र विकासमा क्रान्तिकारी परिवर्तन आउँछ। राजनीतिक व्यवस्थामा स्वभाव र वस्तुगत परिवर्तन र जनताको जीवनशैलीमा सामाजिक र मनोगत तहमा परिवर्तन आउँछ।

राजनीतिको आधुनिकीकरणसँगै अवस्था बदल्ने बाटो प्रसस्त हुन्छ। यतिखेर माओवादी केन्द्रले अवस्था बदल्ने प्रतिबद्धता गरेको छ। व्यवस्था उसको प्रतिवद्धतामै बदलिएको हो। अब अवस्था पनि बदल्ने प्रण गरेकोले जनादेशको लागि मतादेश दिनु पर्छ। नत्र प्रश्नसम्म उठाउने नैतिक साहस र अधिकार हामीमा हुन्न।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार