कोन्ज्योसोम : नामै काफी छ [भिडियोसहित]

  गंगा पौडेल (बराल)  195 पटक हेरिएको

उपत्यकामा बसोबास गर्ने धेरैलाई ‘कोन्ज्योसोम’ नाम कठीन लाग्न सक्छ। ललितपुर जिल्लामा बसोबास गर्नेलाई नै पनि यो नाम अनौठो लाग्न सक्छ। ललितपुर जिल्लाका ६ स्थानीय तह एक महानगरपालिका (ललितपुर), दुई नगरपालिका (महालक्ष्मी र गोदावरी), तीन गाउँपालिका (महांकाल, बाग्मती)मध्येको कोन्ज्योसोम एउटा महत्वपूर्ण गाउँपालिका हो।

कुनै बेला काठमाडौं उपत्यकाको ‘कर्णाली’ नामले चिनिने यो गाउँपालिकाले आफ्नै ऐतिहासिक तथा सांस्कृतिक पहिचान प्राप्त गरेको छ– कोन्ज्योसोम। साविक नल्लु, भारदेउ, चौघरे, शंखु र दलचौकी गाविसको चौहद्धि मिलाएर बनेको कोन्ज्योसोमको अर्को राजनीतिक परिचय हो उपत्यकामा माओवादीले जितेको एक मात्र स्थानीय तह।

कोन्ज्योसोमको पहिचानः

भोट बर्मेली भाषा परिवारसँग सम्बन्धित तामाङ भाषाअन्तर्गत बौद्ध सभ्यताको पहिचान कोन्ज्योसोमले बोकेको छ। बौद्ध दर्शनमा बुद्ध रत्न, धर्म रत्न र संघ रत्नलाई तीन रत्न वा मार्ग भनिन्छ। बौद्ध सभ्यतामा संघको स्थान अत्यन्तै महत्वपूर्ण हुन्छ।

बुद्धत्व प्राप्तिको लागि धर्म रत्नको अनुशरण र अभ्यास गर्ने अनुयायी हरुको समुहलाई बौद्ध संघ भनिन्छ। सामन्यतया यी तीन रत्नलाई शरण स्थानको केन्द्रबिन्दुमा स्वीकार गरि शरण गमनशील तथा पञ्चशील पालना गर्ने व्यक्तिहरुको समूहमात्र बौद्ध संघ हुन्छ। बौद्ध सभ्यताको यसै नामबाट यो गाउँपालिकाले पहिचान पाएको छ।

कोन्ज्योसोमको कैरन :

कोन्ज्योसोमको कैरन माथि उल्लेखित नामको पहिचानले मात्र प्रख्यात भएको हैन । पहिलो त उपत्यकामा माओवादीले विजय प्राप्त गरेको एक मात्र आधारस्तम्भ हो। दोस्रो, पालिकाका माओवादी जनप्रतिनिधिले खेलेको भूमिकाको कारण आज कोन्ज्योसोमले कर्णाली हैन, घुमघाम गर्ने नजिकको रमाइलो गन्तव्यको रुपमा स्थापित हुन पाएको छ। ललितपुरको चापागाउँ सातदोबाटोबाट २५ किमिमा पुगिने कोन्ज्योसोमले वर्षौं कर्णाली नामको पीडा खेप्यो।

करिब ७ हजार केही बढी मतदातामात्र रहेको कोन्ज्योसोम पाँच वटा वडामा प्रशासनिक रुपले विभाजित छ । कांग्रेस एक वडा र एमाले झिनो संख्यामा गाउँपालिकामा प्रतिनिधित्वमा छ । गाउँपालिकामा कांग्रेस र एमालेको झिनो उपस्थितिकै कारण कोन्ज्योसोमले चोला फेर्न सफल भएकामा भने दुई मत हुन सकिन्न। परिवर्तन पक्षधरको पक्षमा गाउँपालिकाको नेतृत्व पुग्यो भने कस्तो गाउँ बन्छ भन्ने उदाहरण कोन्ज्योसोम हो। अर्को उदाहरण मधेस प्रदेशअन्तर्गत सर्लाही जिल्लाको बाग्मती नगरपालिका हो।

जनताको आधारभूत आवश्यकता, जनजीविकालाई प्राथमिकतामा राखेको गाउँपालिकाले गरेको सबै फेहरिस्त यहाँ दिन सकिन्न। तर, मोटो रुपमा राख्दामात्र पनि पालिकाको तस्वीर आउँछ। कृषि, स्वास्थ्य र शिक्षामा गाउँपालिकाले खेलेको भूमिकाले कोन्ज्योसोमलाई अगाडि ल्याउने हर प्रयत्न गरेको छ।

कृषि परियोजनाः

संविधानले स्थानीय तहको अधिकारको अनुसूची–८ को बुँदा–१५ मा कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र बुँदा १८ मा कृषि प्रसारको व्यवस्थापन र नियन्त्रणको अधिकार दिएको छ। तर कतिपय पालिका यी अधिकारसँग बेखबर जस्तै छन्। तर कोन्ज्योसोमले यी अधिकारको प्रयोग गर्न खोजेको छ।

कृषिको एउटा विधामा मात्र बहस केन्द्रित गर्ने हो भने मात्र पनि कोन्ज्योसोमले प्रगति पथतर्फ लम्किने लक्ष्य केन्द्रित गरेको छ। यतिखेर राजधानीमा करिब २५ हजार लिटर दुध आपुर्ति गर्न कोन्ज्योसोम सक्षम भइसकेको छ। भैंसी पालन परियोजना सम्पन्न भैसकेपछि यसको परिणाम एउटा सार्थक प्रयास अन्तर्गत हुने नै छ।

भैंसी परियोजनालाई स्थायित्व दिनलाई पालिकाले अगाडि सारेको विमा अनुदान एउटा नमूना हो। पालिकामा भैंसीको मूल्य डेढ लाख निश्चित गरिएको छ। मूल्य निश्चित गरिएकोले यसमा आउने विमामा खेलेर कमाउ धन्दालाई निषेध भएको छ। पशुपालनमा मात्र १४ करोड मूल्यको विमा कार्यक्रम लागु गरिएको छ। नेपाल राज्यभर पशुपालनमा सतप्रतिशत विमा सुविधा दिने गाउँपालिका कोन्ज्योसोम मात्रै हो।

यसरी नै कृषि सहकारी लक्ष्य प्राप्ति गर्ने अर्को कार्यक्रम सहकारी गाई पालन हो। कम्युनको नमूनामा स्थापित गाई पालन कार्यक्रममा ४५ वटा गाई पालनबाट सुरु गरिएको छ। दुई सय गाई पालन गर्ने लक्ष्य लिएको यो कार्यक्रमअन्तर्गत स्थानीय बासिन्दाको जनजीविकाको लागि एउटा कोशेढुंगा सावित हुनेछ। यसरी कृषि विधाको एउटा क्षेत्र मात्र हैन कृषि पकेट कार्यक्रमअन्तर्गत मकै, फलफूल, चिया, किवी आदिको छुट्टै पकेटको सफलतासँगै यहाँको जनजीविकामा एउटा परिणाम ल्याउने कुरामा विश्वास लिन सकिन्छ।

एक स्कूलः एक नर्स

संविधानले व्यवस्था गरेअनुसार आधारभूत माध्यमिक शिक्षा (संविधानमा भएको स्थानीय तहको अधिकारको सूची नं ८ को बन्दोबस्त गर्ने अधिकार स्थानीय तहको हो। धेरै स्थानीय सरकार यो विषयमा उदासिन छन्। तर, कोन्ज्योसोमले यो अधिकारलाई भरपुर उपयोग गर्न खोजेको छ।

विगतमा १७ वटा सामुदायिक विद्यालय लथालिंगे परिपाटीलाई अन्त्य गर्दै पालिकाले शिक्षाको क्षेत्रमा लगेको कार्यक्रम पनि उल्लेखयोग्य छ। यसमध्ये ६ वटा माध्यमिक विद्यालयलाई एकीकरण र भौतिक सुधार गर्दै तीन वटा जोड दुई स्कूल र प्राविधिक शिक्षालयतर्फ जोड दुईसम्मको कृषि तरकारी बाली विषय पठनपाठनको व्यवस्था छ। तर राज्यले स्थानीय तहलाई आधारभूत शिक्षा सञ्चालन गर्ने पूर्ण स्वायत्तता अझै दिएको छैन।

सबैभन्दा संवेदनशील कुरा त प्रत्येक स्कूलमा एक जना नर्सको व्यवस्थापन गरेर विद्यार्थीको दैनिक स्वास्थ्यलाई हेरविचार गरेको छ। शिक्षाको क्षेत्रमा कोन्ज्योसोमको यो कार्यक्रम बाँकी पालिकाले अनुशरण गर्नु पनि त्यत्तिकै लाभदायक हुनेछ ।

जनस्वास्थ्यमा अब्बल :

संविधानअनुसार स्थानीय तह अधिकारको सूची (बुँदा–९) अन्तर्गत आधारभूत स्वास्थ्य र सरसफाइ स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्छ। यो अधिकारलाई उपयोग गर्दा नै जनस्वास्थ्यको व्यवस्था हुने हो। यस क्रममा कोन्ज्योसोम पालिकाले पाँचै वडामा हेल्थ पोष्ट र ९० प्रकारका औषधि निःशुल्क वितरण गर्ने गरेको विषय अध्यक्ष गोपीलाल सिङ्तानले सगौरव बताए।

अध्यक्ष सिङतानका अनुसार प्रदेश सरकारको कर्मचारी (एक डाक्टर, एक नर्स र एक सहयोगी) को सहयोगमा १० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ। यसरी नै १० बेड क्षमताको अर्को अस्पताल निर्माणाधीन छ। स्वास्थ्य सरसफाइको क्षेत्रमा पालिकाका महिलाहरुको लागि निःशुल्क सेनेटरी प्याड वितरण गर्ने गरिएको छ।

यस्तै पालिकाले सामाजिक सुरक्षाअन्तर्गत जेष्ठ नागरिक सम्मानमा जाडोको लुगा तथा सिरक वितरण, उपचार खर्च र अपाङ्ग खर्चको पनि व्यवस्था गरेको छ ।

गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानको जनमूल्याङ्कन त भइसकेको छ। तामाङ समुदाय र बौद्ध सभ्यताको घनाबस्ती भएको यो पालिकालाई निर्माणाधीन कोन्ज्योसोम प्रतिमा र शान्ति पार्कले उजिल्याउन त अझै बाँकी नै छ।

भिडियो हेर्नुहोस्- 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार