आश्वासन होइन, जनतालाई अनुभूति हुने गरी काम गर्छु- रेखा शर्मा

रेखा शर्मा, प्रतिनिधि सभा सदस्यको उम्मेदवार, दाङ–२

  हल्कारान्यूज  92 पटक हेरिएको

दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य पदमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी नेता रेखा शर्मा व्यवस्था अनुरूप नागरिकको जीवनस्तर नफेरिएको बताउँछिन्। आफू व्यवस्था अनुरूप नागरिकको अवस्था बनाउन क्रियाशील रहने उनको भनाइ छ।

नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसँग चुनावी प्रतिस्पर्धामा उत्रिएकी शर्मा उम्मेदवारको घर घर पुगेर मत मागिरहेकी छन्।

वि.सं. २०२६ सालमा घोराही–१८ मसिनामा जन्मिएकी रेखाले २०४३ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरिन्। स्नातक तहसम्म अध्ययन गरेकी उनले अखिल क्रान्तिकारी दाङको जिल्ला उपाध्यक्ष, अनेम संघ क्रान्तिकारी दाङको अध्यक्ष हुँदै २०५३ सालदेखि २०५८ सालसम्म अनेम संघ (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष रहेर महिला आन्दोलनको नेतृत्व गरिन्। उनले अध्यक्षको आफ्नो पाँच वर्षे कार्यकालमा जिल्लामा रक्सी विरोधी, दाइजो विरोधी लगायतका विभिन्न अभियानहरू सञ्चालन गरिन्। जसले गर्दा जनताहरु उनीप्रति निकै सकारात्मक बने।

दश वर्षे जनयुद्धका बेला तत्कालीन सरकार पक्षबाट चरम यातना भोगेकी रेखा ताप र रापको भट्टीबाट खारिएर निस्किएकी संघर्षशील योद्धा हुन्। २०७० सालको संविधान सभामा समानुपातिक कोटाबाट सांसद बनेकी उनी संसद्मा प्रमुख सचेतकको जिम्मेवारी पनि सम्हालेकी थिइन्। २०७२ सालमा सामान्य प्रशासन मन्त्री बनेकी उनले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य भएर पनि काम गरिन् । संविधान निर्माणका क्रममा स्थानीय तहमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनले २०७४ सालमा पुनः समानुपातिक संसद् बन्न सफल भइन्।

प्रस्तुत छ, आसन्न निर्वाचनको सन्दर्भमा शर्मासँग पत्रकार गिरिराज नेपालीले गरेको कुराकानीको सम्पादित अंश–

तपाईंको चुनाव प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियान कस्तो चलिरहेको छ ?

म आगामी मंंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दाङ क्षेत्र नं. २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार बनेको छु। अहिले हामी गठबन्धनको साझा चुनावी एजेण्डासहित मतदाताको घरदैलोमा पुगिरहेका छौँ। घरदैलो अभियान अन्तर्गत मतदाताका कुरा सुन्ने, हाम्रा एजेण्डा मतदातालाई सुनाउने क्रम चलिरहेको छ।

के भन्छन् मतदाता ?

चुनावी अभियानका साथ मतदाताका घरदैलोमा उम्मेदवार पुग्दा मतदाताले पोख्ने भनेकै आफ्ना समस्या र विकास अभावका कुरा र दुखेसो हो। गाउँको दुुःख सुखका कुरा हुन्। मतदाताले आफ्नो गाउँ ठाउँको विकास खोज्छन्। हामीले जति गर्न सकेका छौँ, त्यसमा अझ राम्रो काम हुनुपर्‍यो भन्छन्। ठ्याक्कै भन्नुपर्दा मतदातालाई विकास चाहिएको छ।

निर्वाचनको सरगर्मी बढेसँगै मतदाताहरू उत्साहित देखिनु भएको छ। दाङ निर्वाचन क्षेत्र नं. २ मा ३ स्थानीय तहको २७ वटा वडा छन्। म अहिले २७ वटै वडामा पुगिसकेको छु। एक चरणको भेटघाट सकिएको छ। भेटघाटका क्रममा मैले सोचे अनुरुपकै प्रतिक्रिया मतदाताबाट पाएको छु। मतदाताहरूमा वैचारिक आस्था, विचार रहन्छ नै तर प्रतिपक्ष दलप्रति आस्था, विचार राख्नेहरूले भेटघाटका क्रममा संविधानको रक्षा हुनुपर्छ, प्रतिगमन पक्षमा होइन, अग्रगमनको पक्षमा मतदान गर्छौँ भन्ने कुरासमेत राख्नु भएको छ।

 तपाईं जितप्रति ढुक्क हुनुभएको हो र?

निर्वाचनको मत परिणाम कहाँ पर्छ भन्ने गणितीय हिसाब किताब गरेर अहिले ठ्याक्कै भन्न सकिँदैन। मतभारका हिसाबले सत्ता गठबन्धन नै प्रतिस्पर्धीभन्दा अघि देखिन्छ। मतदाताहरूको लहरका हिसाबले हेर्दा हामीले जित्छौँ, यसमा कुनै शङ्का छैन। एजेण्डाका हिसाबले पनि हामीले जितेका छौँ। मतदाताहरूले बुझेको कुरा के छ भने संविधान रक्षाका लागि गठबन्धन जन्म भएको हो। अधिकार नै गुम्ने खतरामा परेपछि जनता सजग भएको देखिन्छ। अब रह्यो कुरा जित र हारको, त्यसका लागि मङ्सिर ४ कुर्नुपर्ने हुन्छ।

मतदाताले रेखा शर्मालाई नै भोट किन दिने ?

पहिलो कुरा त गठबन्धन स्वतः बलियो छ। यहाँ नेकपा एमाले प्रतिपक्षी छ भने त्यसको तुलनामा गठबन्धनको बलियो पकड रहेको छ। त्यस्तै मलाई नै भोट दिनुपर्ने अर्काे कारण भनेको मैले विगतमा यहाँका जनताका लागि गरेका राम्रा कामहरु पनि हुन्। त्यस्तै गणतन्त्र प्राप्तीको आन्दोलन, संविधान निर्माण, कानुन निर्माणका क्रममा मैले निर्वाह गरेका भूमिकाले पनि जनतामा सकारात्मक प्रभाव छ। त्यसैगरी जनताले मसँग सहज महशुस गर्नुभएको छ। उहाँहरुलाई मसँग कुरा गर्न, समस्याहरु राख्न सहज अनुभूत गरिरहनु भएको छ। मैले चर्को भाषण, चुनावी आश्वासन बाँड्ने गरेको छैन। जनताले अनुभूत हुने गरी काम गर्छु, चुनावअघि ठूल्ठूला आश्वासन बाँड्ने र चुनावपछि फर्केर नआउने गर्दिनँ।

गठबन्धनको साझा उम्मेदवारका रूपमा तपाईंको चुनावी एजेण्डा के-कस्ता छन्? ती एजेण्डाहरू निर्वाचनपछि पूरा हुन्छन् भन्ने आधार के छ?

हाम्रो पहिलो एजेण्डा नै संविधानको रक्षा हो। हामीले लामो राजनीतिक सङ्घर्षपछि प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र प्रतिगमनकारीका कारण  खतरामा परेको थियो।

मैले चाहेको कुरा अब मुलुकको राजनीतिक आन्दोलनको अन्त्य गर्ने र समृद्धिको नयाँ यात्रा तय गर्ने हो। यो राजनीतिक एजेण्डाको विषय हो। यो कुरा सामान्य रूपमा सबै जनताले बुझिसकेका छन्। हाम्रा जनताको जीवनस्तरसँग जोडिएका देख्दा सामान्य तर त्यसको भोगाई र पीडा धेरै रहेका कतिपय विषय पनि एजेण्डा छन्।

व्यवस्था अनुरुप नागरिकको जीवनस्तर अझै फेरिन सकेको छैन। अझै बस्ती बस्तीमा खानेपानी, सिँचाइ, बाटो, नाला, विद्युत्, पोल लगायत विकास निर्माणका अभावको समस्या छन्। ती कुरा देख्दा सामान्य देखिन्छ तर त्यसको प्रभाव निकै गहिरो र गम्भीर बनिरहेको छ । हामीले गर्न सक्ने काम जो जनताको दैनिकीसँग जोडिएको हुन्छ, त्यो कामलाई एजेण्डा बनाएका छौँ।

यहाँ किसानको खेतमा सिँचाइका लागि पानी छैन, नाला छैन, अन्तर्राष्ट्रियस्तरको विमानस्थलका कुरा गरिरहेका छौँ। भएको विमानस्थलको स्तरोन्नति गर्न सकेका छैनौँ, अन्तर्राष्ट्रियस्तरका गफ दिन्छौं। जनताको दैनिक जनजीविका कसरी सुधार गर्न सकिन्छ भन्ने कुरालाई प्रधान मानेर सत्तारुढ गठबन्धन अघि बढेको छ।

अर्को कुरा, अलपत्र परेको सडक पूर्वाधार निर्माण तत्काल सुचारु गर्ने, लमही–तुलसीपुर फोरलेन कम्तीमा २ वर्षमा पूरा गर्ने योजना छ। माडी  डाइभर्सन मेरा प्रतिस्पर्धी शंकर पोखरेल मुख्यमन्त्री हुँदा कुनै काम हुन सकेन। जसले दाङका कृषि क्षेत्रको विकास प्रचुर सहयोग पुर्याउँथ्यो। कृषि उत्पादनमा दाङलाई आत्मनिर्भर बनाउँदै आर्थिक रूपमा सबल बनाउने योजना हो त्यो। अब माडी डाइभर्सनको काम हामी नै सुचारु गर्ने छौँ।

जनताले अनुभूत गर्ने, देखिने गरी, जनताको जीवनस्तर फेरिने गरी काम गर्ने छौँ। पूरा गर्ने प्रण पनि लिएका छौँ। हामी काम गरेरै देखाउँछौँ। गठबन्धनका सबै उम्मेदवार विजयी भएमा हामी काम गर्ने ठाउँमा हुने छौँ।

तपाईं नेकपा एमालेका महासचिव तथा प्रदेशको संस्थापक मुख्यमन्त्रीसँग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । एकातिर तपाईंका प्रतिस्पर्धी ‘हेभीवेट’ हुनुहुन्छ, अर्कोतिर तपाईं महिला हुनुहुन्छ । प्रतिस्पर्धा त्यति सहज होला र ?

‘हेभीवेट’ कसलाई भन्ने? पद वा प्रतिष्ठालाई? चुनाव लड्ने एजेण्डाले हो, पदले होइन। यो कुरा आम मतदाताहरूले बुझ्नुभएको छ। हामीले लिएका एजेण्डा जनताको पक्षमा छन्। राष्ट्रियताको पक्षमा छ। समृद्धि र विकासका पक्षमा छन्। पदले निर्वाचन जित्ने भए कयौं पटक मन्त्री भएका व्यक्तिले पनि निर्वाचनमा पराजय हुनुपरेको छ। स्वयं मेरो प्रतिस्पर्धीले तत्कालीन समयमा दाङ क्षेत्र नं. ३ बाट निर्वाचनमा पराजय व्यहोर्नु भएको हो। त्यतिबेला पनि पदका हिसाबले उहाँ उच्च स्थानमा हुनुहुन्थ्यो। एजेण्डाका हिसाबले हामी नै अग्रस्थानमा छौँ । पदका हिसाबले निर्वाचन जित्न सकिन्छ भन्ने भ्रममा मात्रै हो।

अब कुरा रह्यो महिलाको, आज म जहाँ छु, त्यो हामीले प्राप्त गरेको अधिकारले दिएको हो। म उम्मेदवारका रूपमा रहँदै गर्दा दाङवासी महिला दिदीबहिनीहरु निकै उत्साहित बन्नुभएको छ। एउटा उदाहरण नै भनौँ, जनयुद्ध, जनआन्दोलनमा महिलाहरूले बन्दुक र झोला मात्रै बोकेनन्, बन्दुक र झोलासँगै आफ्ना बच्चा पनि बोकेर हिँडेका हौँ। कुनै काममा पुरुष असफल भए त्यो व्यक्ति मात्रै असफल हुन्छ। तर महिला असफल भए व्यक्ति हुँदैन, सिङ्गै महिला नै असफल भएको आरोप लगाइन्छ।

म महिला हुँ, महिलाको पक्षमा निरन्तर सङ्घर्ष गर्दै आएँ। त्यो कुरा आम मतदाताहरू जानकार हुनुहुन्छ। म महिला भएकै कारण मैले महिला दिदी बहिनीहरूलाई के अनुरोध गर्छु भने महिलाको समस्या महिलाले बुझेका हुन्छन्। मैले दिदीबहिनीहरूको हरेक समस्या बुझेको छु। जसका कारण अहिले उम्मेदवार म भए पनि हरेक दिदीबहिनी आफू उम्मेदवार बनेझैँ महसुस गरिरहनुभएको छ।

हामी २००७ सालदेखि राजनीतिक आन्दोलन गर्दै आइरहेका छौँ। जब मुलुकले राजनीतिक स्थायित्व पाउँछ तब मात्रै समृद्धिको यात्रा प्राप्त गर्न सकिन्छ। हामीले मुलुकलाई समृद्धितर्फ लैजानु पर्नेछ।

जनतादेखि गाउँ, बस्ती सबैका मुहार फेर्नु छ। यो निर्वाचन व्यक्ति चुनिने निर्वाचन होइन, प्राप्त अधिकारको रक्षा गर्ने र नगर्ने बीचको युद्ध हो। आम मतदाताहरूले मङ्सिर ४ मा अग्रगमनको पक्षमा मत हालेर प्रतिगमनलाई पाखा लगाउने हुनेछ भन्ने विश्वास लिएको छु।

प्रस्तुति : गिरिराज नेपाली

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार