‘लालध्वज’ नामै काफीः क्रान्ति, शान्ति र काभ्रेको समृद्धिको नेता लालध्वज

  हल्कारान्यूज  356 पटक हेरिएको

आगामी मंसिर ४ गते देशैभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। निर्वाचनमा काभ्रे जिल्लाको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि सभाको लागि सत्तारुढ गठबन्धनका साझा उमेदवारको रूपमा सूर्यमान दोङ ‘लालध्वज’ मैदानमा उत्रिएका छन्। २०६४ सालमा सम्पन्न संविधान सभा सदस्य निर्वाचनमा २८ हजार ८ सय मत ल्याइ विजयी भएका लालध्वज यसपटक विगतको आफ्नै रेकर्ड तोड्ने अभियानमा छन्।

को हुन् लालध्वज?

काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ९, मुक्पामा वि.सं. २०२७ साल बैशाख १ गते बुबा इमान सिं तामाङ र आमा माइली तामाङको माइलो छोराको रूपमा सूर्यमान दोङ (लालध्वज) को जन्म भएको हो।

माओले भनेझैँ सूर्यमान दोङ (लालध्वज) झुप्रोबाट जन्मिएका सभ्यता हुन्। सामन्ती सुदखोरविरुद्ध ग्रामीण वर्गसंघर्षको एक योद्धा हुन् उनी। उनी ग्रामीण किसानमाथिको अन्याय अत्याचारले कम्युनिष्ट बनेका थिए। युग परिवर्तन गर्ने महान जनयुद्धका एक कुशल कमाण्डर हुन् लालध्वज।

शान्तिपूर्ण राजनीतिमा आएपछि पनि विपक्षी राजनीतिक दलका नेता, कार्यकर्ताहरूको समेत ढुकढुकी बन्न सफल नेता लालध्वज जनताका सुख दुःखका साथी हुन्। संघर्षशील राजनीतिका एक योद्धा लालध्वजले यसपटक वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको जिम्मेवारी पाएका छन्।

ग्रामीण वर्गसंघर्ष र राजनीतिमा प्रवेश

गरिब किसान परिवारमा जन्मेका उनले सानैदेखि शोषण र दमनमा परेका किसानको पक्षमा आवाज उठाए। ‘गाउँमा सामन्ती शोषण थियो। सुदखोरी थियो। हामीमाथि निक्कै अन्याय गरेको थियो,’ विगत सम्झिँदै लालध्वज भन्छन्, ‘शोषण, अन्याय र अत्याचारको विरुद्ध मैले बोलेँ।’

यही क्रममा उनले वर्गसंघर्षको सिद्धान्त बोकेको पार्टी, अन्याय अत्याचार, शोषण, दमनका विरुद्ध बोल्ने पार्टी फेला पारे। उनले २०४४ सालमा नेकपा (मशाल) अर्थात बोलिचालीमा मोटो मशाल पार्टीलाई भेट्टाए। प्रचण्डले नेतृत्व गरेको सो पार्टी भेटेपछि सोही सालमै उनी सेल कमिटीको सदस्य भए।

लालध्वजले पञ्चायतविरोधी आन्दोलनमा पनि भाग लिए। संयुक्त जनआन्दोलन संयोजन समितिको नेतृत्वमा चालेको क्रान्तिकारीहरूको आन्दोलनमा लालध्वज पनि सहभागी भएका थिए। त्यतिखेर नै उनले गणतन्त्रको नारा सडकमा घन्काएका थिए।

‘हामी नौलो जनवादी क्रान्ति गर्दै थियौँ। हामी जनवसम्म नौलो जनवादी व्यवस्था स्थापना हुँदैन तबसम्म निरन्तर संघर्ष गर्ने पक्षमा थियौँ,’ उनी भन्छन्, ‘तर, सम्झौता भयो। बहुदलीय व्यवस्थाको स्थापना भयो। तैपनि निरंकुश पञ्चायतभन्दा त यो प्रगतिशील नै थियो।’

२०४६ सालको परिवर्तनपछि लालध्वज

२०४६ सालको आन्दोलनपछि नेपालमा क्रान्तिकारी ध्रुवीकरणले तिब्रता पायो। सोही क्रममा नेकपा (मशाल), नेकपा (मसाल), सर्वहारावादी श्रमिक संगठन र नेकपा (चौम) बीच पार्टी एकता भई नेकपा (एकता केन्द्र) निर्माण भएपछि लालध्वज २०४८ साल नेकपा (एकता केन्द्र) को तेमाल इलाका कमिटी सदस्य भए। २०४९ सालमा सम्पन्न जनवादी युवा लिग काभ्रेको भेलाबाट उनी जिल्ला सदस्यमा निर्वाचित भएका थिए।

त्यसैगरि उनी २०५० मा अखिल नेपाल थाङ्का कला मजदुर संगठनको केन्द्रीय सदस्य भए।

माओवादी निर्माणदेखि २०६२/६३ सालसम्म लालध्वज

नेकपा (एकता केन्द्र) निर्माणपछि पार्टीभित्र मुख्यतः क्रान्तिको मोडलको बारेमा तिब्र बहस चलिरहेको थियो। नेपालको सन्दर्भमा ‘रसियन मोडल या चाइनिज मोडल’ भन्ने बहस निक्कै पेचिलो ढंगले चल्यो। ‘यो बहसमा हामी निक्कै चासो र चिन्ताका साथ लाग्यौँ। निक्कै ठूलो बहस भयो,’ लालध्वज भन्छन्, ‘अन्ततः २०५१ सालमा पार्टी विभाजन भयो। हाम्रो लाइनले ‘नेकपा (माओवादी) पार्टी निर्माण गरेर अघि बढ्यौँ।’

२०५१ सालमा पार्टी विभाजन भएपछि उनले नेकपा (माओवादी) को पूर्वाञ्चल ब्यूरोको कार्यालय स्टाफ भएर काम गरे। भूमिगत अवस्थमा समेत पार्टी हेडक्वार्टरसँग सिधा सम्बन्ध भएका नेताहरूमध्ये लालध्वज पनि एक थिए। पार्टीको तत्कालीन पूर्वाञ्चल ब्यूरो इन्चार्ज यानप्रसाद गौतम (आलोक) सँगै भएको कारण अध्यक्ष प्रचण्डसँग त्यतिखेरदेखि नै चिनजान भइसकेको थियो।

जनयुद्धको तयारी र शुरुवातमा लालध्वज

पार्टीले सशस्त्र जनयुद्ध गर्ने रणनीति लिएपछि लालध्वज यसको तयारीमा पूरै लागेका थिए।

‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गरौं,’ भन्ने मूल नाराका साथ २०५२ साल फागुण १ गतेका दिन सुरु भएको जनयुद्धको पहिलो मोर्चा सिन्धुलीगढी प्रहरी चौंकी आक्रमणमा उनी सहभागी भएका थिए। ‘हाम्रो पहिलो फौजी मोर्चा थियो। सफल भयो,’ उनी भन्छन्।

यसैगरी २०५३ साल पौष १९ गते रामेछापको वेथान मोर्चामा समेत उनी सहभागी भए। सो मोर्चामा जिल्ला सेक्रेटरी समेत रहेका पार्टी नेता तिर्थ गौतमको सहादत भएपछि लालध्वज पार्टीको काभ्रे–रामेछाप जिल्ला समिति सदस्यमा चयन भए।

त्यसपछि उनले मुख्यतः तेमाल, महाभारत, खानीखोला र ललितपुरको दक्षिणी इलाकामा पार्टी र आन्दोलनलाई स्थापित गर्ने काममा लागे। कठोरपूर्ण भूमिगत अवस्थामा समेत पार्टीको संगठन निर्माण, विस्तार र सुदृढीकरणमा लागेका थिए।

सो क्रममा तत्कालीन सरकारले २०५५ सालमा चलाएको किलो सेरा टु अप्रेसनको प्रतिरोध गर्दै पार्टी, कार्यकर्ता र जनताको रक्षाका लागि इलाका सेक्रेटरीको भूमिकामा रहेर कुशल नेतृत्व गरेका थिए उनले।

निरन्तर अगाडि बढ्ने क्रममा २०५७ सालमा उप–क्षेत्रीय ब्यूरो सदस्य, २०५८ सालमा क्षेत्रीय ब्यूरो सदस्यमा चयन भएका थिए। साथै २०५८ मा काभ्रे जिल्ला सेक्रेटरी भए।

जनमुक्ति सेनाको कम्पनी कमिसार, बटालियन कमिसार हुँदै २०५९ सालमा रामेछाप, सिन्धुली र काभ्रेको जनमुक्ति सेना नेपालको रेजिनल कमान्डको कमिसारको भूमिका उनले निर्वाह गरेका थिए।

विभिन्न समयमा जिल्ला इन्चार्जको समेत भूमिका निर्वाह गर्दै २०६३ सालमा  पार्टी केन्द्रीय समिति सदस्य समेत भएका थिए। निरन्तर केन्द्रीय सदस्य हुँदै हाल आठौँ महाधिवेशनबाट पोलिटब्युरो सदस्य चयन भएका छन् भने काभ्रे जिल्ला इन्चार्जको जिम्मेवारी समेत निर्वाह गरिरहेका छन्। स्थानीय तहको निर्वाचनमा उनको कुशल नेतृत्वका कारण काभ्रेको १३ स्थानीय तहमध्ये ४ वटामा अध्यक्ष र ४ वटामा उपाध्यक्षसहित २५ वटा वडामा आफ्नो पार्टीको बर्चस्व कायम गराउन सफल भएका छन्।

जनप्रतिनिधिको रुपमा लालध्वज

माओवादी जनयुद्धको जगमा सम्पन्न २०६२/६३ को जनआन्दोलनपछि पुनस्र्थापित अन्तरिम व्यवस्थापिकाको सदस्यमा उनी चयन भएका थिए। २०६४ सालमा सम्पन्न संविधान सभा सदस्य निर्वाचनमा २८ हजार ८ सय मत ल्याइ विजयी भएका लालध्वज डा. बाबुराम भट्टराई पछिको लोकप्रिय मत ल्याउनेमा पर्छन्।

सोही क्रममा २०६८ सालमा उर्जा राज्यमन्त्रीसमेत भएका उनले उर्जा क्षेत्रमा निक्कै विकास गरेका छन्। २०७० सालमा सप्पन्न संविधान सभा निर्वाचनमा भने झिनो मतले पराजित भएका थिए।

संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन–२०७४ मा भने उनी उम्मेदवार बनेनन् तर आफ्ना पार्टीको उम्मेदवारलाई जिताउन उनले पार्टी जिल्ला इन्चार्जको हैसियतले भूमिका खेले। उनको कुशल नेतृत्वकै कारण वाम गठबन्धनका सबै उम्मेदवारहरुले काभ्रेको सबै क्षेत्रमा जीत हाँसिल गर्न सफल भयो।

काभ्रेमा समृद्धिको जग बसाल्ने लालध्वज

माओवादी जनयुद्धकै बेला पनि लालध्वजको नेतृत्वमा विकासको पूर्वाधारको जग निर्माण गरिएको थियो। सडक निर्माणदेखि शिक्षा र बिजुलीसम्मको कार्य उनकै नेतृत्वमा भएको थियो। ग्रामीण क्षेत्रको कष्टकर जीवनलाई सहजमा बदल्न उनले भूमिगतकालमा समेत धेरै काम गर्न खोजे।

सहिद मार्गको नामाकरण गरेर उनकै नेतृत्वमा जनमुक्ति सेनाले मकवानपुरको भोर्लेनीदेखि  महाभारतको घर्तिछापसम्म सडक निर्माण युद्धकालमै निर्माण गरेको थियो।

त्यस्तै विभिन्न ठाउँमा भत्केको विद्यालय भवनसमेत उनकै नेतृत्वमा जनमुक्ति सेनाले निर्माण गरेको थियो।

काभ्रेको तेमालमा विद्युतीकरणको योजनाकार र पहलकर्ता नै लालध्वज थिए। भूमिगतकालमा समेत जनतालाई अन्धकारबाट हटाएर उज्यालो दिन चाहने नेता लालध्वजकै कारण आज तेमालबासी उज्यालोमा छन्।

जनप्रतिनिधि भइसकेपछि विकास र समृद्धिको अभियानमा लाग्न झन सहज भयो। मुख्यतः ग्रामीण क्षेत्रलाई सडक र विद्युतसँग कसरी जोड्ने भन्ने चिन्ता उनमा थियो। सोही अनुसार उनले विकट क्षेत्रको रुपमा परिचित डाँडापारी क्षेत्र र कोशिपारी क्षेत्र, अनि तेमाल र रोशी क्षेत्रमा सडक निर्माणको पहल नै उनले गरे। साविकको सबै गाविस छुने गरि सडक सञ्जालको जग बसाल्ने शुरुवातकर्ता नै लालध्वज हुन्।

खोपासी तालढुंगा सडक निर्माण अलपत्रमा थियो। उनकै सचेत पहलमा आज व्यवस्थित भएको छ। दोलालघाटदेखि कोशिपारी क्षेत्रको भुम्लु हुँदै वाङथली, ढाँडखर्क भञ्ज्याङ, बिर्तादेउराली–कात्तिके देउराली सडक, ढाँडखर्कदेखि माझीफेदा हुँदै नाग्रेगगर्चेसम्मको सडक निर्माणको पहल लालध्वजले नै गरेका थिए।

तेमाल र रोशी क्षेत्रमा समेते सडकहरु निर्माणकार्यको शुरुवात उनले नै गरेका थिए।

काकाकुल तेमालका लागि स्वच्छ खानेपानीको व्यवस्था गर्ने योजनाकार समेत लालध्वज हुन्। उनकै परिकल्पना र पहलमा आएको तेमाल बृहत खानेपानी योजना हाल अन्तिम चरणमा पुगेको छ। साथै तेमालमा तामाङ संग्रहालय निर्माण समेत शुरुवात भइसकेको छ।

अन्य क्षेत्रमा खानेपानी, विद्यालय भवन निर्माण लगायतका कार्यहरु भएको छ।

लालध्वजः नामै काफी

गठबन्धन दलहरूको साझा उम्मेदवारको रुपमा लालध्वजलाई पार्टीले उभ्याएको छ। जनताप्रति इमान्दार, राष्ट्रप्रति वफादार र युवाहरुको ढुकढुकीको रुपमा आफूलाई उभ्याउदै आएका उनलाई मन नपराउने सायद कोही पनि छैनन्। बालकालिकादेखि ज्येष्ठ नागरिकसम्मको प्यारो नेताको रुपमा जिल्लाभरि चिन्दछन् उनलाई। समस्याको उपायको पर्याय बनेको लालध्वज काभ्रेको प्रभावशाली नेताको रुपमा परिचित छ।

राजनीतिक रुपमा विभेद नगर्ने समान रुपमा व्यवहार गर्ने नेताको रुपमा उनी काभ्रेमा स्थापित छ। आगामी निर्वाचनमा विजयी हुने आधार नै जनताको उनीप्रतिको विश्वास र अपेक्षा हो। सिधै अध्यक्ष प्रचण्डसँग सम्बन्ध भएको काभ्रेको नेताको रुपमा उनलाई चिनिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार