
काठमाडौं । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का सञ्चालक महाविर विश्वकर्मामा सवारी दुर्घटनामा परेर निधन भएको छ।
चितवनको माडीबाट काठमाडौं आउने क्रममा आज बिहान अन्दाजी साढे ५ बजेतिर विश्वकर्मा चढेको माइक्रोबस ट्रकमा ठोक्किदा उनको निधन भएको जिल्ला प्रहरी कार्याल्य चितवनले जनाएको छ।
दुर्घटना लगत्तै विश्वकर्मालाई पुरानो मेडिकल कलेज चितवन ल्याउने पुर्याउन नपाउदैँ मृत्यु भएको चितवनका प्रहरी प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए।
उनका अनुसार विश्वकर्मा चढेको बा ४ ख ४१२ नम्बरको माइक्रोबसले सडकमा रोकिएको ना ४ ख ८५२२ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। माइक्रोबसमा रहेका थप ५ जना घाइते रहेको प्रहरीले जनाएको छ।
निधन भएका विश्वकर्मा केही दिनदेखि आफ्नो स्थायी घर चितवनको माडीमा रहेका थिए। सोमबार नै काठमाडौं फर्किने तयारी गरे पनि बुबा बिरामी भएका कारण एक दिन ढिलो गरेर आज काठमाडौंका लागि हिँडेका उनको पारिवारिक स्रोतले जनाएको छ।
विश्वकर्माले लामो समयदेखि चर्चित कार्यक्रम बहकिने मन सञ्चालन गर्दै आएका थिए। विश्वकर्मा आहुती नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उक्त पार्टीको भातृ संगठन जात व्यवस्था उन्मुलन मोर्चाको सचिव थिए।