रोल्पा र नवलपरासी पश्चिमको प्रदेश सभामा माओवादीकै दुई बागी उम्मेदवार विजयी

  हल्कारान्यूज  1182 पटक हेरिएको

रोल्पा । लुम्बिनी प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) का दुई बागी उम्मेदवारले जित हासिल गरेका छन्।

रोल्पामा गठबन्धनका कारण कांग्रेसलाई छोडेको क्षेत्रमा बागी उम्मेदवारी दिएका दीपेन्द्र पुनले जित हासिल गरेका छन् भने नवलपरासी पश्चिममा माओवादी केन्द्रकै उम्मेदवार विरुद्ध बागी दिएका खड्ग बस्नेतले बाजी मारेका छन्।

रोल्पाको प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन निर्वाचित भएका छन्।

उनले नेपाली कांग्रेसका प्रदेश सभापतिसमेत रहेका सत्ता गठबन्धनका उम्मेदवार अमरसिंह पुनलाई पराजित गरे।

नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि बागी उठेका दीपेन्द्रले १४ हजार ९२७ मत ल्याए भने कांग्रेसका अमरसिंहले १० हजार ४०६ मत प्राप्त गरे।

माओवादी जनयुद्धमा सुरुदेखि नै आवद्ध भएका दीपेन्द्र घाइतेसमेत हुन्। सत्ता गठबन्धनको सिट बाँडफाँटमा रोल्पा प्रदेश सभा १ नेपाली कांग्रेसलाई दिएपछि उनले माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला ईन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए।

नवलपरासी पश्चिमबाट प्रदेश सभामा माओवादीका बागी बस्नेत विजयी

यसैबीच नवलपरासी पश्चिमको क्षेत्र नं. २ (१) मा स्वतन्त्र उम्मेदवार खड्क बस्नेत विजयी भएका छन्। बस्नेतले प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार आशिष प्रधानलाई ७१ मतको झिनो मतान्तरले पराजित गरेका हुन्।

बस्नेतले १२ हजार ४४९ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवार प्रधानले १२ हजार ३७८ मत ल्याएका छन्। तेस्रोमा एमालेका थानप्रसाद गैरेको ८ हजार ८८४ मत छ।

माओवादी केन्द्रबाट टिकट नपाएपछि बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका थिए। सत्तारुढ गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रकै उम्मेदवार चिनक कुर्मी भने २ हजार २९ मत पाएर छैटौं स्थानमा रहे। कुर्मीको जमानत जफत भएको छ। जमानत जोगाउन सदर मतको १० प्रतिशत आवश्यक छ।

चौथो र पाँचौंमा क्रमशः राष्ट्रिय उन्मुक्ति पार्टी र लोसपाका उम्मेदवार रहे। कुल ३७ हजार ९५२ मत खसेको प्रदेश सभामा ७ राजनीतिक दल र ४ स्वतन्त्र गरी ११ जनाले उम्मेदवारी दिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार