प्रत्यक्ष निर्वाचनबाट कति महिला आउँदैछन् संसदमा?

७५ क्षेत्रको परिणाम आउँदा ४ महिला मात्रै निर्वाचित

  हल्कारान्यूज  211 पटक हेरिएको

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन भएको ४ दिनमा झण्डै ५० प्रतिशत ठाउँको मतपरिणाम सार्वजनिक भइसकेको छ।

बुधबार १२ बजेसम्म ७५ ठाउँको मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणाम सार्वजनिक भएकामध्ये ४ ठाउँमा मात्रै महिला उम्मेदवार विजयी भएका छन्।

अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ मा सोविता गौतम, ललितपुर ३ मा तोसिमा कार्कीले जित हात पारेका छन्।

कास्की २ मा नेकपा एमालेकी विद्या भट्टराई विजयी भएकी छन् भने दाङ २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छन्।

महिला उम्मेदवार प्रतिस्पर्धी रहेका केही क्षेत्रको मतगणना जारी छ। कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ जितनजिक छन् भने तेह्रथुममा नेपाली कांग्रेसकी सीता गुरूङले अग्रता लिइरहेकी छन् । सुनसरी ३ मा एमालेकी भगवती चौधरीको अग्रता कायम छ। धनुषा ३ मा एमालेकी जुली महतोले पनि अग्रता कायम राखेकी छन्।

दाङ ३ मा एमालेकी उम्मेदवार कोमल वली दोस्रो स्थानमा छन् भने उदयपुर १ मा एमाले मञ्जु चौधरी पनि दोस्रो स्थानमा छन्। दाङ १ मा एमालेकी शान्ता चौधरी पनि दोस्रो स्थानमा छन्।

कञ्चनपुर १ मा माओवादी केन्द्रकी बिना मगर दोस्रो स्थानमा छन्।

मोरङ २ मा कांग्रेसकी सुजाता कोइराला झिनो मतले पछि परेकी छन् भने मकवानपुर १ मा अग्रता लिइरहेकी कांग्रेसकी डिना उपाध्याय पछिल्लो समय एक हजार बढी मतले पछि परेकी छन्।

सिरहा २ मा उम्मेदवार बनेकी कांग्रेसकी चित्रलेखा यादव तेस्रो स्थानमा छन्।

एमाले सचिव पद्मा अर्याल उम्मेदवार रहेको स्याङ्जा २ मा मतगणना सुरू नै भएको छैन।

माओवादी केन्द्रले उम्मेदवारी दिएका ८ महिला उम्मेदवारहरुमध्ये रेखा शर्मा निर्वाचित भइसकेकी छिन्। ६ जना पराजित भइसकेका छन् भने एक जना दोस्रो स्थानमा रहेकी छिन्।

एकीकृत समाजवादीबाट उम्मेदवारी दिएकी एक मात्र महिला रामकुमारी झाँक्री पराजित भइसकेकी छिन्।

कुन पार्टीबाट कति थिए महिला उम्मेदवार ?

निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमा २४९४ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका छन्। जसमध्ये साना दल र स्वतन्त्र गरी प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ २३३ महिलाको उम्मेदवारी परेको थियो।

प्रतिनिधि सभातर्फ २ हजार १८७ पुरुष उम्मेदवार रहँदा २२५ महिला उम्मेदवार रहेका छन्।

१४१ कुल उम्मेदवार उठाएको एमालेमा १३० पुरुष उम्मेदवार रहेका थिए भने ११ जना महिला उम्मेदवार रहेका थिए।

९१ कुल उम्मेदवार उठाएको कांग्रेसले ८६ जना पुरुष उम्मेदवार र ५ जना महिला उम्मेदवार उठाएको थियो।

माओवादी केन्द्रले कूल ४६ उम्मेदवार उठाएकोमा ३८ पुरुष र ८ महिला, नेकपा एकीकृत समाजवादीले कूल २१ उम्मेदवार उठाएकोमा १ महिला उम्मेदवार र २० पुरुष उम्मेदवार उठाएको थियो।

१४० कुल उम्मेदवार उठाएको राप्रपाले १३२ पुरुष उम्मेदवार र ८ जना महिला उम्मेदवार उठाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले कूल १३१ उम्मेदवार उठाउँदा १२ जना महिला र ११९ जना पुरुष उम्मेदवार उठाएको थियो।

यस्तै नेमकिपाले १०९ उम्मेदवार उठाउँदा ९७ पुरुष र १२ जना महिला उम्मेदवार उठाएको थियो। सबैभन्दा धेरै महिला उम्मेदवार उठाउने दलमा नेमकिपा र राष्ट्रिय स्वतन्त्र पार्टी रहेका छन्।

यस्तै मंगोल नेशनल अग्रनाइजेशनले कुल ८८ उम्मेदवार उठाएकोमा ७८ पुरुष र १० महिला उम्मेदवार उठाएको छ।

८६७ कूल स्वतन्त्र उम्मेदवारमध्ये ७९० पुरुष र ७७ महिला उम्मेदवार रहेका छन्।

मधेस केन्द्रीत दल जसपा र लोसपाले कुनै पनि महिलालाई प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवार बनाएका छैनन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार