माओवादी महासचिव देव गुरुङलाई एमालेका पृथ्वीसुब्बाले हराए

  हल्कारान्यूज  101 पटक हेरिएको

लमजुङ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले हराए।

पृथ्वीसुब्बाले ३४ हजार ९६९ र देव गुरुङले ३१ हजार ७८१ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए। एक मात्र निर्वाचन क्षेत्र रहेको लम्जुङमा ८० हजार १९२ मत खसेको थियो। तीमध्ये २ हजार ३८४ मत बदर भएको छ।

निर्वाचित गुरुङ २०७४ लमजुङ प्रदेश सभा २ बाट निर्वाचित भई सांसद हुँदै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत बनेका थिए। माओवादी केन्द्रका गुरुङ २०७४ सालमा एमाले र माओवादी गठबन्धन हुँदा प्रतिनिधि सभा सदस्यमा लमजुङबाट निर्वाचित भएका थिए।

प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ हजार २३१ मत पाएका छन्। मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले ४५७, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङले १४८ मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेकोमा ८० हजार १९२ मत खसेको थियो। कूल खसेकोमध्ये प्रतिनिधि सभातर्फ २ हजार ३८४ मत बदर भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार