तीनपटक माओवादीबाट जितेका टोपबहादुर चौथो पटक एमालेबाट भए निर्वाचित

  हल्कारान्यूज  660 पटक हेरिएको

अर्घाखाँची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी चौथौ पटक अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। निवर्तमान उपसभामुख एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाललाई १७३० मतान्तरले पराजित गर्दै रायमाझी विजयी भएका हुन्।

रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याउँदा भुसालले ४० हजार ९ सय ४५ मत ल्याएकी थिइन्।

अर्घाखाँचीमा २०६४, २०७० मा संविधान सभा सदस्य र २०७४ मा माओवादी केन्द्रबाट विजयी भएका रायमाझीले चौथौ पटक भने एमालेबाट जित हासिल गरेका छन्। तत्कालीन नेकपा विभाजनपछि उनी माओवादीमा फर्किएनन्। केपी ओलीको मन्त्रिपरिषदमा तीन मन्त्री बनेकै बेला उनलाई माओवादीले कारबाही गरेपछि सांसद पदबाट पदमुक्त भएका थिए।

अर्घाखाँचीको फलेपतमा जन्मिएका रायमाझीले २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। २०४३ मा अनेरास्ववियु छैटौंको केन्द्रीय उपाध्यक्ष र २०४४ सालमा अध्यक्ष बनेका उनी २०४८ मा योङ कम्युनिस्ट लिग वाईसीएल, नेपालको संस्थापक अध्यक्ष भए।

२०४८ मा पार्टीको केन्द्रीय सदस्य बनेका रायमाझी डा. बाबुराम भट्टराईसँगै एकता केन्द्रमा गए। नेकपा माओवादीले जनयुद्ध थालेपछि उनी २०५३ मा अखिल भारत प्रवासको इञ्चार्ज बने। २०५५ मा माओवादीको पोलिटब्यूरो सदस्य बनेका उनी २०७० मा पार्टी सचिवमा निर्वाचित भए।

तत्कालीन माओवादीमा डा. भट्टराई समूहमा रहेका उनी नयाँ शक्तितिर भने गएनन्। त्यसरी बाबुरामको साथ छाडेका उनी २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री बनेका थिए।

त्यसअघि २०६६ सालमा उनी भौतिक योजना तथा निर्माण मन्त्री, २०६७ मा स्थानीय विकास मन्त्री र २०६८ मा शान्ति तथा पुनर्निर्माण मन्त्री बनेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार