क्यामरुनलाई १–० ले हराउँदै विश्वकपमा स्विट्जरल्याण्डको विजयी सुरुवात

आजै तीन खेल हुँदै, शनिबारदेखि दोस्रो चरणका खेलहरु हुने

  हल्कारान्यूज  84 पटक हेरिएको

क्यामरुनमाथि झिनो जित निकाल्दै विश्वकप फुटबलमा स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको छ। शुक्रबार साँझ क्यामरुनलाई १–० ले पराजित गर्दै स्विट्जरल्याण्डले सुखद सुरुवात गरेको हो।

दोस्रो हाफको सुरुवातमै गरेको गोल नै उसको जितमा निर्णायक बन्यो। खेलको ४८ औँ मिनेटमा ब्रिल इम्बोलेले गोल गर्दै टोलीलाई महत्वपुर्ण ३ अंक दिलाएका हुन्।

उनले विपक्षीलाई बिट गर्दै सहज गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा क्यामरुनले रोक्न सकेन।

जितसँगै समूह जी मा रहेको स्विट्जरल्याण्डको अघिल्लो यात्रा सहज बनेको छ। यो समूहमा यी दुई टोलिसँगै ब्राजिल र सर्विया छन्। ब्राजिललाई बलियो टोलीको रुपमा हेरिएको छ। ब्राजिलले पहिलो खेलमा शुक्रबार राति सर्वियासँग खेल्दैछ।

सन् २०१८ को विश्वकपमा पनि ब्राजिल, स्विट्जरल्याण्ड र सर्विया एउटै समूहमा थिए। त्यतिबेला ब्राजिल विजेता र स्विट्जरल्याण्ड उपविजेताका रुपमा अघिल्लो चरण प्रवेश गरेका थिए। क्यामरुन भने यसअघिको विश्वकपमा छनोट भएको थिएन।

आजै तीन खेल हुँदै, शनिबारदेखि दोस्रो चरणका खेलहरु हुने

आजको दोस्रो खेल समूह एचमा रहेको उरुग्वे र दक्षिण अफ्रिकाबीच बेलुका पौने ७ बजे सुरु हुनेछ। यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ।

समूह एचमै रहेका पोर्चुगल र घानाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ। यस्तै समूह जीमा रहेका ब्राजिल र सर्बियाबीच मध्यराति पौने १ बजे खेल सुरु हुनेछ। यो खेल लुसेन आइकोनिक स्टेडियममा हुनेछ।

आजको खेलपछि विश्वकपमा सहभागी ३२ वटै टिमको एक एक खेलको समीकरण पूरा हुनेछ। शनिबारदेखि दोस्रो चरणका खेल सुरु हुनेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार