सुर्खेतबाट प्रदेश सभामा माओवादीका विन्दमान विष्ट विजयी

  हल्कारान्यूज  196 पटक हेरिएको

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट नेकपा माओवादी केन्द्रका बिन्दमान विष्ट विजयी भएका छन्। उनले नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरेका हुन्।

कुल ३१ हजार ६८२ मत खसेकोमा विष्टले १३ हजार ९०९ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका गौतमले ९ हजार ३३४ मत पाए। विष्टविरुद्ध उम्मेदवारी दिएका एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत प्राप्त गरे।

विष्ट ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट १५ हजार ६४८ मतसहित विजय भएका थिए। कर्णाली प्रदेश सरकारको पूर्व अर्थमन्त्रीसमेत रहेका विष्ट माओवादी केन्द्रको तर्फबाट भावी मुख्यमन्त्रीका रुपमा आफूलाई दावी गर्दै आएका छन्।

उनी सुर्खेत जेलब्रेकका एक कमान्डर पनि हुन्। विद्यार्थी छँदादेखि नै माओवादीले सुरु गरेको जनयुद्धमा हामिएका विष्ट २०३६ सालमा कालिकोटमा जन्मिएका हुन्। हाल उनी सुर्खेतको बराहताल गाउँपालिका–१ स्थायी बासिन्दा हुन्।

मानविकी तथा राजनीतिक शास्त्रमा स्नातक गरेका विष्ट माओवादीभित्र इमानदार, कर्तव्यनिष्ट र बौद्धिक नेताका रुपमा परिचित छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार