दोलखाको मतगणना सकिन लाग्दा झिनो मतले कार्कीको अग्रता, यी वडाले गर्नेछ फैसला

  हल्कारान्यूज  1721 पटक हेरिएको

दोलखा । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा को निर्वाचित हुन्छ भन्ने अबको केही बेरमै फैसला हुँदैछ।

मतगणना अन्तिम चरणमा पुग्न लाग्दा प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का उम्मेदवारको प्रतिस्पर्धा निकै रोचक र अनुमान गर्न नसकिने अवस्थामा पुगेको छ।

मुख्य निर्वाचन अधिकृतले दिएको पछिल्लो विवरण अनुसार दुवै उम्मेदवारहरुको मत शुरुदेखि नै कडा प्रतिस्पर्धाका साथ आइरहेको छ।

सोमबार बिहान साढे ६ बजेसम्म ७६ हजार ८४८ मत गणना हुँदा माओवादी केन्द्रका गंगा कार्कीले १६३ मतले अग्रता लिइरहेका छन्। उनले ३३ हजार ३२६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका बालकृष्ण शिवाकोटीले ३३ हजार १६३ मत पाएका छन्।

दोलखामा गत मंसिर ४ र १५ गते भएको निर्वाचनमा ८५ हजार तीन सय ८८ मत खसेको थियो।

यहाँ सुरुदेखि नै यी दुई उम्मेदवारबीचको मत अघि पछि भइरहेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ३ हजार १ सय २४ मत बदर भएको छ।

अब शैलुङ गाउँपालिकाको वडा नम्बर १ दुधपोखरी र २ को भुसाफेदा, मेलुङ गाउँपालिकाको वडा नम्बर १ पवटी, विगु गाउँपालिकाको वडा नं. १ लामाबगर र वडा नं. २ ओराङको मत गन्न बाँकी छ।

बाँकी रहेका वडाहरुमा पनि दुवै उम्मेदवारहरुको भोट समान रुपमा आउने अनुमान गरेको स्थानीय कार्यकर्ताहरु दावी गर्छन्।

दोलखाबाट १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवारहरु चुनावी मैदानमा होमिएका थिए। जिल्लामा जम्मा ९४ मतदान स्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार