इन्गेजमेन्टपछि भयो बिहे रद्द, युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदाह

  हल्कारान्यूज  3638 पटक हेरिएको

काठमाडौं । विवाह गर्ने सहमतिपछि गरेको इन्गेजमेन्ट रद्द भएपछि बानेश्वरकी एक युवतीले केटाको घरमा पुगेर आत्मदाह गरेकी छन्।

दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुम सञ्चालक २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएकी हुन्।

न्यौपानेलाई प्रहरीले तत्काल उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाएको थियो। त्यहाँ उपचार हुन नसकेपछि पुष्पालाई कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो। सोमबार बिहान पुष्पाको मृत्यु भएको हो।

केही समयदेखि प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराही बस्ने सुधन संग्रौलाबीच परिवारकै सहमतिमा इन्गेजमेन्ट भएको थियो। यही बीचमा उनीहरुको सम्बन्धमा दरार आएपछि गत शनिबार इन्गेजमेन्ट रद्द गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

परिवारकै सहमतिमा इन्गेजमेन्ट रद्द गरिए पनि आइतबार साँझ पुष्पाले सुधनको घरमा पुगेर आत्मदाह गरेकी हुन्।

न्यौपानेको मृत्यु भएपछि उनको परिवारले इन्गेजमेन्ट गरेका २९ वर्षका मधु संग्रौलासहित उनको परिवारका सुधन संग्रौला, ५७ वर्षका दिनेश संग्रौला र बिन्दु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ।

आइतबार राति नै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। तर अदालतले सुधनविरुद्ध मात्रै सोमबार म्याद दिएको छ। सुदनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न महाराजगन्ज वृत्त प्रहरीले अनुमति पाएको छ।

परिवारका अनुसार संग्रौला दरबारमार्गस्थित शोरुममा आउने क्रममा २०७८ को माघ महिनादेखि चिनजान भएको थियो। एक अर्काबीच फोन र सामाजिक सञ्जालमा कुराकानी हुने क्रममा उनीहरु प्रेम सम्बन्धमा थिए। त्यस क्रममा एकअर्काको घरमा समेत आउजाउ हुने गरेको उनीहरुको भनाइ छ।

त्यस क्रममा दुवै जनाले विवाह गर्ने भनेपछि दुवै पक्षको मञ्जुरीमा १८ भदौमा इन्गेजमेन्ट भएको न्यौपाने पक्षको भनाइ छ। त्यस क्रममा एक वर्षभित्र विवाह गर्ने सहमति भए पनि १७ कात्तिकमा एकाएक केटा पक्षले इन्गेजमेन्टको दक्षिणा र गरगहना फिर्ता गरेको केटी पक्षको भनाइ छ।

‘प्रतिवादीले मानसिक यातना दिएपछि घटना हुनुअघि उनले म मर्नुभन्दा अर्को विकल्प रहेन भन्दा पनि घरमा बोलाएर समेत मानसिक यातना दिए’, न्यौपानेले दिएको जाहेरीमा भनिएको छ।

परिवारले प्रहरीसँग सुधन र पुष्पाबीच फेसबुक म्यासेन्जर, भाइबर र ह्वाटस एपसहित कल डिटेल विवरण बुझेर अनुसन्धान गर्न पनि माग गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार