इन्गेजमेन्ट तोडेपछि युवतीको आत्मदाह प्रकरण : युवक हिरासतमा, बाआमा घर फर्किए

  हल्कारान्यूज  454 पटक हेरिएको

काठमाडौं । केटा पक्षले इन्गेजमेन्ट तोडेपछि उनकै घर अगाडि गएर आत्मदाह गरेकी युवतीको मृत्यु प्रकरणमा पक्राउ परेका तीन जना थुनामुक्त भएका छन्।

मृतक २७ वर्षीया पुष्पा न्यौपानेसँग इन्गेजमेन्ट गरेका युवक २९ वर्षका सुधन संग्रौला भने हिरासतमै छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार जिल्ला अदालत, काठमाडौंले सुधनबाहेक अरुलाई हिरासतमा राख्न अनुमति नदिएपछि उनीहरु छुटेका हुन्।

प्रहरीले सोमबार सुधनसहित उनका बुबा ५७ वर्षका दिनेश संग्रौला, आमा बिन्दु संग्रौला र २९ वर्षका मधु संग्रौलालाई पक्राउ गरेको थियो।

यो पनि हेर्नुहोस्-
इन्गेजमेन्टपछि भयो बिहे रद्द, युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदाह

जाहेरी आएपछि परिवारका अन्य सदस्यलाई पक्राउ गरिए पनि अदालतले थुनामा राख्न अनुमति नदिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अदालतले उनीहरुलाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न भनेपछि युवकलाई राखेर अरुलाई छोडिएको छ।

सुधन र पुष्पाबीच गत भदौ १८ गते विवाह गर्नका लागि बुद्धनगरमा इन्गेजमेन्ट भएको थियो। एक वर्षभित्र विवाह गर्ने सहमति भए पनि शनिबार मात्रै केटा पक्षले घरमा पुगेर जनै सुपारी र दक्षिणा फिर्ता गर्दै इन्गेजमेन्ट तोडिएको घोषणा गरेको थियो। त्यसको भोलिपल्ट न्यौपानेले सुधनको घर अगाडि गएर आफ्नो शरीरमा आगो लगाएकी थिइन्।

प्रहरीले उनलाई उद्दार गरेर अस्पताल लगे पनि सोमबार कीर्तिपुरस्थित वर्न अस्पतालमा उनको मृत्यु भयो। पुष्पाको परिवारले जलुञ्जेलसम्म पनि उद्दार नगरेको भन्दै युवक र उनको परिवारका अरु सदस्यविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएको छ।

प्रहरीले घटनाको थप कारणबारे अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार