सकियो समानुपातिकको मतगणना : एमाले पहिलो दल, एकीकृत समाजवादीको कटेन थ्रेसहोल्ड

सात पार्टी बने राष्ट्रिय दल, एकीकृत समाजवादीको साढे १८ हजार पुगेन मत

  हल्कारान्यूज  1469 पटक हेरिएको

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको छ।

“मतगणना सम्पन्न भएको छ। आयोगको वेबसाइटमा राखिएको मत नै अन्तिम मत हो,” उनले भने, “केही जिल्लामा कतै छुटपुट भेटिए भने छुट्टै कुरा हो। एक करोड ५ लाख ६० हजार ६७ मत नै कुल मत हो।”

अन्तिम मत परिणाम अनुसार सात दलले कुल सदर मतको ३ प्रतिशत कटाएका छन्। थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत कटाउन सात दल सफल भएका हुन्।

जसमा नेकपा एमालेबाट विभाजन भएको दल एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न असफल भएको छ। १० सिट प्रत्यक्षमा जिते पनि उसले समानुपातिकमा सदर मतको ३ प्रतिशत मत पाउन सकेन। उसले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गर्दा राष्ट्रिय दल बन्नका लागि १८ हजार ४११ मत अपुग भएको आयोगको तथ्यांकले देखाउँछ।

राष्ट्रिय दल बनेका कसले पाए कति मत?

समानुपातिकतर्फ निर्वाचन आयोगको तथ्यांक अनुसार एमाले पहिलो दल बनेको छ। जब कि प्रत्यक्षतर्फ भएको निर्वाचनमा भने एमालेले ४४ सिट प्राप्त गर्दै दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ। उसले समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत एमालेले पाएको आयोगले जनाएको छ।

प्रत्यक्षमा ५७ सिट जित्दै पहिलो दल बनेको नेपाली कांग्रेस भने समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको आयोगको तथ्यांकले देखाउँछ। उसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको हो। जुन एमाले भन्दा एक लाख ३० हजार ४१६ ले कम मत हो।

त्यस्तै, माओवादी केन्द्रले समानुपातिकर्फ ११ लाख ७५ हजार ६८४ मत पाएको छ भने चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ भने जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३ मत प्राप्त गरेको छ।

त्यस्तै, जनमत पार्टीले ३ लाख ९४ हजार ५६६ मत पाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार