के छ संसदका महासचिवले चोलेन्द्रलाई दिएको चिठीमा?

  हल्कारान्यूज  744 पटक हेरिएको

काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत फर्किने बाटो खोलिदिएका छन्।

गौतमले बुधबार (आज) राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद, सर्वोच्च अदालत, न्यायपरिषद र जबरालाई पत्र पठाएर २०७८ फागुन १ मा जबराले कार्य सम्पादन गर्न नपाउने भनी लेखेको पत्र निष्प्रभावी भएको जानकारी दिएका हुन्।

आफूलाई कामकारबाही गर्न रोक नलगाउन माग गर्दै जबराले मंगलबार मात्रै संसद सचिवालयमा निवेदन दिएका थिए। त्यसको प्रतिउत्तरमा संघीय संसदका महासचिव डा. गौतमले निलम्बन फुकुवा गरिदिएका हुन्।

उनको प्रतिउत्तरमा भनिएको छ, ‘महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधि सभामा पेश, प्रारम्भिक छलफल र महाअभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मंसिरमा नयाँ प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेकाले २०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र शम्शेर जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु।’

चोलेन्द्रले निवेदन दिएकै भोलिपल्ट संसद सचिवालयको तर्फबाट महासचिवले सुटुक्क `महाअभियोग निस्प्रभावी भएको´ जवाफ पठाएपछि तरङ्ग पैदा भएको छ।

महाअभियोग सिफारिस समितिले गत असोज १ गते सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको थियो। सभामुख सापकोटाले उक्त प्रस्तावलाई प्रतिनिधि सभामा पेस गर्ने व्यवस्था मिलाउन भनेर महासचिवलाई उल्लेख गर्दै तोक लगाएका थिए। तर, महासचिव गौतमले आज सुटुक्क पत्र पठाएका हुन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार