सर्वोच्च बारका अध्यक्ष भन्छन्- संसदका महासचिवले जबरालाई दिएको पत्रमा षडयन्त्र छ, प्रतिवाद गर्छौं

सर्वोच्चको मूल गेटमा कानुन व्यवसायीहरुको धर्ना

  हल्कारान्यूज  194 पटक हेरिएको

काठमाडौं । सर्वोच्च अदालत बार एशोसियसनका अध्यक्ष पूर्णमान शाक्यले संसद सचिवालयका महासचिवले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई दिएको ‘क्लिन चिट’ षडयन्त्रमूलक भन्दै सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिनेसमेत बताएका छन्।

संसद अधिवेशन बस्न बाँकी छँदै सचिवालयबाट बिचैमा पत्र आउनु षड्यन्त्रमूलक कुरा भन्दै शाक्यले कानुन र संविधान अनुसार नमिल्ने बताए। उनले भने, `महाअभियोगको प्रक्रियामा गइसकेपछि संसदले कुनै निर्णय नगरेसम्म त्यो निलम्बन फुकुवा हुँदैन भन्ने प्रष्ट व्यवस्था हुँदाहुँदै सचिवालयले यसरी षड्यन्त्रमूलक चिठी लेखेको हामीलाई स्वीकार्य छैन। यो कुराले मान्यता पाउन सक्दैन।’

गत २०७८ फागुन १ गते प्रधानन्यायाधीश जबराको कार्य सम्पादन राम्रो नभएको भन्दै सत्ता गठबन्धनका सांसदहरुले उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसलगत्तै जबरा निलम्बनमा परेका थिए।

आज संघीय संसदका महासचिव भरतराज गौतमले जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र दिएपछि जबरा सर्वोच्च अदालत जाने तयारीमा छन्।

आफूलाई कामकारबाही गर्न रोक नलगाउन माग गर्दै जबराले मंगलबार मात्रै संसद सचिवालयमा निवेदन दिएका थिए। त्यसको प्रतिउत्तरमा संघीय संसदका महासचिव डा. गौतमले महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधि सभामा पेश, प्रारम्भिक छलफल र महाअभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको र नयाँ प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेकाले जबराले कार्य सम्पादन गर्न पाउने व्यहोराको पत्र लेखेका थिए।

तर शाक्यले साधारण विधेयकको हकमा त्यो कुरा लागू भए पनि महाअभियोगको हकमा त्यो कुरा लागू नहुने तर्क गरे। उनले जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने बताए। उनले भने, ‘हामी प्रवेश गर्न दिंदैनौं। हामी मिटिङ बसेर यसको प्रतिवाद गर्नेछौं।’

सर्वोच्च अदालत बार एशोसिएसन र नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले लामो समय जबराविरुद्ध आन्दोलनसमेत गरेका थिए।

संसद सचिवालयबाट चोलेन्द्रलाई `क्लिन चिट´ दिएको सूचना पाएपछि कानुन व्यवसायीहरू सर्वोच्च अदालत मूल गेटमा धर्ना बसेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार