ग्लोबल आईएमई बैंकको साधारण सभाले स्वीकृत गर्‍यो बिओकेसँग मर्जरमा जाने प्रस्ताव

  हल्कारान्यूज  84 पटक हेरिएको

काठमाडौं । ग्लोबल आईएमई बैंकको १६औं वार्षिक साधारण सभाले बैंक अफ काठमाण्डूसँग मर्जरसम्बन्धी प्रस्ताव पारित गरेको छ। आज मंसिर २३ गते बसेको साधारण सभाले बैंक अफ काठमाण्डूसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको हो।

बैंकको साधारण सभाले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल/अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) स्वीकृत गरेको छ ।

बैंकको साधारण सभाले बैकको अधिकृत पूँजी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्तावलाई समेत पारित गरेको छ। साधारण सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गरेको छ।

यस्तै साधारण सभाले बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन मुनाफा ७ अर्ब १८ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको थियो। प्रस्तावित बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

बैंकका अध्यक्ष ढकालले साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै नेपाल राष्ट्र बैंकको घोषित नीति अनुरुप सेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा बैंकको खुद ब्याज आम्दानी अघिल्लो आव २०७७/७८ को भन्दा १ अर्ब १५ करोड रुपैयाँले वृद्धि भएको जनाएको छ। बैंकको खुद मुनाफा १२.५९ प्रतिशतले वृद्धि भई ४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको थियो। हाल बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार