यौनबारे के सोच्छन् मान्छेहरु? यस्ता छन् १५ भ्रम र वास्तविकता

  एजेन्सी  116 पटक हेरिएको

यौन मानिसमात्रै होइन, समस्त प्राणी जगतका लागि अनिवार्य र अत्यावश्यक छ। यौन क्रिया प्राणीहरुको जैविक आवश्यकता पूर्ति गर्न मात्रै होइन, मानव लगायत सिंगो प्राणी जगतको निरन्तरताका लागि पनि उत्तिकै महत्वपूर्ण छ। तर, यहीँ यौन क्रियाका बारेमा मानव समुदायमा थुप्रै भ्रमहरु फैलिएका छन्। जसले यौनबारे सकारात्मक भन्दा नकारात्मक चर्चा बढी हुने गर्दछ।

यहाँ हामी मानव समुदायका कुरा गर्दैछौं। मानव समुदायको निरन्तरताका लागि त यौन महत्वपूर्ण छँदैछ, मानवीय सभ्यतासँगै विकसित हुँदै आएको पारिवारिक सम्बन्ध, दाम्पत्य जीवनलाई सफल र खुसी बनाउन पनि यौन र यसका बारेमा स्पष्ट हुन जरुरी छ।

मानव समुदायमा केही यस्ता भ्रमहरु छन्, जसले यौनका बारेमा हामीलाई थप साँघुरो र नकारात्मक बनाइरहेका छन्। के हुन् त त्यस्ता भ्रमहरु जसले हामीलाई यौनबारे गलत सोच्न बाध्य बनाइरहेका छन्? आउनुहोस्, यहााँ केही चर्चा गरौं–

भ्रम १– एक दिनमा एकपटक मात्रै यौन सम्पर्क राख्नुपर्छ

मानिसहरुमा फैलिएको यो एकदमै हाँस्यास्पद र ठूलो भ्रम हो। साथीभाइ तथा आफन्तले के भन्छन् भन्ने कुरा बिर्सनुहोस्। दिनमा कतिपटक यौन सम्पर्क गर्ने भन्ने कुनै नियम हुँदैन। यौन सधैं सहज र स्वभाविक हुनुपर्छ। तपाईंहरु एक–अर्कालाई यौन आवश्यकता हुनासाथ यौन सम्पर्क राख्न सक्नुहुन्छ, तर तपाईंमध्ये एकलाई यसप्रति इच्छा छैन भने अर्कोले पर्खिनु नै सही हुन्छ। किनभने यौन भनेको एक्लै वा आफ्नो सन्तुष्टिका लागि मात्रै होइन, दुवैजनाको खुसी र सन्तुष्टिका लागि गरिने कार्य हो। यसले त दुई जनाको सम्बन्ध अझ मजबुत र सुन्दर बनाउन गर्ने प्रक्रिया हो। त्यसैले यौन क्रियामा सहभागी हुने दुवैलाई जति सहज हुन्छ, त्यति नै यौन सम्पर्क राख्न सकिन्छ, एक वा दुईपटक भन्ने हुँदैन।

भ्रम २– दिनहुँ यौन सम्पर्क राख्नुहुँदैन

दैनिक यौन सम्पर्क राख्नुहुँदैन भन्ने पनि सरासर गलत कुरा हो। यदि तपाईंहरु दुवैलाई दिनहुँ यौन सम्पर्क राख्न मन लाग्छ र शारीरिक रुपमा तन्दरुस्त र मानसिक रुपमा तयार हुनुहुन्छ भने आफूलाई रोक्नु राम्रो होइन। मानौं, पति वा पत्नी एक जनालाई दिनहुँ यौन सम्पर्क राख्न मन छ तर पति वा पत्नीमध्ये एक जनाले भने यो सधैं गर्ने कुरा होइन भन्ने अन्धविश्वासमा हुन्छन् भने त्यस्तो बेला यो भ्रमलाई हटाउनुपर्दछ र नियमित यौन क्रियामा समावेश हुन सकिन्छ। तर शारीरिक रुपमै कमजोर वा अशक्त भए कुरा बेग्लै।

भ्रम ३– यौनले कमजोर बनाउँछ

अधिकांश मानिसहरुमा अहिले पनि यस्तो सोचाइ रहने गरेको छ। ठूला ठूला खेलकूद प्रतियोगिताहरु हुँदा खेलाडीहरुलाई आफ्नो खेलको अघिल्लो रात यौन सम्पर्क नगर्न सल्लाह दिइएको सुनिन्छ। यस्तो सल्लाहका पछाडि यौन सम्पर्क नराख्दा खेलाडीको शक्ति खर्च हुँदैन र खेलमा उनीहरुले राम्रो र उत्कृष्ट प्रदर्शन गर्न सक्छन् भन्ने भ्रमले काम गरिरहेको हुन्छ। तर अहिले विभिन्न सर्वेक्षणले यो कुरामा कुनै वास्तविकता नरहेको प्रमाणित गरिसकेको छ। बरु नियमित यौन सम्बन्धले हरेकको काम र प्रस्तुतिमा उत्कृष्ट प्रदर्शन हुने गरेको देखाएको छ।

भ्रम ४– यौन सम्पर्कका लागि कुनै नियम बनाउनुहुँदैन

यौन सम्बन्धका लागि नियम बनाउनुहुँदैन भन्ने पनि भ्रम रहेको छ। दम्पत्तिले यौनका लागि निश्चित र प्रष्ट समयतालिका बनाउनु आवश्यक हुन्छ। यौनले तपाईंलाई सन्तुष्द्धिटका साथै रमाइलो पनि प्रदान गर्छ। यौन सहज हुनुपर्छ भन्ने कुरा साँचो हो। सम्बन्धका प्रारम्भिक दिनहरुमा तपाईं सिंगारिएर, क्यान्डल बालेर, उत्तेजक पहिरन लगाएर यौनका लागि तयार हुनुहुन्थ्यो होला। ती दिनहरुलाई सम्झनुपर्छ। त्यसैले यौनका लागि सधैं सहज र नयाँपन ल्याउनुपर्छ।

भ्रम ५– पुरुषहरु दिनहुँ यौन सम्पर्क राख्न चाहन्छन्

प्रायः महिलाहरु पुरुषहरुको बारेमा यस्तै सोच्छन् कि उनीहरु दिनहुँ यौन सम्पर्क राख्न चाहन्छन्। यो पनि महिलामा रहेको ठूलो भ्रम हो। महिलालाई लाग्न सक्छ– पुरुष सधैं यौनका लागि तयार हुन्छन्, यदि उनीहरुलाई खुशी राख्न सकिएन भने घरमा छोडेर बाहिर प्रेम र यौन खोज्न थाल्छन्, त्यसैले आफ्नो चाहना नभए पनि पुरुषका लागि तयार हुनुपर्छ। यो महिलाहरुको ठूलो भ्रम हो।

भ्रम ६– महिलाहरु यौन चाहनाले कहिल्यै अघाउँदैनन्

अधिकांश पुरुषहरु सोच्छन् कि महिलाहरु यौन सम्पर्क जति गरे पनि अघाउँदैनन् अर्थात् जतिबेला पनि तयार हुनसक्छन्, जति गरे पनि थाक्दैनन्। यो पनि पूरै भ्रम हो। महिलाहरुको पनि शरिर न हो, उनीहरुलाई पनि थकाइ लाग्छ र उनीहरु पनि यौन सम्पर्कका दौरान चरम उत्कर्षमा पुगेपछि पूर्ण सन्तुष्टिको महसुस गर्दछन् र आनन्दले थकाइ मार्न चाहन्छन्।

कतिपय पुरुषहरु आफ्नो पत्नी वा पार्टनर अरु पुरुष खोज्दै नजाओस् भन्ने सोचेर आफूले नसकि नसकी पनि यौन क्रियामा सामेल हुने गर्दछन्। उनीहरु भ्रम हुन्छ कि मैले मेरो पार्टनरलाई पूर्ण सन्तुष्टि र यौन चाहना पूरा गर्न सकेको छैन। यस्तो भ्रमले पनि कहिलेकाँही दम्पत्तिहरुबीच मनमुटावको स्थिति पैदा गरिदिन्छ।

भ्रम ७– महिलाहरु यौनमा रमाउँदैनन्

यो पनि एउटा ठूलो गलत सोचाइ हो। यसको शिकार सबैभन्दा धेरै महिलाहरु नै धेरै भएका छन्। कतिपय महिलाहरुलाई नै यौन सम्पर्क भनेको पुरुषलाई खुशी बनाउनका लागि गरिने क्रिया हो भन्ने लाग्छ। त्यसैले उनीहरु यौनको पहल गर्न पनि अफ्ठ्यारो मान्छन् र आफूलाई यौन इच्छा र अनिच्छा भएको पनि भन्न सक्दैनन्।

उनीहरु आफ्नो पार्टनरको मन र मुडअनुसार यौन सम्पर्क राख्छन्। तर यस प्रकारको यौन सम्पर्कमा कुनै भावना हुँदैन। यौन एउटा भावना हो, कुनै रुटिनको काम होइन, जसलाई गर्नुपर्ने बाध्यता होस्। यो भावनालाई जबसम्म महसुस गरिँदैन, तबसम्म आफ्नो पार्टनरसँग जोडिएको महसुस हुँदैन।

भ्रम ८– उमेर बढेपछि यौन इच्छामा कमी आउँछ

हाम्रो समाजमा प्रायः व्यक्तिहरुको सोचाई के हुन्छ भने अब बच्चाहरु ठूला भए, हाम्रो उमेर पनि भयो, केटाकेटीजस्तो यौन कार्यका लागि सक्रिय हुनुहुँदैन। वास्तवमा यौनसँग उमेर र बच्चा सानो, ठूलो हुनुसँग कुनै प्रकारको सम्बन्ध हुँदैन। तपाईं जबसम्म शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा तयार हुनुहुन्छ, तबसम्म यौन सम्पर्क राख्न सक्नुहुन्छ। आफू बसेको समाजको मर्यादामा रहेर गरिने यौन क्रियालाई कुनै उमेरले छेक्दैन।

भ्रम ९– यौनमा के मन पर्छ के पर्दैन जान्नुपर्छ

सबैभन्दा पहिला तपाईंले आफ्नो पार्टनरलाई मनभित्रको कुरा नभनी थाहा हुँदैन भन्ने कुरा बुझ्नुपर्छ। जबसम्म तपाईंहरुबीच कुराकानी हुँदैन, तबसम्म तपाईंहरुलाई एक–अर्काको बारेमा केही थाहा हुँदैन। तपाईंहरुले केवल अनुमान मात्र लगाउन सक्नुहुन्छ। जसरी सम्बन्धको बलियो आधारका लागि सञ्चार अति आवश्यक हुन्छ, त्यसरी नै यौनका लागि पनि खुलेर कुरा हुनु अति नै आवश्यक छ। त्यसैले पार्टनरबीच यौन क्रियाका बेला के गर्ने र के नगर्ने भन्नेबारे प्रष्ट कुराकानी हुनुपर्दछ। यसको कुनै नियम हुँदैन, जुन अध्ययन गरेर, कण्ठस्थ पारेर परीक्षा दिएको जस्तो होस्।

भ्रम १०– विवाहित दम्पतिहरु परम्परागत यौन क्रिया गर्छन्

अधिकांश जोडीहरुमा यौनका बारेमा विभिन्न किसिमका कल्पनाहरु हुन्छन्। उनीहरुको कल्पनाको यौन संसार भिन्दै प्रकारको हुन्छ भने वास्तविकता त्यो भन्दा कोशौं टाढा हुन्छ। किनभने यौनका बारेमा तपाईंको मनमा विभिन्न भ्रमहरु रहेका हुन्छन्। विवाहपछि यौनमा धेरै प्रयोगहरु गरिंदैन भन्ने तपाईंको सोचाई हुन्छ।

तपाईंले गरेको कल्पना सबैतिर लागू हुन्छ भन्ने हुँदैन। दम्पत्तिमा यौन सम्बन्ध गर्दाको प्रक्रिया, तरिका कस्तो गर्ने भन्नेमा एक अर्कामा सल्लाह गरेर नयाँ नयाँ पनि गर्न सकिन्छ। एक अर्कामा खुलेर कुरा गर्ने दम्पत्तिले परम्परागत तरिकामात्रै अपनाउँछन् भन्ने छैन तर त्यस्तो भ्रम पनि पाइन्छ। तपाईंले आफ्नो यौन जीवनलाई पारम्परिक यौनको नाम दिएर यसलाई दिक्क लाग्ने बनाउनु हुँदैन। त्यसकारण आफ्नो सम्बन्धलाई कमजोर पनि हुन दिनुहुँदैन।

भ्रम ११– बढ्दो उमेरसँगै जिस्कने र ठट्टा गर्ने बानी कम हुन्छ

यो कुरा साँचो होइन। तपाईंको उमेरसँग यी कुराहरुको कुनै सम्बन्ध छैन। तपाईंको सम्बन्धमा ख्यालठट्टा र जिस्कने कुराहरु सधैं आवश्यक हुन्छ। त्यसले तपाईंको रोमान्सलाई यथावत राख्छ। उत्कृष्ट यौन र सम्बन्धका लागि तपाईंको उमेर जस्तो भए पनि दुबैले ख्याल ठट्टा गर्नु अति नै आवश्यक छ।

भ्रम १२– युवाहरुसँग यौनको अनुभव रमाइलो हुन्छ

युवाहरुसँग यौनको रमाइलो अनुभव हुन्छ भन्ने कुरा ठूलो भ्रम हो। यौन अनुभव उमेरसँगगै झन् राम्रो हुँदै जान्छ। जो मानिस पनि युवा भएर नै वृद्ध हुने त हो नि। त्यसैले युवाभन्दा वृद्धसँग नै धेरै यौनको रमाइलो अनुभव हुन्छ। जवान पार्टनरसँग यौनको अनुभव राम्रो हुन्छ भन्ने आवश्यक छैन।

भ्रम १३– श्रीमतीलाई चरमसुख प्राप्त भएन भने श्रीमानलाई कमजोर सोच्न थाल्छिन्

यस प्रकारको सोच पुरुष र महिला दुवैमा हुन्छ। यदि सही तरिकाले यौन सम्पर्क भयो भने दुवैलाई एक साथ चरमसुख प्राप्त हुन सक्छ। तर कहिलेकाहीँ यदि यौन सम्पर्क राख्दा धेरै उत्तेजित हुनाले अथवा अन्य कारणहरुले दुबैमध्ये कोही एकलाई छिट्टै स्खलित हुन्छ भने त्यसको अर्थ उ कमजोर छ भन्ने हुँदैन। त्यस्तो हुनु स्वभाविकै हो। समयसँगै जब तपाईंहरु दुवैको सोचाइ र अनुकूलता बढ्छ, तब तपाईंहरुमा सहजता पनि बढ्छ र तपाईंहरुको अनुभव राम्रो हुन्छ।

भ्रम १४– पोर्न फिल्मले यौन जीवनमा नयाँ जोश आउँछ

धेरै मानिसहरुको सोचाई के हुन्छ भने पोर्न फिल्महरुमा देखाइएका कुराहरु वास्तवमा नै सम्भव हुन्छ। खासमा त्यो फिल्म हो, यथार्थ जीवन व्यवहारमा लागू गर्नै सकिदैन। फिल्मका लागि त्यो विभिन्न तरिका अपनाएर भिडियो बनाइएको हुन्छ, वास्तविक जीवनमा त्यस्तो गर्न खोज्नु भनेको दुर्घटना निम्त्याउनु हो। पोर्न फिल्ममा गरिएको क्रिया केवल पैसा कमाउने उद्योगसँग सम्बन्धित छ। यसले तपाईंलाई त्यही देखाउँछ, जुन तपाईंलाई बढी उत्तेजक लाग्छ। तर यथार्थमा ती कुराहरु सम्भव हुन सक्दैन। कोही कोहीले आफ्नो पार्टनरलाई पोर्न फिल्म हेरेर त्यस्तै तरिका अपनाउन दबाब दिन्छन्, जसले सम्बन्धमा फाटो आउन थाल्छ।

राम्रो यौनका लागि आफ्नो पार्टनरको भावनाप्रति ध्यान दिनु सबैभन्दा महत्वपूर्ण र आवश्यक कुरा हो। पोर्न फिल्म हेर्ने बानीले तपाईंको यौन जीवन पूर्ण रुपमा अन्त्य गर्ने अवस्थामा पुर्‍याउन सक्छ भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ। किनभने पोर्न फिल्म हेरेपछि तपाईंलाई आफ्नो वास्तविक यौन जीवन खल्लो लाग्न सक्छ र तपाईंलाई त्यो पर्दा पछाडिको संसार धेरै रमाइलो र रंगीन लाग्न थाल्छ।

भ्रम १५– रक्सीले यौन क्रियाकलाप उत्कृष्ट बनाउँछ

कतिपयलाई लाग्छ, रक्सी खाएर यौन क्रिया गर्दा तुलनात्मक रुपमा सफल भइन्छ र लामो समयसम्म टिक्न सकिन्छ, यो पनि ठूलो भ्रम हो। उल्टो रक्सीको नसामा लाज सरम हराएर इन्ट्री खतरा देखिए पनि त्यसले अन्ततः रक्सी सेवन गरेको पुरुष होस् वा महिला उसलाई असर गरिरहेको हुन्छ र उसको यौन क्षमतामै ह्रास आइरहेको हुन्छ।

अल्कोहलजन्य जुनसुकै पनि पेय पदार्थले भविष्यमा तपाईंको प्रस्तुति र स्वास्थ्य दुबैलाई हानी पुर्‍याउनुको साथै सम्बन्धमा समेत नकारात्मक असर पार्छ। त्यसैले कहिलेकाहीँ तपाईंको मूड राम्रो बनाउन सक्छ, तर त्यसको लत राम्रो होइन। यौनसँग सम्बन्धित यसको भ्रम खतरनाक हुन्छ।

आखिर यौन क्रियाका बारेमा यति धेरै भ्रमहरु किन?

यौन, यौन सम्बन्ध र यसका बारेमा यहाँ उल्लेख गरिएका बाहेक अरु थुप्रै भ्रम, किस्सा र प्रसंगहरु समाजमा व्याप्त छन्। आखिर यौनलाई किन यस्तो रहस्यमय र भ्रमपूर्ण बनाइएको होला? के कारणले यस्तो भएको होला? यहाँ केही कारणहरु उल्लेख गर्ने प्रयास गरिएको छ।

– हाम्रो समाजमा यौनका बारेमा धेरै कुराकानी अथवा छलफल गरिंदैन। यसलाई लाज, सरम र गोप्य बनाइएको छ, जसका कारण धेरै प्रश्नहरु मनमा नै रहन्छन्।

– गलत स्थानबाट जानकारी हासिल गर्नु पनि भ्रम बढाउनु हो।

– साथीभाइहरुसँग यौनको बारेमा बढाइ–चढाई गरेर कुरा गर्ने बानीले मनमा विभिन्न गलत धारणाहरु उत्पन्न गराउँछ।

– घर परिवारमा पनि यौनका बारेमा कुरा गर्न निषेध गरिएको हुन्छ।

– महिलाहरुलाई सधैं यौनको इच्छा दवाएर राख्ने शिक्षा दिइन्छ।

– महिलाहरुलाई हुर्काउने क्रममा यौन एउटा फोहोर कुरा हो, जसलाई खराब चरित्रको मानिसहरुले मात्र महत्व दिन्छन् भनेर सिकाइएको हुन्छ।

– यौनको मुख्य उद्देश्य नै श्रीमानलाई खुशी बनाउनु हो भनेर छोरीहरुलाई सिकाइन्छ।

– व्यक्तिगत र यौन सरसफाई, सुरक्षित यौनको कुराहरु भन्नु आवश्यक मानिंदैन।

– रिलेशनसिप एक्सपर्ट अथवा सेक्स थेरापिस्टकहाँ जाने सल्लाह दिइँदैन।

– पुरुषहरुको लालन पालन अति नै लापरवाहीसँग गरिएको हुन्छ, जसका कारण महिलाहरु मात्र उनीहरुको सन्तुष्टिको माध्यम हो भन्ने उनीहरुमा भ्रम हुन्छ।

– पुरुषहरुलाई महिलाहरुको यौन आवश्यकतामा ध्यान दिने सल्लाह कहिले दिइँदैन।

– यौन र भावनाहरुको समन्वयलाई बुझ्नुपर्छ भनेर सिकाइँदैन।

यस्ता भ्रमहरुलाई कसरी हटाउने?

– यौन एउटा सहज र प्राकृतिक क्रिया हो भन्ने कुरा बुझ्न र बुझाउनु पर्छ।

– यौनका बारेमा आफ्नो सोचाईमा परिपक्वता ल्याउनुपर्छ। एक्सपर्टहरुको सल्लाह लिन अपठ्यारो मान्नु हुँदैन।

– यौन सम्बन्धी शिक्षा समयमा नै दिनुपर्छ।

– लिंगको आधारमा यौन आवश्यकता र जिम्मेवारीहरुलाई बाँड्नुहुँदैन।

– यौनका बारेमा कुरा गर्न सजिलो होस् भन्ने कुरा अभिभावकले आफु र बच्चाहरुलाई बुझाउनु र बुझ्नु आवश्यक छ।

– यौनलाई फोहोर काम भन्ने गल्ती गर्नु हुँदैन।

– बच्चाले गलत ठाउँहरुबाट यौन सम्बन्धी जानकारी लिएका छन् कि भन्ने कुरा अभिभावकले ध्यान दिनुपर्छ।

– फरक फरक तरिकाले यसबारेमा शिक्षा दिनुपर्छ।

– सम्बन्ध बलियो होस् भन्नका लागि यौन र यौनका बारेमा सही सोच र महत्वलाई सम्झाउनु पर्छ।

– यदि कुनै यौन सम्बन्धी समस्या छ भने त्यसलाई शेयर गर्नुपर्छ। यो तपाईंको कमजोरी अथवा नराम्रो कुरा होइन, त्यस्ता समस्याहरु लुकाउँदा तपाईंको सम्बन्ध र स्वास्थ्य दुबैका लागि घातक हुन सक्छ भन्ने सबैलाई बुझाउनुपर्दछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार