म्याराडोनालाई पछ्याउँदै मेसी

  एपी  291 पटक हेरिएको

दोहा । आकासे र सेतो धर्से जर्सी लगाएका अर्जेन्टिनी समर्थकले एउटा नयाँ गीत बनाएका छन्। त्यसले भन्छ, ‘म्याराडोनाले स्वर्गबाट मेसीलाई जयजयकार गर्दैछन्।’

दुवै अर्जेन्टिनी फुटबल इतिहासका महान् खेलाडी हुन्। उनीहरूलाई एकअर्कासँग दाँज्ने काम पनि खुब चलिरहेको छ। जसरी सन् १९८६ को विश्वकप डिएगो म्याराडोनाका लागि सम्झिने गरिन्छ, त्यसरी नै यसपालि विश्वकपमा मेसीले त्यत्तिकै उम्दा छाप छोड्दै छन्।

उनको प्रदर्शनमा टिकेर अर्जेन्टिनाले फाइनल यात्रा तय गरेको छ। धेरैलाई लाग्दो हो– मेसीमा म्याराडोनाको केही न केही छनक पक्कै छ। जस्तो उचाइ, बल छलाउने कला, तीव्र गतिमा चाल्न सक्ने पाइला अनि शक्तिशाली देव्रे खुट्टा आदि आदि। यसपल्टको विश्वकपमा मेसीले अर्जेन्टिनाका लागि जुन प्रकारको नेतृत्व प्रदान गरेका छन्, जसरी आफैंले उदाहरण बन्दै राम्रो खेलेका छन्। ती सबैले जनाउन दिन्छ, साँच्चै म्याराडोनालाई पछ्याइरहेका छन् मेसी। ‘मेसीले अहिलेको विश्वकपमा म्याराडोनाको भूमिका निभाइरहेका छन्,’ जोर्गे भाल्डोना भन्छन्। सन् १९८६ को विश्वकप विजयी अर्जेन्टिनी टिमका सदस्य भाल्डानोले टीभीमा अन्तर्वार्ता दिँदै मेसीको खुबै प्रशंसा गरेका छन्। अझ क्रोएसिया जत्तिको बलियो टिमलाई हराउन अर्जेन्टिनाले जुन खेल प्रदर्शन गर्‍यो, त्यसमा कायल भएका छन् भाल्डोना। त्यसैले त अर्जेन्टिना छैटौंपल्ट विश्वकपको फाइनल पुगेको छ अनि तेस्रोपल्ट उपाधि जित्ने संघारमा।

विशेषतः क्रोएसियाविरुद्धको तेस्रो गोलमा मेसीले जसरी अवसर सिर्जना गरे, त्यसमा सबै चकित छन्। मेसीले एकाएक सिर्जना गरेको मौकामा जुलियन अल्भारेजले गोल गरेका थिए। यसलाई मेसीको एक अर्को जादुयी प्रदर्शनभन्दा हुन्छ। मेसी आफैं भन्छन्, ‘व्यक्तिगत रूपमा मैले यस विश्वकपका खुबै मज्जा लिइरहेको छु। लाग्छ, मलाई भाग्यले पनि साथ दिइरहेको छ। मैले आफ्नो खेलबाट टिमलाई सहयोग गर्न पाएकोमा खुसी छु।’

त्यस खेलपछि अर्जेन्टिनी पत्रकारले आयोजना गरेको ‘पोस्टम्याच कन्फ्रेन्स’ मा मेसीले ठीकै भने। उनी भन्थे, फाइनलको नतिजा जस्तै होस्। उनी आफ्नो देशका प्रत्येक जनताको मनमा खुसी ल्याउन सफल भएका छन्। अहिले सबैको मनमा उनको देश बसेको छ । अब त मेसीका लागि अबको खेलमा जित–हारको पनि ठूलो अर्थ रहन छाडेको छ। उनले भनेका पनि छन्, ‘नतिजा के कस्तो रह्यो, त्यो अब महत्त्वपूर्ण रहेन । सबैभन्दा महत्त्वपूर्ण कुरा त अर्जेन्टिनाले तय गरेको यात्रा हो।’

तर, यी त भए भावनाका कुरा। मेसीले साँच्चै विश्वकप जित्ने सक्ने छन् भने उनी पनि त्यस्ता खेलाडीको सूचीमा पर्नेछन्, जहाँ पेले र म्याराडोनाजस्ता महान खेलाडीको नाम छ। उनी विश्व फुटबलका महान् खेलाडी हुन नै, विश्वकप जितेमा उनको नाममा जोडिएर आउने विवादले पनि सधैंका लागि पूर्णविराम पाउने छ। फेरि मेसीले यो विश्वकप नै आफ्नो अन्तिम भनिसकेका छन्, किनभने चार वर्षपछि त उनी ३९ वर्षका भइसक्ने छन्।

म्याराडोनाको मृत्यु दुई वर्षअगाडि नै भइसक्यो। मेसीलाई लाग्छ, उनी स्वर्गबाट अर्जेन्टिनाको खेल हेरिरहेका छन्। नेदरल्यान्ड्सविरुद्धको खेल अर्जेन्टिनाका लागि वास्तवकै कठिन रह्यो। टिम गाह्रै परीक्षाबाट गुज्रिन बाध्य रह्यो। त्यसै खेलपछि मेसी भन्थे, ‘हामीलाई म्याराडोनाले स्वर्गबाट हेरिरहेका छन्। उनी हामीलाई राम्रो खेल्न भनिरहेका छन्। मलाई विश्वास छ, प्रतियोगिता नसकिएसम्म उनी हाम्रा लागि त्यहीं हुनेछन्।’ सायद अहिले म्याराडोना पनि खुसी छन् स्वर्गमा।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार