पतिलाई आफ्नो वशमा राख्न पत्नीले दिइन् ज्योतिषलाई साढे ९४ लाख

  एजेन्सी  323 पटक हेरिएको

अन्धविश्वासको प्रभावबाट शिक्षित मानिस पनि अछूत छैनन्। एक शिक्षित परिवारकै महिलाले आफ्नै पतिलाई आफ्नो वशमा पार्ने आशमा झण्डै एक करोड नेपाली रुपैयाँ सिध्याएकी छिन्।

भारतको मुम्बईमा एक महिलाले आफ्ना व्यवसायी पतिलाई आफ्नो नियन्त्रणमा लिन ज्योतिषीलाई ५९ लाख भारु अर्थात् ९४ लाख ४० हजार नेपाली रुपैयाँ बुझाएकी छन्। टाइम्स अफ इन्डियाका अनुसार यो घटना मुम्बईको पवईको हो।

एक व्यवसायीले आफ्नी पत्नीका पूर्वप्रेमी र ज्योतिषविरुद्ध धोकाधडी र बेइमानी गरेर पैसा लिएको आरोपमा मुद्दा दायर गरेका थिए।

उनका अनुसार ज्योतिष र महिलाका पूर्व प्रेमीले मिलेर महिलालाई ‘काला जादू’को नाममा पतिलाई उनको वशमा राखिदिने आश्वासन दिएर २४ लाख भारु नगद र ३५ लाख भारु पर्ने सुन लिएका थिए।

पवई प्रहरीका अनुसार बादल शर्मा नाम गरेका ज्योतिष र महिलाका पूर्वप्रेमी परेश गडाविरुद्ध धोकाधडी तथा विश्वासघातको माध्यमबाट पैसा लिएको आरोपमा मुद्दा दायर भएको छ।

व्यवसायीले आफ्ना कर्मचारीहरुलाई बोनसको रुपमा दिन लागेको पैसा पत्नीले ज्योतिषलाई दिएकी थिइन्।

प्रहरीका अनुसार महिलाले इन्स्टाग्रामको एक विज्ञापनबाट ज्योतिषलाई सम्पर्क गरेकी थिइन्।

महिलाका अनुसार पतिले आफ्ना दाजुभाइ र परिवारका अन्य सदस्यको कुरा मात्र सुन्ने भएकाले उनलाई आफ्नो वशमा ल्याउन ज्योतिषलाई पैसा दिएको उल्लेख गरेकी छन्।

प्रहरीले यो घटनाको सम्बन्धमा एक जनालाई पक्राउ गरिएको र यसबारे अनुसन्धान पनि भइरहेको बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार