सभामुख चुन्न नसक्दा अमेरिकी सांसदहरुले लिन पाएनन् शपथ, सभामुखका लागि भइसक्यो ६ पटक चुनाव

  एजेन्सी  82 पटक हेरिएको

काठमाडौँ । अमेरिकी तल्लो सदन प्रतिनिधि सभा (हाउस अफ रेप्रिजेन्टेटिभ्स)मा ६ चरणमा मतदान हुँदा पनि सभामुख चयन हुन सकेका छैनन्। मंगलबार र बुधबार ६ पटक सभामुख चयनका लागि गरिएको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न सकेनन्।

अमेरिकामा गत नोभेम्बरमा भएको मध्यावधि चुनावको नतिजाअनुसार रिपब्लिकन सांसद केभिन म्याककार्थी सहजै सभामुखमा विजयी हुने आँकलन गरिए पनि उनले आफ्नै दलका सांसदको समर्थन जुटाउन सकेका छैनन्।

हाउस अफ रेप्रिजेन्टेटिभ्समामा रिपब्लिकनका २२२ र डेमोक्रेटिकका २१२ सांसद छन्। समाभुख चुनिनका लागि २१८ भोट चाहिन्छ। तर म्याककार्थीले २०३ भन्दा बढी मत कटाउन सकेका छैनन्। पहिलो चरणमा २०३ भोट पाएका म्याककार्थीले छैटौं चरणसम्म आइपुग्दा त्योभन्दा कम २०१ भोट पाएका छन्।

रिपब्लिकन पार्टीकै २० सांसदले बाइरन डोनाल्डलाई भोट दिएका छन्। डेमोक्रेटिक पार्टी भने एकढिक्का देखिएको छ। डेमोक्रेटिक उम्मेदवार हकीम जेफ्रिजले २१२ भोट पाएका छन्।

सन् १९२३ मा सभामुख चयन गर्न ९ पटक मतदान गरिएको थियो भने त्यसअघि १८५६ मा १३३ पटक मतदान भएको थियो। १९२३ यता पहिलो पटक अमेरिकामा सभामुख चयनका लागि धेरै चरणमा मतदानमा जानु परेको हो। बिहीबार पुनः चुनाव हुने बताइएको छ।

अमेरिकी सभामुखको निर्वाचनलाई लिएर टिकाटिप्पणी भएपछि राष्ट्रपति बाइडेनले रिपब्लिकन पार्टीलाई सहमतिमा जान आग्रह गरेका छन्। उनले भनेका छन्, ‘यो राम्रो होइन। यो संयुक्त राज्य अमेरिका हो र मलाई आशा छ रिपब्लिकनहरूले सहकार्य गर्नेछन्।’

उनले सभामुख चयन प्रक्रिया लम्बिँदा लज्जित हुन परेको पनि बताएका छन्। ‘त्यो मेरो समस्या होइन तर यो लम्बिनु भनेको लज्जित हुनु हो।’

सभामुख नभएकाले नोभेम्बरमा निर्वाचित भएका सांसदले शपथसमेत लिन पाएका छैनन्। उनीहरू अहिले पनि ‘रेप्रिजेन्टेटिभ्स इलेक्ट’का रूपमा रहेका छन्। अमेरिकामा तल्लो सदनका रूपमा रहेको प्रतिनिधि सभा कानुन निर्माण गर्नुका साथै संघीय सरकारलाई बजेट विनियोजन लगायतका महत्त्वपूर्ण काम गर्छ।

रिपब्लिकन सांसदको गतिविधिले सयौं वर्षदेखि चल्दै आएको मान्यता भत्किएको वासिङ्टन डीसीस्थित क्याथोलिक युनिभर्सिटीका राजनीतिशास्त्रका प्राध्यापक म्याथ्यु ग्रीन बताउँछन्। अल जजीरासँगको कुराकानीमा उनले भनेका छन्, ‘सदनमा रिपब्लिकन पार्टी नराम्रोसँग विभाजित भएको छ। उनीहरूसँग यस्ता सांसद छन् जसले पार्टीको आधिकारिक उम्मेदवार मन पराएका छैनन् त्यति मात्र होइन फ्लोर अवरुद्ध गरेका छन्। यसले सयौं वर्षदेखिको मान्यता भत्काएको छ।’

रिपब्लिकन सांसद केभिन म्याककार्थी । तस्बिर : रोयटर्स

त्यस्तै डेमोक्रेटिक पार्टीका सांसदहरू अहिलेको परिस्थिति आउनु रिपब्लिकन नेतृत्वका लागि असक्षम छ भन्ने कुरा प्रमाणित भएको बताउँछन्। रिपब्लिकन सिनेटर क्रिस मर्फीले ट्विटरमा लेखेका छन्, ‘समस्या आजको मात्र होइन। यस्तै समस्या रिपब्लिकनको बहुमत भएको सदनमा दिनहुँ हुनेवाला छ।’

उनले रिपब्लिकनले नेतृत्व गर्न असक्षम हुने मात्र होइन यसले सार्वजनिक बेइज्जती हुने पनि बताए। त्यस्तै डेमोक्रेटिक सांसद इल्हान ओमारले म्याककार्थीले ‘ऐतिहासिक अपमान’ भोग्नु परेको प्रतिक्रिया दिएकी छिन्। म्याककार्थीले ओमारलाई इजरायलको आलोचना गर्दा संसदीय समितिबाट निकाल्ने धम्कीसमेत दिएका थिए।

सन् २०२४ मा पुनः उम्मेदवारी दिने घोषणा गरिसकेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानका बीच पनि रिपब्लिकन पार्टी म्याककार्थीको नाममा एकमत हुन सकेका छैनन्। ट्रम्पले ‘ट्रुथ सोसल’मा म्याककार्थीलाई भोट दिन आह्वान गर्दै लेखेका थिए, ‘गत राति निकै नै राम्रा संवाद भएका छन्। यो समय भनेको हाम्रो सदनका महान सदस्य केभिनलाई भोट दिनु हो।’ ट्रम्पका कट्टर समर्थक रूपमा चिनिने फ्लोरिडाका सांसद म्याट गेज पनि म्याककार्थीलाई समर्थन गर्न मानेका छैनन्।

अमेरिकी सभामुखको निर्वाचनमा देखिएको अड्चन अन्त्यका लागि म्याककार्थीले केही निर्णय गर्न सक्ने आँकलन गरिएको छ। बीबीसीका उत्तर अमेरिकी संवाददाता एन्थोनी जर्चरले अमेरिकी सभामुख निर्वाचनमा देखिएको अड्चन ३ तरिकाले अन्त्य हुन सक्ने बताएका छन्। उनका अनुसार म्याककार्थीले संवाद गरेको आफ्नो स्वीकार्यता बढाएमा उनले रिपब्लिकन पार्टीका केही मत बढाउन सक्नेछन्। त्यस्तै उनले म्याककार्थी प्रतिस्पर्धाको दौडबाट बाहिरिँदा अरु कुनै सदस्यमा सहमति हुन सक्ने सम्भावना रहेको बताउँछन्। जर्चरका अनुसार जिम जोर्डन, जिम ब्यांक्स लगायतका सांसदको नाममा सहमति हुन सक्ने सम्भावना रहेको छ।

त्यस्तै जर्चरले सुझाएको तेस्रो उपाय हो, दुवै पार्टीले सहमतिको उम्मेदवार छान्ने। केही रिपब्लिकन सांसदलाई डेमोक्रेटिक पार्टीले समेत स्वीकार्ने सम्भावना रहेको उनको भनाइ छ। डन बेकन, फ्रेड उप्टनलगायतले पनि डेमोक्रेटिकबाट पनि समर्थन पाउने आशा गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार