बीओके मर्जरसँगै सबैभन्दा ठूलो बन्यो ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमईको कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५.७७ अर्ब, निक्षेप ४ खर्ब, कर्जा ३.७९ खर्बभन्दा बढी

  हल्कारान्यूज  54 पटक हेरिएको

काठमाडौँ । ग्लोबल आईएमई बैंकमा बैंक अफ काठमान्डू लिमिटेड (बीओके) गाभिएर एकीकृत कारोबार सुरु गरेका छन्। यी दुवै बैंक समान सेयर अनुपात (१ः१) मा आपसमा गाभिएका हुन्।

‘ग्लोबल आईएमई बैंक लिमिटेड’कै नामबाटै सञ्चालनमा आएको बैंकको चुक्ता पुँजी अब करिब ३५ अर्ब ७७ करोड रुपैयाँ छ। कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५.७७ अर्ब रुपैयाँ, कुल निक्षेप ४ खर्ब रुपैयाँ र कुल कर्जा ३ खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढी पुग्ने बताइएको छ।

मर्जर तथा एक्विजिसनकै माध्यमबाट धेरैजसो वित्तीय सूचकमा ग्लोबल आईएमई बैंक नेपालकै पहिलो बैंक बन्न सफल भएको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। ‘मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारका हिसाबले नेपालको सबैभन्दा ठूलो बनेको छ,’ उनले भने। हालसम्म ५ वाणिज्य बैंक, १० विकास बैंक र ५ वित्त कम्पनी मर्ज तथा प्राप्ति भएर ग्लोबल आईएमई बैंक मुलुककै सबैभन्दा ठूलो बैंक भएको ढकालले जानकारी गराए।

‘अब ग्लोबल आईएमई बैंकले मुलुकको बैंकिङ प्रणालीका आधारमा बजार हिस्साको १० प्रतिशत ओगट्नेछ,’ उनले भने, ‘केही वर्षसम्म मुलुकको ठूलो बैंकको कल्पना कसैले गरेका थिएनन्। तर यस मर्जरले त्यसलाई साकार गरेको छ। मुलुकका ठूला परियोजनालाई वित्तीय लगानी गर्न नेपाली बैंकिङ क्षेत्र सफल हुँदै गएको छ।’

ठूलो बैंक बनेसँगै लगानीका आधारमा तीन प्राथमिकता निर्धारण गरिएको ढकालले बताए। घर घरमा रेमिट्यान्स प्राप्त गर्न सक्ने वातावरणलाई थप विस्तार गर्ने, पर्यटन क्षेत्रमा चन्द्रागिरि जस्तै ७ प्रदेशमा केबलकार बनाउने र प्रविधि क्षेत्रमा लगानी विस्तार गर्ने योजना रहेको उनको भनाइ छ।

बैंकको नयाँ सञ्चालक समितिमा ग्लोबल आईएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमान्डूका तर्फबाट २ जना रहनेछन्। त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा ग्लोबल आईएमईकै रत्नराज बज्राचार्य छन्। ‘मर्जरपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्ष दुवै ग्लोबल आईएमई बैंकबाटै रहनेछन्,’ कार्यक्रमपछि जारी विज्ञप्तिमा भनिएको छ।

मर्जरपछि यो बैंकले कुल ३ सय ६५ शाखा कार्यालय, ३ सय ६७ एटीएम, २ सय ८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय र ३ वटा विदेशस्थित सम्पर्क कार्यालयबाट वित्तीय सेवा प्रदान गर्ने जनाइएको छ। ‘करिब ४० लाखभन्दा बढी ग्राहक छन्,’ विज्ञप्तिमा भनिएको छ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई बैंकको मर्जरपछिको एकीकृत कारोबारको उद्घाटन गरे। बैंकको पुँजीगत आधार विस्तार गर्दै क्षमता विकास गर्न मर्जरमा गएको बीओकेका अध्यक्ष प्रकाश श्रेष्ठले बताए। बैंकिङ क्षेत्रप्रति जनताको विश्वास बढ्दै गएको र यसले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकारात्मक भूमिका खेल्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार