मलेसियाबाट आएको विमान कलकत्ता डाइभर्ट, नेपालगञ्जबाट काठमाडौंका लागि उडेको जहाज पुग्यो भद्रपुर

  हल्कारान्यूज  27 पटक हेरिएको

काठमाडौँ । न्यूनतम ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने भए पनि नेपाल वायुसेवा निगमको मलेसियाबाट आउँदै गरेको जहाज सिमराबाट भारतको कोलकाता डाइभर्ट भएको छ।

शुक्रबार बिहान काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेको थियो।

यस्तो अवस्थामा निगमको विमान ११ सय मिटर भिजिविलिटी सम्ममा अवतरण गर्न सकिने ननप्रिसिजिन अप्रोच प्रणालीमा आधारित आरएनपी–एआर एप्रोच विधि अपनाएर अवतरण हुन सक्थ्यो। तर चालक दलले आरएनपी–एआर एप्रोच प्रणालीमा अवतरण गर्न नसक्ने बताउँदै डाइभर्ट गरेका छन्। आरएनपी–एआर एप्रोच प्रणाली किन गर्न सकेन कारण खुलाएका छैनन्।

‘आरएनपी–एआर अप्रोच गर्न सक्दैनौं भनेर पाइलटले जहाज कोलकत्ता डाइभर्ट गरे,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले भने।

काठमाडौंबाट बिहीबार राति १० बजे मलेसियाको राजधानी क्वालालमपुरका लागि उडेको निगमको विमानमा दुई सेट (चार जना) पाइलट थिए। तीमध्ये तीन जना आरएनपी–एआर प्रणाली सर्टिफाइड थिए।

काठमाडौं आउँदै गरेको विमान भद्रपुर पुग्यो

यसैबीच, नेपालगन्जबाट काठमाडौं आउँदै गरेको श्री एयरलायन्सको विमान भद्रपुर पुगेको छ। उक्त विमानलाई अवतरणका लागि न्यूनतम २२ सय मिटर भिजिविलिटी आवश्यक पर्छ। तर काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेकाले सिमराबाट भद्रपुरतर्फ डाइभर्ट भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार