भूकम्पले बाजुरामा ठूलो क्षति भएको अनुमान, एक जनाको मृत्यु भएको पुष्टि

  हल्कारान्यूज  109 पटक हेरिएको

बाजुरा, माघ १० । बाजुरामा केन्द्रबिन्दु भएर मङ्गलबार दिउँसो गएको भूकम्पमा परि एक जना महिलाको मृत्यु भएको छ।

गाउँ नजिकैको वनमा घाँस काटी रहेको बेला भूकम्पले जमिनै थर्किएपछि माथिबाट ढुङ्गा खसेर गौमुल गाउँपालिका– २ अन्दाजी ३५ वर्षकी जमुनामा रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले, बडिमालिका नगरपालिका वडा नं. ७ हरिचन्द्र उपाध्याय धनबहादुर विक ९ को हर्क गुरु र विरजिते चँदारा गरी चार जनाको घर पूर्ण रूपमा भत्किएको बताउनु भयो।

उहाँले यो सँगै बाजुराका अधिकांश नयाँ तथा पुराना घर छाना र बूढीनन्दा नगरपालिकाको भवन समेत चर्किएको जानकारी दिनुभयो। बाजुराका विभिन्न ठाउँमा भूकम्पले भौतिक रुपमा ठूलो क्षति गरेको र ४० भन्दा बढी भेडा बाख्रा पनि मरेको स्थानीयवासी बताएका छन्।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको थियो।

बाजुराका अधिकांश ठाउँमा भौतिक संरचनामा ठूलो क्षति भएको भन्ने कुरा आए पनि यकिन तथ्याङ्क आइसकेको छैन।

त्यसका लागि विभिन्न ठाउँमा प्रहरी टोली परिचालन गरिए पनि यकिन तथ्याङ्क प्राप्त भइनसकेको जानकारी जिल्ला प्रशासन कार्यालय बाजुरा बाजुराका पुष्कर खड्काले बताउनु भयो।

भूकम्पले बझाङ जिल्ला सदरमुकाम चैनपुरस्थित कृषी ज्ञान केन्द्रको पुरानो भवन, जिल्ला अस्पताल सिमखेतको पुरानो भवन, दौलिचौर प्रहरी चौकीको भवनमा पूर्ण क्षतिपुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार