राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ मा

  हल्कारान्यूज  97 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी तोकेका हुन्।

तत्कालीन राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दहालको कार्यावधि सकिएपछि उक्त पद १ वर्षदेखि रिक्त छ।

निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गर्नका लागि संघीय संसद्का‌ महासचिव भरतराज गौतमलाई निर्देशन दिएका छन्।

अध्यक्षको निर्देशनअनुसार महासचिव गौतमले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि माघ २२ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेका छन् भने माघ २३ गते ११ः५९ देखि निर्वाचन तोकेका छन्।

राष्ट्रिय सभाको शुक्रबारको बैठक ४ मिनेटमात्रै बसेको थियो। बैठकले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाएको छ। शिक्षामन्त्री शिशिर खनालले राखेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो।

राष्ट्रिय सभाको अध्यक्षले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनको मिति र समय तोक्नुपर्ने व्यवस्था छ। राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशिकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार