
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको पुष्टि भए पनि नेपाली नागरिकता लिन चासो नै नदेखाएको देखिएको छ।
सर्वोच्चको संवैधानिक इजलासले शुक्रबार दिएको आदेशमा रविले अमेरिकी नागरिकता त्यागेको स्पष्ट भए पनि नेपाली नागरिकता लिन उनले कुनै पहल नगरेको उल्लेख छ।
सर्वोच्चले रविले २०५० सालमै वंशजको आधारमा नेपालको नागरिकता लिएको देखिएको पनि उल्लेख गरेको छ। त्यही नागरिकता नै उनले मंसिर ४ को निर्वाचनका लागि निर्वाचन आयोगमा पेश गरेको खुलेको छ।
त्यस्तै आयोगमा दल दर्ताका लागि समेत उनले त्यही नागरिकता पेश गरेका थिए। तर उनले सन् २०१४ मै अमेरिकी नागरिकता लिएको पाइएको छ।
तर २०७५ असार १४ गते उनले अमेरिकी नागरिकता त्यागेको पनि सर्वोच्चले ठहर गरेको छ।
‘प्रत्यर्थी रवि लामिछानेले वंशजको आधारमा २०५० सालमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको देखिन्छ। निजले २०७० साल (सन् २०१४) मा अमेरिकी नागरिकता लिएको र तत्पश्चात २०७५ सालमा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिई मिति २०७५/३/१४ को जानकारीका आधारमा अमेरिकी नागरिकता त्यागेको कुरामा विवाद देखिएन,’ सर्वोच्चले भनेको छ, ‘निजले नेपाली नागरिकता पुनः कायम गर्न नेपाल नागरिकता ऐन, २०६३ को दफा ११ तथा नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिमको प्रकृया पूरा गरेको देखिँदैन। नेपालको संविधानको धारा १३ ले नागरिकताको प्राप्ति, पुनः प्राप्ति र समाप्ति संघीय कानुनबमोजिम हुने व्यवस्था गरेको छ।’
सर्वोच्चले नेपाल नागरिकता ऐन, २०६३ को दफा १० मा आफूखुसी विदेशी नागरिकता लिएमा अथवा एकैसाथ नेपाली र विदेशी मुलुकको नागरिक हुने अवस्थामा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने प्रष्ट व्यवस्था रहेको पनि जनाएको छ।
‘विदेशी मुलुकको नागरिकता लिएपछि नेपाली नागरिकता कायम रहँदैन। विदेशी मुलुकको नागरिकता आफूखुसी लिएको वा नेपाली नागरिकता त्यागेको दुवै अवस्थामा नेपाली नागरिकता कायम रहँदैन,’ सर्वोच्चले भनेको छ, ‘यस्तो अवस्थामा नेपाली नागरिकता पुनःप्राप्त गर्न कानूनले तोकेको प्रकृया पुरा गर्नु पर्ने हुन्छ। नेपाल नागरिकता ऐन, २०६३ को दफा ११ मा ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा नागरिकता प्राप्ति हुन्छ।’