म अनागरिक भएँ भन्दै मन्त्रालयबाट निस्केका रविले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

  हल्कारान्यूज  304 पटक हेरिएको

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका छन्।

लामिछानेका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने पुस ११ गते लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका थिए। शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको छ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको छ।

म अनागरिक भएँ भन्दै बाहिरिए मन्त्रालयबाट

यसैबीच सांसद पद खारेज भएपछि गृह मन्त्रालयबाट बाहिरिँदै रवि लामिछानेले यतिबेर आफू परिचय नभएको अनागरिक भएको बताएका छन्। उनले संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताए।

उनले अहिले आफू अनागरिक भएकोले कसलाई प्रश्न सोध्नु भएको भन्दै संचारकर्मीलाई प्रतिप्रश्न गरे। ‘अनागरिकलाई प्रश्न गर्नुभएको छ। थाहा छैन। एउटा अनागरिकले के गर्छ?’ उनले भने, ‘अदालतको फैसलालाई स्वागत गर्छु। म सभापति छैन, केही पनि होइन। यतिखेर म परिचय नभएको अनागरिक भएको छु।’

सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सांसद पद खारेज गरेको छ। लामिछानेको सांसद बन्न अयोग्य रहेको र नेपाली नागरिकता लिने प्रक्रिया नै पूरा नगरेको भन्ने फैसला गरेपछि उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार