यूएईलाई हराउँदै नेपाल यू १९ क्रिकेट विश्वकपमा छनोट

  हल्कारान्यूज  85 पटक हेरिएको

काठमाडौँ । नेपालले आईसीसी यू–१९ विश्वकपमा पुगेको छ। निर्णायक खेलमा नेपालले यूएईलाई बिहीबार ७ रनले पराजित गर्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा पुगेको हो।

१९२ रनको लक्ष्य पाएको यूएईलाई नेपालले ४८ ओभरमा १८४ रनमा अलआउट गर्‍यो। नेपालका दीपेश कँडेलले अन्तिम ३ विकेट लिँदै ह्याट्रिक पूरा गरी अविस्मरणीय रुपमा नेपाललाई खेलमा फर्काउँदै विश्वकपमा पुर्‍याएका हुन्।

६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली बन्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुगेको हो। नेपालले सबै पाँच खेल जित्यो भने यूएईले पाँचमध्ये ४ खेल जित्यो। नेपालले २०१६ यता आईसीसी यू–१९ विश्वकप खेलेको छैन।

नेपाललाई विजय दिलाउने क्रममा ह्याट्रिक हिरो दीपेश कँडेलले ५ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दै ३९ रन खर्चिएका थिए। ४८ औं ओभरको अन्तिम तीन बलमा उनले लगातार तीन विकेट लिएका थिए। हेमन्त धामीले र सुवास भण्डारीले २÷२ विकेट लिए।

यूएईबाट कार्ल डिसुजाले ५० रन बनाए। ६६ बल खेलेका उनले ८ चौका प्रहार गरे। आर्यान सक्सेना ३४‚ आर्यान्स शर्मा ३२‚ अमर बदामी १९ र ध्रुव पराशर १७ रनमा आउट भए।

यसअघि यूएईको अजमानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १ सय ९१ रन बनाएर अलआउट भएको थियो।

इडेन गार्डेन ओभल मैदानमा नेपालले निकै खराब सुरुआत गरेको थियो। हरिश शेट्टीले खेलको पहिलो बलमै दीपक बोहरालाई बोल्ड गरी नेपाललाई गतिलो झट्का दिए। अर्जुन कुमाल ३ र आकाश त्रिपाठी ९ रनमा आउट भएपछि नेपाल सातौं ओभरमा १९–३ को स्थितिमा पुगेको थियो।

कप्तान देव खनालको अर्धशतकले नेपालले खेलमा पुनरागमन गरेको थियो। उनले उत्तम थापा मगरसँग चौथो विकेटमा ८४ रनको साझेदारी गरे। देवले ५१ रन बनाउने क्रममा ८४ बल खेली ३ चौका र १ छक्का प्रहार गरे। उत्तमले ४८ बल खेली ३ चौका र १ छक्का प्रहार गरी ३६ रन बनाए।

विशालविक्रम केसीले मध्यक्रममा ३८ रन बनाएपछि नेपालले चुनौतीपूर्ण स्कोर बनाउन सक्यो। उनले ५० बल खेल्दै ५ चौका प्रहार गरे। मिलन बोहरा १० रनमा रनआउट भए। सुवास भण्डारीले २ रनमात्र बनाउन सके। हेमन्त धामीले १ चौका र १ छक्का प्रहार गर्दै १३ रन बनाए। दीपेश कँडेल आउट हुने अन्तिम खेलाडी थिए। उनले ३३ बल खेल्दै १५ रन बनाए।

ध्रुव परासरले यूएईबाट ३ विकेट लिए। प्रतियोगितामा उच्च विकेट लिने खेलाडी रहेका उनले ६.५ ओभरमा १ मेडन राख्दै १८ रन खर्चे। हरिश शेट्टी, र कप्तान आयान खानले २–२ विकेट लिए। आयानले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार