नेकपा केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन [पूर्णपाठ]

  हल्कारा नेपाल  231 पटक हेरिएको

प्रिय कमरेडहरू,
गत साल ३ जेष्ठ २०७५, अर्थात कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको स्मृति दिवसको अवसरमा पार्टी एकताको घोषणा गर्न केन्द्रीय समितिको पहिलो बैठक बसेको थियो । आज झण्डै २० महिना पछि हामी केन्द्रीय समितिको यो दोस्रो बैठकमा उपस्थित भएका छौं ।

प्रारम्भमा केन्द्रीय समितिको यो बैठक जनयुद्ध र विभिन्न जन-आन्दोलनहरुका सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । बेपत्ता र घाइते योद्धाहरुप्रति हार्दिक सम्मान प्रकट गर्दछ । सम्पूर्ण सहिद, बेपत्ता र घाइते योद्धाका परिवारजन प्रति सम्मानका साथ ऐक्यवद्धता जाहेर गर्दछ ।

पार्टी एकताको प्रक्रियालाई पूर्णता दिने, संविधान कार्यान्वयन प्रक्रियालाई अगाडि बढाउने तथा जनताको सुशासन र विकासको आकांक्षालाई सम्बोधन गर्ने गहन र चुनौतिपूर्ण जिम्मेवारी हाम्रो काँधमा छ । यी ऐतिहासिक जिम्मेवारी पुरा गर्ने सन्दर्भमा केन्द्रीय कमिटिको बैठक केही ढिलो हुन गएको छ । त्यो ढिलाईका पछाडि एकता प्रक्रिया, संविधान कार्यान्वयन र सरकारी कामका केही विशिष्टता र जटिलता अवश्य रहेका छन् तथापि, यस प्रकारका ढिलाईको मुख्य जिम्मेवारी पार्टीको मूल नेतृत्वले लिनु पर्दछ, किनकी केन्द्रीय समितिको पहिलो बैठकमा नेतृत्वका तर्फबाट पार्टी एकता प्रक्रियालाई तीन महिनामा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो । तर ढिलै भए पनि अन्ततः पार्टी एकता प्रक्रियालाई मूलभूत रुपमा पुरा गरी हामी केन्द्रीय कमिटिको यो दोस्रो पूर्ण बैठकमा आइपुगेका छौं जुन, सिंगो पार्टी पंक्तिका लागि खुसी र सन्तोषको बिषय हो । आगामि दिनमा केन्द्रीय कमिटिको बैठकलाई विधानको व्यवस्था एवम् आन्दोलनको आवश्यकता अनुसार नियमित गर्ने र विगतका कमीहरुप्रति आत्मालोचित हुँदै तिनबाट शिक्षा लिने र प्रतिवद्धता सहित यो बैठकलाई अगाडि बढाउन आवश्यक छ ।

सामान्यतः नेपालको राजनीतिक आन्दोलन एवम् विशेषतः नेपालको कम्युनिष्ट आन्दोलनमा दूरगामी प्रभाव पार्ने असाधारण पहलकदमीका रुपमा हाम्रो पार्टी एकता प्रक्रिया अगाडि बढिरहेको छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा देशलाई राजनीतिक स्थायित्व प्रदान गर्न, देशको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्न तथा भौगोलिक अखण्डताको रक्षा गर्न, सामाजिक न्यायसहित विकास र समृद्धिको नयाँ युग तिर समाजलाई अघि बढाउन, सार्वभौम समानता र पारस्परिक हित सहित पञ्चशीलका सैद्धान्तिक आधारमा अन्तराष्ट्रिय सम्बन्ध विकास गर्न पार्टी एकताको ऐतिहासिक भूमिका रहेको छ ।

लोकतान्त्रिक मूल्य, मान्यताका आधारमा शान्तिपूर्ण प्रतिश्पर्धा मार्फत लोकप्रिय मत प्राप्त गरी झण्डै दुई तिहाईको नेतृत्व गर्ने स्तरमा कम्युनिष्ट पार्टीलाई पुर्याउन पार्टी एकताले निर्णायक भूमिका खेलेको ऐतिहासिक तथ्यलाई दह्रोसँग आत्मसाथ गर्दै सिंगो पार्टी पंक्ति र जनसमुदायलाई यो तथ्यद्वारा निरन्तर प्रशिक्षित गरिरहनुपर्दछ ।

शान्तिपूर्ण र बहुदलीय प्रतिष्पर्धा मार्फत संविधानसम्मत वैधानिक र लोकतान्त्रिक तरिकाले सामाजिक न्याय सहित राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादको आधार तयार पार्ने विषयमा रहेको आधारभूत वैचारिक समानता एवम् पार्टी नेतृत्वको समुचित निर्णय र भूमिका सहित यो ऐतिहासिक एकता सम्भव भएको हो । एकताको यो ऐतिहासिक पहल र निर्णयलाई सिंगो पार्टी पंक्तिले उत्साहका साथ आत्मसाथ गरेको तथा आम जनसमुदायले समेत निर्वाचन मार्फत अनुमोदन गरेको तथ्यले एकताको आवश्यकता र निर्णयको सहिपनालाई प्रमाणित गरेको छ । एउटा सजिव पार्टीमा चल्ने बहस र आन्तरिक वाद–विवादको प्रक्रियाले पार्टी एकताले खेलेको उपरोक्त ऐतिहासिक भूमिकाको अवमूल्यन हुन नपाओस् भन्ने कुरामा प्रत्येक पार्टी सदस्य हरदम सचेत जागरुक रहन जरुरी छ । देश भित्र र बाहिरका प्रतिक्रियावादी तत्वहरूलाई यो पार्टी एकता असैह्य भएको तथा यसलाई कमजोर पार्न र तोड्न अनेक षडयन्त्र भइरहेको वर्तमान सन्दर्भमा पार्टी भित्रका प्रत्येक वाद–विवाद र बहसलाई पार्टी एकता सदृढ गर्ने मूल उद्देश्यसँग जोडेर अगाडि बढाउने कुरामा विशेष ध्यान दिन जरुरी छ ।

पार्टी एकतालाई सदृढ गर्ने तथा पार्टी र सरकारका कामहरूलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने कुरा, आफ्ना कामका सकारात्मक र नकारात्मक पक्षहरूको वस्तुवादी समिक्षा गर्ने प्रश्नसँग जोडिएको हुन्छ । सकारात्मक कामहरूको सकारात्मक रुपमै जनसमुदायमा प्रचार र स्थापित गर्ने तथा नकारात्मक एवम् कमिकमजोरीका पक्षलाई खुलस्तरुपमा स्वीकार गर्ने, तिनबाट शिक्षा लिने र सच्च्याउने तथ्यमा नै कम्युनिष्ट पार्टीको अपराजयेता एवम् निरन्तर औचित्य पुष्टीको रहस्य लुकेको हुन्छ । हामीले केन्द्रीय कमिटिको यो बैठक एवम् पार्टीका सबै स्तरका कमिटिहरूको बैठकका सन्दर्भमा यो स्पिरिटलाई दह्रोसँग समात्नु पर्दछ । केन्द्रीय कमिटिको यो बैठक प्रति स्वाभाविक रुपमा देश भित्र र बाहिरका सबै खाले शक्तिहरुको चासो छ । हामीले स्वस्थ र रचनात्मक छलफल सहित पार्टी एकतालाई अझ सदृढ गर्दै बैठकलाई पूर्ण रुपले सफल पार्ने कुरामा ध्यान केन्द्रित गर्नु पर्दछ ।

१. अन्तर्राष्ट्रिय परिस्थितिका संकेत र हाम्रो दायित्व

अन्तर्राष्ट्रिय परिस्थिति अनेकौं परिवर्तन, प्रतिस्पर्धा, द्वन्द्व र समीकरणको प्रक्रियाबाट गुज्रिरहेको छ । यस प्रक्रियामा शक्ति राष्ट्रहरुका पारस्परिक सम्बन्धमा उत्पन्न सामरिक र आर्थिक प्रतिस्पर्धाले विश्वलाई नै असर पारिरहेको छ । प्रभुत्व र प्रभाव विस्तारको होडबाजीले परमाणविक सशास्त्रको विस्तारलाई नयाँ रुपमा बढाइरहेको छ । त्यस्तै प्रतिस्पर्धाको कारण आर्थिक सामरिक रुपमा विश्व बहुधु्रबीय दिशातर्फ अग्रसर हुने क्रम जारी नै छ । यही क्रममा केही समय अघि जन्मेका क्षेत्रीय संगठनहरुले क्रमशः आफ्नो प्रभाव देखाउँदै गइरहेका छन् । शीत युद्धको समाप्ती भइसके पछि पनि पश्चिमा राष्ट्रहरुको सैनिक गठबन्धन कायम रहेको मात्र होइन यसलाई नयाँ साझेदारीको धारणाबाट शक्तिशाली बनाउने अभ्यास जारी छ ।

एशियाको कोरियाली प्रायद्वीप, हिन्द प्रशान्त क्षेत्र प्रतिस्पर्धा र तनावको केन्द्र बनिरहेकै छ । पश्चिम एशियाका कतिपय देशहरुमा युद्ध र अशान्ति जारी छ र त्यसले कतै ठूलो रुप लिने हो कि भन्ने त्रास बढिरहेको छ । ल्याटिन अमेरिका र अफ्रिकी महादेशमा द्वन्द्व र संघर्षका नयाँ–नयाँ रुप तथा वाह्य शक्तिको हस्तक्षेप तथा दवावका अनेकौं नौला गतिविधि देखिएका छन् । विश्व एकाधिकार पूँजीवाद आज वित्तिय एकाधिकार पूँजीवादको भूमण्डलीकरणका रुपमा प्रकट भएको तथ्य स्पष्ट नै छ । सिमिति पूँजीपतिहरूका हातमा असिमित वित्तिय पूँजीको केन्द्रीकरण नै वित्तिय पूँजीवादको मुख्य विशेषता हो । वस्तु निर्यातको स्थानमा पूँजी निर्यातद्वारा नवऔपनिवेशिक शोषण–उत्पीडिनलाई तीब्रता दिनु, नव–उदारवादको वैचारिक हमलाद्वारा चरम व्यक्तिवाद र उपभोक्तावादलाई बढाउनु, विश्वलाई मुख्यतः तेस्रो विश्वका देशहरूलाई कृषि र औद्योगिक उत्पादनबाट विस्थापित गरी बलिया बहुराष्ट्रिय निगमका बजारमा परिणत गर्नु, तेस्रो विश्वका देशहरूको युवा श्रमशक्तिलाई सस्तोमा खरिद गरेर ती देशहरूलाई विप्रेषणमा बाँच्न बाध्य पार्नु, जनताहरूमा जातीय, क्षेत्रीय र धार्मिक साम्प्रदायिक विद्वेष र द्वन्द्व सिर्जना गरी राष्ट्रिय एकता र स्वाधिनतालाई समाप्त पार्ने षडयन्त्र आदिका रुपमा वित्तिय एकताधिकार पूँजीवाद देखापरिरहेको छ । विज्ञान–प्रविधि मुख्यतः सूचना–प्रविधिमा भएको अभूतपूर्व विकासलाई उपयोग गर्दै विश्व जनमत र विश्व सम्पदामाथि नियन्त्रण गरी आफ्नो भूमण्डलीकृत साम्राज्यवादी विश्व व्यवस्था बचाउने नयाँनयाँ रुप रंगका कसरतहरु अगाडि आइरहेका छन् ।

आज वित्तिय एकताधिकार पूँजीवाद र नव–उदारवादका पक्षधर हरूले मुख्यतः पश्चिमका शक्ति राष्ट्रहरूले आयातमा कडा भन्सार नीति लागू गरेर संकीर्ण राष्ट्रिय अहंकारवादको पक्षपोषण सहित दक्षिणपन्थी अतिवादलाई प्रश्रय दिईरहेका छन् । पूँजीवादको उपरोक्त विशेषतासहितको शोषण उत्पीडनका विरुद्ध नयाँ शीराबाट राष्ट्रिय मुक्ति र समाजवादी आन्दोलन पनि अगाडि बढ्दै गएका छन्। आफ्नै आनुवांशिक चरित्रका कारण वित्तिय एकाधिकार पूँजीवाद मन्दी र संकटको असमाद्येय अन्तरविरोधमा भने जेलिइरहेको छ । घटनाक्रमले आज पनि एकाधिकार पूँजीवादको भूमण्डलीकृत नव–औपनिवेशिक शोषण–उत्पीडनका विरुद्ध उत्पीडित राष्ट्रका जनताको अन्तरविरोध तीब्र रुपमा प्रकट भइ नै रहेको छ । यति नै बेला चीन लगायतका देशहरूले भने अर्थतन्त्रको क्षेत्रमा ठूल्ठूला उपलब्धीहरू हासिल गरिरहेका छन् । विश्वको दोस्रो आर्थिक शक्तिबाट पहिलो बन्न अग्रसर चीनियाँ अर्थतन्त्र एवम् आर्थिक विकासमा तीब्रता लिईरहेको भारतीय अर्थतन्त्र सहितको विकासले अबको विश्व शक्तिको केन्द्र एसिया बन्ने सम्भावना टड्कारो रुपमा देखा परेको छ । चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ, एसियाली पूर्वाधार विकास बैंक, चीन, रुस, ब्राजिल, दक्षिण अफ्रिका र भारतका बीचको ब्रिक्स् आदिले त्यसका निम्ति गरिएका सचेत पहललाई दर्साउँछन् ।

आज चीनले अघि सारेको BRI ले विश्वव्यापीरुपमा रुपमा आफ्नो (Conectivity) र आर्थिक सहयोगको क्षेत्र विस्तार गर्ने एउटा बृहद् साझेदारीको रणनीतिको रुपमा काम गरिरहेको छ । नेपालले पनि BRI मा हस्ताक्षर गरेर आफूलाई त्यो सम्बन्ध र सहयोग विस्तारको साझेदार बनाएको छ ।

उता संयुक्त राज्य अमेरिकाले आफ्नो अति महाशक्तिको स्थिति कायम राख्न र विश्वमा आफ्नो एकछत्र प्रभुत्व बनाइराख्न नयाँ नयाँ रणनीतिको विकास गरिरहेको छ । यसै सन्दर्भमा हिन्द महासागर वरिपरिका क्षेत्रहरुमा आफ्नो प्रभाव विस्तार गर्ने, प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रुपमा Indo-Pacific Strategy अगाडि बढाइरहेको छ ।

यस सन्दर्भमा हाम्रो पार्टी र सरकारले आफू कुनै पनि वाह्य सैन्य गठबन्धन र सैन्य रणनीतिको हिस्सा कहिल्यै नभएको र हुन पनि नसक्ने कुरा स्पष्ट गरेको छ । यदी सैन्य रणनीतिकै रुपमा अन्य कुनै पनि आर्थिक र राजनैतिक सहयोगको कुरा अगाडि आएमा नेपालले त्यसप्रकारका कुनै पनि सहयोगको प्रस्ताव मञ्जुर गर्न सक्तैन ।

तर नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राखी संयुक्त राज्य अमेरिका लगायत संसारका सबै देशहरुसँग पारस्परिक हितका आधारमा आर्थिक सहयोग र विकास कार्यमा साझेदारी गर्न नेपाल सधैं तत्पर रहेको छ ।

चीन र भारतका बीचमा हुनुको नाताले देशको समग्र राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर दुबैसँग असल छिमेकी सम्बन्ध कायम राख्दै स्वतन्त्र एवम् आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासका निमित्त सकारात्मक पहल बढाउनु, दुबै छिमेकीको तीब्र आर्थिक विकासबाट लाभ लिने आर्थिक कुटनीतिमा अगाडि बढ्नु र मूख्य रुपमा देशको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न अगाडि बढ्नु नै आजको आवश्यकता हो । हामी बिना कुनै वाह्य हस्तक्षेप प्रत्येक साना ठूला राष्ट्रहरूको आफ्नो भाग्यको आफैं फैसला गर्ने आत्मनिर्णयको अधिकारको सम्मान गर्दछौं । हामी असंलग्न विदेश नीतिका आधारमा सबैसँग मित्रता कायम गरी आफ्नो राष्ट्रको स्वतन्त्रताको रक्षा एवम् जनताको आर्थिक समृद्धिको चाहना पुरा गर्न चाहन्छौं । त्यसका निमित्त संसारभरिका लोकतान्त्रिक, वामपन्थी, प्रगतिशील एवम् कम्युनिष्ट शक्तिहरुसँग मिलेर काम गर्न हामी हमेशा तयार छौं ।

अन्तराष्ट्रिय परिस्थितिका उपरोक्त संकेतहरूले हाम्रा अगाडि रहेका अवसर र चुनौतिहरूलाई देखाएका छन् । राष्ट्रिय एकता एवम् परिपक्व राजनैतिक र कुटनैतिक पहलका आधारमा चुनौतिको समाना गर्नु र अवसर हरूको सदुपयोग गर्नु हाम्रो राष्ट्रिय जिम्मेवारी हो ।

२. राष्ट्रिय राजनीतिक परिस्थितिका सम्वन्धमा

शान्ति सम्झौताका अत्यन्त जटिल र सम्ेवदनशील कार्य, ‘सेना समायोजन र हतियार व्यवस्थापन’ लगायत आधारभूत कामहरू सफलतापूर्वक सम्पन्न हुनु संविधान–सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण हुनु स्थानीय, प्रादेशीक र संघीय निर्वाचन सम्पन्न भई तीनै तहमा अत्यधिक बहुमत प्राप्त सरकारहरूको गठन हुनु तथा नयाँ सरकारबाट “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा अघि सार्नु आदि नै आज देशको राष्ट्रिय राजनीतिका दूरगामी प्रभाव पार्ने बिशेषताहरू हुन् । सामन्ती निरंकुशताका विरुद्ध लामो राजनैतिक संघर्ष र बलिदान पश्चात इतिहासमा पहिलो पटक नेपाली जनता साँचो अर्थमा सार्वभौम बन्न पुगेका छन् । राजनैतिक अस्थिरता र अराजकताको दुश्चक्रबाट बाहिर निक्लेर राजनीतिक स्थायित्व सहित समृद्धिको नयाँ यात्रा तिर नेपाली समाज अगाडि बढ्दैछ । कम्युनिष्ट पार्टीको नेतृत्वमा सामाजिक न्याय सहित सार्वजनिक निजी र सहकारी क्षेत्रको सहकार्यमा तीब्र आर्थिक वृद्धि हासिल गर्दै संविधानले दिशानिर्देश गरे अनुसार समाजवादको आधार तयार पार्ने ऐतिहासिक अवसर प्राप्त भएको छ ।

तर, यो अवसर सहज र चुनौति रहित भने अवश्य छैन । लामो समयसम्म अस्थिरता र अराजकताबाट अनुचित लाभ उठाइरहेका सामन्ती निरंकुशतावादी र प्रतिक्रियावादी दलाल तत्वहरू आज पनि अन्यौल र अस्थिरता सिर्जना गर्न “कसरत” गरिनैरहेका छन् । देश भित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरूले कम्युनिष्ट पार्टी माथि अधिनायकवादीको झुठो आरोप लगाई जनतामा भ्रम छर्ने प्रयास जारी नै राखेका छन् । निरंकुश राजतन्त्रका पक्षपोषकहरू, परिवर्तन बिरोधी यथास्थितिवादी शक्तिहरू विभिन्न रुप र रंगका साम्प्रदायिक एवम् अतिवादी तत्वहरूलाई, कम्युनिष्ट पार्टीको नेतृत्वमा देश स्थिरता र समृद्धिको दिशामा अगाडि बढ्न लागेको कुरा बिल्कुल पचेको छैन । अतः यस्ता तत्वहरू आफ्नो वर्ग चरित्र अनुसार अँध्यारो कोठाहरूमा बसेर प्रतिक्रान्तिको तानाबाना बुन्न छाडेका छैनन् । उनीहरूका भ्रम र षडयन्त्रलाई सम्पूर्ण रुपले निस्तेज पार्न परिवर्तनका पक्षधर वैधानिक शक्तिहरू सजगता पूर्वक एकतावद्ध भएर अगाडि बढ्न जरुरी छ । हामीले इतिहासको यो शिक्षालाई दह्रोसँग पक्डनु पर्दछ कि प्रत्येक क्रान्ति पछि पराजित वर्गले बर्षौंसम्म प्रतिक्रान्तिको प्रयास गरिनैरहन्छन् । तिनलाई अन्तिम रुपले परास्त गर्न परिवर्तनकारी शक्तिहरूले आफ्नो एकता, सजगता, सक्रियता र समर्पण झन् बढाएर लानु पर्ने हुन्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधार होइन अपितु गुणात्मक परिर्वतनको प्रतिनिधित्व गर्दछ । वैचारिक र राजनैतिक दृष्टिले मात्र होईन संघीय लोकतान्त्रिक गणतन्त्रले राज्य प्रणाली र संरचनाका दृष्टिले समेत पुरानो राजतन्त्रात्मक प्रणालीसँग गुणात्मक र निर्णायक रुपले सम्वन्ध बिच्छेद गरेको छ । यो नयाँ राजनीतिक प्रणालीले देशका सम्पूर्ण उत्पीडित समुदाय आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, थारु लगायतका समुदायलाई अधिकार सहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ । एउटा नितान्त नयाँ राजनैतिक प्रणालीको अभ्यासको प्रारम्भमा केही जटिलता र चुनौतिहरू अवश्य रहने गर्दछन् ।

यस ऐतिहासिक सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सम्पूर्ण देशभक्त एवम् लोकतान्त्रिक शक्तिहरू एकतावद्ध भई जन–अपेक्षा अनुसार सुशासन, विकास र जन–सेवामा समर्पित भई प्रतिक्रियावादी शक्तिहरूका षडयन्त्रहरूलाई परास्त गर्नु आजको राष्ट्रिय राजनीतिको आवश्यकता हो ।

प्रतिक्रियावादीहरूका तमाम आरोपहरूको खण्डन हाम्रो पार्टीले आफूलाई सर्वाधिक लोकतान्त्रिक, शान्ति, स्थिरता र विकासको पक्षधर सावित गरेर, कुराले मात्र नभई व्यवहारद्वारा नै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न नदिने शक्तिका रुपमा स्थापित गरेर मात्र गर्न सकिन्छ । इतिहासका तमाम उतार–चढावबाट गुज्रिएर परिपक्व भएको हाम्रो पार्टीले अब आफूलाई लोकतान्त्रिक प्रणालीबाट आर्थिक–सामाजिक रुपान्तरणको अगुवा सावित गर्नु पर्दछ ।

राजनैतिक स्थिरतालाई दिगो बनाउन पार्टीले शान्ति प्रक्रियाका बाँकी कामहरू (मुख्यतः सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानिबिन आयोग सम्बन्धी काम) पुरा गर्न विशेष जोड दिनु पर्दछ । शान्ति प्रक्रिया आफैं एउटा ऐतिहासिक राजनैतिक प्रक्रिया हो । विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार शान्ति प्रक्रियाका सम्पूर्ण बाँकी काम पुरा गरी आर्थिक र सामाजिक रुपान्तरणको कार्यमा राष्ट्रको शक्ति केन्द्रित गर्नु आजको आवश्यकता हो ।

राजनैतिक रुपले आज देश सामन्तवादको निरंकुशतन्त्रबाट मुक्त भएर संघीय लोकतान्त्रिक गाणतन्त्र मार्फत राष्ट्रिय पूँजीको विकास गर्दै सामाजिक न्यायसहित समाजवादका आधार तयार पार्ने नयाँ युगतिर अग्रसर भएपनि आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा एकातिर सामन्तवादको अवशेषका विरुद्ध जुध्नु पर्ने तथा अर्को तिर मुख्य रुपमा वैदेशिक एकाधिकार पूँजीवादको स्वार्थमा चल्ने दलाल, नोकशाही पूँजीवादका विरुद्ध निर्मम र कठोर संघर्षबाट गुज्रिनुपर्नेछ ।

हाम्रो राजनैतिक प्रतिवेदनले यस सन्दर्भमा गरेको निम्न निश्कर्षलाई सिंगो पार्टीले गम्भीरतापूर्वक आत्मसात गर्नुपर्दछ ।

“दलाल नोकरशाही पूँजीवाद हाम्रो समाजमा राष्ट्रिय पूँजीको विकासका लागि मुख्य अवरोधका रुपमा रहेको छ । यसले उत्पादनशील लगानी र पुनर्उत्पादनको प्रक्रियालाई प्रोत्साहित गर्दैन, उल्टै कमजोर बनाउँदछ । प्रगतिशीत उत्पादक शक्तिको विकास, उत्पादन वृद्धि, आर्थिक विकास र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माणलाई यसले अवरुद्ध पारिरहेको छ । त्यसका अतिरिक्त बिना लगानी र श्रम ठूलो मात्राको आम्दानी गर्ने यसै वर्गको प्रभावका कारण समाजमा उपभोक्तावाद चरमरुपमा प्रोत्साहित भएको छ । उद्योगधन्दा, कलकारखानामा लगानीद्वारा गरिने पूँजी निर्माणको प्रक्रिया भन्दा बाहिरबाट नै ठूलो आम्दानी गर्ने यो वर्गले उत्पादनशील क्षेत्रमा लगानी गर्नुको सट्टा विलासितामा खर्च गर्दछ । त्यसले गर्दा पुरै समाजमा उपभोक्तवादी संस्कृति बढ्दै गइरहेको छ । विप्रेषणबाट प्राप्त रकमको ठूलो हिस्सा अनावश्यक रुपमा यस्तैमा खर्च भइराखेको छ । आधारभूत आवश्यकताका विषयमा खर्च गर्न धौ–धौ पर्ने परिवारले पनि ऋण खोजेर वा अचल सम्पत्ति बेचर ‘सामाजिक हैसियत’ कायम राख्ने नाममा अनावश्यक रुपमा खर्च गरिरहेका छन् । यो प्रक्रियाले समाजको आर्थिक विकासलाई नकारात्मक असर गरेको छ ।

उपरोक्त तथ्यहरुबाट नेपाली समाजको सामाजिक–आर्थिक संरचनाको मूल चरित्र स्पष्ट हुन्छ । नेपाली समाज मूलतः पूँजीवादी समाजमा रुपान्तरित भएको छ । नेपाली जनवादी क्रान्ति आधाभूत रुपले सम्पन्न भएको छ । तर, नेपालमा राष्ट्रिय पूँजीको विकास कमजोर अवस्थामा छ । सामन्तवादका अवशेषहरु पनि अझै केही बाँकी छन् र विभिन्न रुप र मात्रामा नवऔपनिवेशिक शोषण–उत्पीडन कायमै छ । यसलाई अन्त्य गरेर राष्ट्रिय औद्योगिक पूँजीको विकास गर्नु अत्यावश्यक छ ।

नेपाल गौरवशाली सभ्यता, इतिहास र संस्कृति भएको संसारकै पुरानो मध्ये एक र सधैंभरि स्वतन्त्र अस्तित्वमा रहेको राष्ट्र हो । हजारौं वर्ष अगाडिदेखि नेपालले मानव सभ्यता र विश्व शान्तिका सन्दर्भमा योगदान गर्दै आएको छ र बहुलता, विविधता, सांस्कृतिक सहचार्य र सामाजिक सद्भावको विशिष्ट पहिचान कायम राख्दै आएको छ । विश्वमा उपनिवेशवादको बिगबिगी भएको बेला पनि वाह्य साम्राज्यवादी आक्रमणबाट देशको स्वतन्त्र अस्थित्व कायम राख्न सफल हाम्रो इतिहासप्रति हामीलाई गर्व छ ।

तर इतिहासमा सधैं स्वतन्त्र रहँदै आएको नेपालले सुगौली सन्धी पश्चात भने राजनीतिक, आर्थिक र सांस्कृतिक हस्तक्षेपसँग सामना गर्नु परेको छ । विभिन्न असमान सन्धीहरु, आर्थिक परनिर्भरता, सांस्कृतिक अतिक्रमण र नेपालले आफ्ना आन्तरिक विषयहरुको स्वतन्त्र ढंगले समाधान गर्ने क्रममा बेला बेलामा प्रकट हुने वाह्य हस्तक्षेपसँग हामीले निरन्तर प्रतिरोध गरिरहेका छौं। संविधान निर्माण र त्यसपछिका घटनाक्रममा राष्ट्रिय स्वाधिनता र स्वाभिमानका विषयमा नेपाली जनतामा अभूतपूर्व जागरण, सजगता र एकता प्रकट भएको छ, जुन हाम्रो राष्ट्रियताको सुदृढीकरणका लागि निकै मूल्यवान आधार हो । सबै वर्ग, क्षेत्र र समुदायका जनताको एकतालाई अझ बलियो बनाउँदै हामीले हाम्रो राष्ट्रियतालाई सुदृढ गर्नुपर्दछ र सबै खाले नवऔपनिवेशिक शोषण–उत्पीडनलाई समाप्त पार्दै स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको विकास तथा आर्थिक आत्मनिर्भरता हासिल गर्नुपर्दछ ।”

हाल सालै भारत सरकारले प्रकाशित गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र, लिपु लेक र सिमा नदी महाकालीको मुहान लिम्पियाधुरालाई समेत आफ्नो भू–भागमा राखेको कुरामा नेपालका सबै राजनीतिक दल, नेपाल सरकार, बौद्धिक र विज्ञ समुदाय र सिंगो नेपाली समाजलाई असैह्य भएको तथ्य प्रकट भइनैसकेको छ । हाम्रो पार्टी, सरकार र आम नेपाली जनताले तत्काल राजनैतिक र कुटनैतिक सम्वाद मार्फत भारत सरकारसँग नक्सा सच्याउन, नेपाली भूमीबाट भारतीय सेना हटाउन नेपालको भूमि फिर्ता लिन पहल सुरु गरिसकेको छ । हाम्रो पार्टी र सरकारले सुगौली सन्धी अनुसार लिम्पियाधुरा मुहान भएको महाकाली नदी पूर्व नेपाल र पश्चिम भारत रहेको तथ्य स्पष्ट गरिसकेको छ ।

आज नेपाली समाजको राजनैतिक र सामाजिक रुपान्तरणको क्षेत्रमा भूमिका खेल्ने राजनैतिक दलहरुमा हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै आम देशभक्त र श्रमजीवि नेपाली जनताको आशा र भरोषाको केन्द्र हो । नेपाली काँग्रेस मूलतः पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी भए पनि आफ्नो ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृतिका कारण यसले आर्थिक, सामाजिक रुपान्तरणको प्रतिनिधित्व गर्न सक्दैन ।

तथापी संविधान कार्यान्वयन र लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडि बढाउन नेपाली काँग्रेसँग आवश्यकता अनुसार सहकार्य गर्नुपर्दछ तर त्यसो गर्दा उसको प्रतिक्रियावादी चरित्रको आलोचना र भण्डाफोर गर्ने कुरालाई बिर्सनुहुँदैन ।

त्यस्तै देशमा रहेका साना क्षेत्रीय पार्टी र साना वामपन्थी पार्टीहरुसँग आलोचना, सहकार्यको र एकताको नीति अनुसार उनीहरुलाई आर्थिक–सामाजिक रुपान्तरणको कार्यमा सहभागी गराउन जोड लगाउनु पर्दछ ।

३. पार्टी एकता सदृढ गर्ने सम्वन्धमा

पार्टी एकताको ऐतिहासिक महत्व र देशको राजनैतिक विकासमा एकताले खेलेको असाधारण भूमिका बारे माथि नै चर्चा गरिसकिएको छ । तर, पार्टी एकता प्रक्रियालाई पूर्णता दिन भएको ढिलाई, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कूलिङको अभावका कारण आज पार्टी ंसंगठन कमजोर अवस्थामा रहेका छन् । पार्टी संस्थागत छैन । बरु विभिन्न प्रकारका गुटहरू सक्रिय रहेका छन् । पार्टी भित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू कायम छन् । पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ । पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने हो कि भन्ने खतरा दिनप्रतिदिन बढ्दै गएको छ । आलोचना, आत्मालोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन गल्ति गर्नेलाई दुरुत्साहन गर्ने जस्ता सजिव र गतिशील कम्युनिष्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालनाको स्तर निकै कमजोर अवस्थामा छ ।

उपरोक्त स्थितिमा सुधार ल्याउन बिचार र विधिमा स्पष्टता सहित दृढ इच्छाशक्ति र सङ्कल्पका साथ अगाडि बढ्नुको विकल्प छैन । विद्यमान स्थितिलाई सुधार गरी पार्टी एकतालाई सुदृढ गर्नु निम्न कुरहरूमा विशेष ध्यान दिनै पर्दछ ।

क) पार्टीको मार्ग दर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवादको दर्शन, राजनीतिक अर्थशास्त्र एवम् वैज्ञानिक समाजवादका बारेमा व्यवस्थित र योजनावद्ध स्कूलिङ सञ्चालन गर्ने कामलाई पार्टीको आधारभूत कामका रुपमा अगाडि बढाउनु पर्छ । माक्र्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तबारे आधारभूत र उपल्लो स्तरसम्मको ज्ञानका लागि आवश्यक परिक्षा प्रणाली समेत अपनाउनु जरुरी छ ।

ख) पार्टीको राजनैतिक प्रतिवेदन र विधान बारे सिंगो पार्टी पंक्तिमा व्यवस्थित प्रशिक्षण सञ्चालन गरी बुझाईमा एकरुपता ल्याउन जरुरी छ । आज हाम्रो पार्टीको रणनैतिक लक्ष्य र आधारभूत कार्यक्रम समाजवाद हो तथा तात्कालिन ठोस कार्यक्रम समाजवाद उन्मूख ‘जनताको जनवाद’ हो भन्ने कुरा स्पष्ट गरिनु पर्दछ ।

ग) पार्टी इतिहासमा कमरेड मदन भण्डारी र जवसको योगदान तथा माओवादी जनयुद्ध र एक्काइसौं शताब्दीको जनवादको योगदान बारे राजनैतिक प्रतिवेदनमा गरिएको विश्लेषण र सश्लेषणलाई व्यवस्थित रुपले पार्टीमा स्थापित गरिनुपर्दछ । नयाँ राजनीति सन्दर्भमा विचारको विकास र परिमार्जनको लागि सिर्जनात्मक अध्ययनमा जो दिनुपर्दछ ।

घ) पार्टी मुखपत्र एवम् अन्य वैचारिक र राजनीतिक प्रकाशनलाई नियमित र योजनावद्ध रुपमा प्रकाशन गर्ने, वितरण गर्ने तथा सिंगो पार्टी पंक्तिलाई तिनको अध्ययन र छलफलमा सरिक गराउन योजना बनाएर कार्यान्वयनमा जानुपर्छ ।

ङ) शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक बाटोबाट सामाजिक न्यायसहित आर्थिक विकासलाई गति दिनु र समाजवादको आधार तयार पार्नु तथा दलाल–नोकरशाही पूँजीवादी, शोषण– उत्पीडनको अन्त्य गर्दै स्वाधीन राष्ट्रिय अर्थतन्त्रको विकास गर्नु पार्टीको तत्कालिन कार्यक्रम भएको तथ्य स्पष्ट गरिनुपर्दछ ।

च) पार्टीको संगठनात्मक सिद्धान्त जनवादी–केन्द्रीयता रहेको कुरा स्पष्ट गर्दै पार्टी संगठनलाई व्यवस्थित र अनुशासित तुल्याउन सदस्यता नविकरण गर्नु, कमिटिहरूको नियमित बैठक सञ्चालन गर्नु, नियमित रिपोर्टिङ र निर्देशन प्रणाली लागू गर्नु, प्रत्येक कमिटिको कम्तिमा कार्यालय तहबाट आलोचना र आत्मालोचनाको प्रक्रिया सुरु गर्नु, निर्णय प्रक्रिया विधि संगत, सामुहिक र संस्थागत बनाउन विशेष जोड गर्नु आवश्यक छ ।

छ) सबै पार्टी कमिटि, विभाग, मोर्चा र संयन्त्रहरूले कम्तिमा तीन महिनाको कार्य योजना तयार पारी कार्यन्वयनमा जाने । कार्यन्वयन प्रक्रियाको समिक्षा गरी सामुहिक निष्कर्षसहित पुनः नयाँ योजना निर्माणको प्रक्रियामा अगाडि बढ्नु पर्दछ ।

ज) पार्टी र सरकारका विरुद्ध जनतामा भ्रम छर्ने गरी पार्टी अनुशासन र पद्दति विपरित बोल्ने, लेख्ने पार्टी नीति विपरित भेला, बैठक गर्ने काम बन्द गर्नु पर्दछ । पार्टीलाई विधि र अनुशासनमा चल्ने शक्तिका रुपमा विकास गर्न आवश्यक छ । अनुशासनहीन काम गर्नेहरूलाई कारवाहीको दायरामा ल्याउनु पर्दछ ।

 ४. सरकारका कामहरूको सामान्य समीक्षा

हामीले सरकारका कामहरूको समिक्षा गर्दा एकातिर संघीय लोकतान्त्रिक गणतन्त्रको नितान्त नयाँ प्रणालीको नितान्त नयाँ अभ्यासको सन्दर्भलाई ध्यानमा राख्नु पर्दछ भने अर्का तिर पार्टी एकताको विशिष्टता र यो प्रक्रियामा भएको ढिलाईको सन्दर्भलाई पनि बिचार गर्नु पर्दछ । लामो समयसम्म पार्टी कमिटिहरूको अभावले गर्दा न सरकारले गरेका राम्रा कामहरूको व्यवस्थित रुपले जनतामा प्रचार हुन सक्यो न सरकारलाई कमिकमजोरीबाट बचाउन पार्टीले नेतृत्वदायी भूमिका नै खेल्न सक्यो ।

ढिलै भएपनि अब पार्टी एकता प्रक्रियाले पूर्णता पाएको छ । विभिन्न स्तरमा पार्टी कमिटिहरू क्रमशः क्रियाशील हुन थालेका छन् । आउँदा दिनमा पार्टी र सरकारका कामहरूका बीचमा आपसी समन्वयमा सुधार भई दुबैको प्रभावकारितामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

उपरोक्त सन्दर्भबाट हेर्दा सरकारले अनेकौं जटिलता, चुनौति र प्रतिकुलताका वावजुद संविधान कार्यान्वयन, विकास, निर्माण, सामाजिक न्याय, सामाजिक सुधार, आर्थिक वृद्धि र वैदेशिक सम्वन्ध विस्तार आदि जस्ता मूलभूत क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको छ । सामन्य रुपमा सरकारले हासिल गरेका उपलब्धीहरूलाई निम्न अनुसार सुत्रवद्ध रुपमा हेर्न सकिन्छ ।

क) सरकारले संघीय प्रणाली कार्यान्वयनमा आवश्यक नीति, विधि र कानून निर्माणमा पहल लिई तीनै तहका सरकारका काम कार्यवाही अगाडि बढाउन सहज तुल्याएको छ । वित्तिय संघीयता कार्यान्वयन गरी स्रोत परिचालन गर्ने, जनशक्ति विन्यास र कर्मचारी समायोजन र संरचनागत आधार निर्माण जस्ता कामहरू सम्पन्न गरेर सरकारले संघीयता कार्यान्वयनमा जोड गरिरहेको छ|

ख) संविधानले प्रत्याभूत गरेका मौलिक हक लगायतका कानूनहरू निर्माण गरी सरकारले संवैधानिक व्यवस्थालाई गतिशील रुपले कार्यान्वयनमा लगेको छ । संविधान र संविधान कार्यान्वयनको कानूनी आधार तयार पार्ने, लगानी प्रवर्धनसँग सम्वन्धित कानूनहरू निर्माण गर्ने जस्ता कामहरू मार्फत विधिको शासन सुदृढ गर्ने आधार तयार पार्दै लगेको छ ।

ग) सरकारकाले स्वतन्त्र एवम् सन्तुलित परराष्ट्र नीति मार्फत छिमेकी लगायत अन्तराष्ट्रिय सम्बन्धलाई विस्तार गर्दै लगेको छ । छिमेकी भारत र चीनमा भएका उच्चस्तरीय राजनीतिक भ्रमण मुख्यतः सम्माननीय प्रधानमन्त्री केपी ओलीको औपचारिक भ्रमणका क्रममा भएका सहमति र समझदारीले सकारात्मक मोड लिएको छ । यस सन्दर्भमा चीनका महामहिम राष्ट्रपति सि जिङ फिङद्वारा भएको सफल र ऐतिहासिक भ्रमणले दिएको दूरगामी विश्वासको सन्देश एवम् त्यस सन्दर्भमा भएका सहमति, समझदारीले आम जनतामा आशा र भरोषा जगाएको छ । त्यस्तै नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गरेको अन्तर्देशीय तेल पाइप लाइनको उद्घाटनले आपसी सहयोग अभिवृद्धिमा नयाँ आयाम थपेको छ ।

घ) सामाजिक सुरक्षा, रोजगारी सिर्जना, सुशासन प्रवर्धन, सेवा प्रवाहमा सहजी करणका निमित्त सरकारका तर्फबाट निरन्तर पहल भईरहेका छन् । यसका साथै पूर्वाधार क्षेत्रमा लगानी बढाउन र आर्थिक वृद्धिदर ७ प्रतिशत भन्दा माथि राख्न प्रयास गरिरहेको छ । “औद्योगिक कोरिडोरहरूको निर्माण, ठूला क्षमताका विद्युत प्रशारण लाइनको निर्माण, विद्युत क्षेत्रमा औद्योगिक र ग्राहस्र्थ मागलाई धान्न सक्ने गरी विद्युत उत्पादन परियोजनाहरूको सञ्चालन, पूर्व–पश्चिम रेल मार्ग, मध्य पहाडी लोकमार्ग सहित मदन भण्डारी राजमार्गको निर्माण कार्यले लिएको गतिका साथै उत्तर–दक्षिण लोकमार्गमा आएको तीब्रता, हालको पूर्व– पश्चिम राजमार्गको स्तरोन्नती, काठमाडौं–वीरगञ्ज रेलमार्ग, केरुङ–काठमाडौं रेलमार्ग सहितका ठूला पूर्वाधारका आयोजनाले लिइरहेको गतिले” सरकारद्वारा भईरहेका पहललाई देखाउँछन् । यसैगरी यातायात, उर्जा, सिंचाई, पर्यटन, स्थानीय पूर्वाधार विकास तर्फ पनि सरकारले जोड दिईरहेको छ । भूकम्प पछिको पूनर्निर्माणले गति लिएको छ । धेरै कामहरू सम्पन्न भएका छन् । जलमार्गको विकासद्वारा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने पहल, विभिन्न अन्तराष्ट्रिय विमानस्थलहरूको निर्माण, २०२० लाई नेपाल भ्रमण वर्ष बनाउने तयारी आदि मार्फत पर्यटन क्षेत्रका विकासमा योगदान पुगेको छ ।

ङ) सूचना प्रविधिका माध्यमबाट सेवा प्रवाह र सुशासन अभिवृद्धि गर्ने दिशामा शिक्षा, स्वास्थ्य, खानेपानी, प्राविधिक शिक्षा, नागरिक आरोग्य, महिला, बालबालिका तथा जेष्ठ नागरिक हित संरक्षणका क्षेत्रमा व्यापक सुधार गरी सामाजिक पूर्वाधार विकास मार्फत समुन्नत र सबल सामाजिक वातावरण निर्माणमा जोड गरिरहेको छ ।

च) युवा खेलकूदको विकासमा पनि सरकारका तर्फबाट विविध योजना र कार्यक्रम मार्फत सम्बोधन गर्ने सकारात्मक प्रयास भईरहेको छ । यसको ठोस प्रमाण र अभिव्यक्ति रुपमा तेह्रौं सागको भब्य र सफल आयोजना एवम् नेपाली खेलाडीहरूले प्रदर्शन गरेको उत्कृष्ट खेल तथा हासिल गरेका पदकहरूको तालिका र संख्याले प्रस्तुत गरेका छन् ।

छ) गत वर्षको तुलनामा यस वर्ष शान्ति सुरक्षाको स्थितिमा उल्लेख्य सुधार आइरहेको छ । यसलाई अझ सुदृढ गरेर विकास र समृद्धिका योजना अगाडि बढाउन सहज वातावरण बनाउनु पर्दछ ।

उपरोक्त उल्लेख्य सफलताका बाबजुद जनताका आशा र अपेक्षा पुरा गर्न सरकारले निम्न कुराहरूमा सुधार गर्न विशेष ध्यान दिनु आवश्यक छ ।

क) संघीयताको प्रभावकारी कार्यान्वयनको लागि संघ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार स्पष्ट पार्न आवश्यक कतिपय महत्वपूर्ण ऐनहरू अझै निर्माण हुन सकेका छैनन् । निजामति सेवासँग सम्बन्धित छाता ऐनदेखि नागरिकता सम्बन्धी ऐनसम्म यधाशीघ्र निर्माण गरी संविधानद्वारा निर्दृष्ट मर्म र भावना अनुसार तीन तहका सरकारहरूलाई प्रभावकारी बनाउन विशेष ध्यान दिनु पर्दछ। यस सन्दर्भमा सदनले पनि आफ्नो कामलाई प्रभावकारी रुपमा सम्पादन गर्न ध्यान दिन आवश्यक छ ।

ख) कुनै पनि विधयेक मस्यौदा गर्दा सरकारले यथासम्भव सम्बन्धित क्षेत्रका सरोकारवाला र विज्ञहरूको राय सल्लाह लिनु आवश्यक छ । गुठी विधयेकको सन्दर्भमा देखापरेको अन्यौलबाट शिक्षा लिएर अगाडि बढ्न जरुरी छ ।

ग) राज्य सञ्चालनका निमित्त आवश्यक र संवेदनशील कयौं संवैधानीक र राजनैतिक नियुक्तिको ढिलाईले समस्या उत्पन्न भइरहेको तथ्यमा सरकार गम्भीर हुन जरुरी छ । यसका साथै कुनै पनि संवैधानिक र राजनैतिक नियुक्ति गर्दा समावेशी र समानुपातिक मान्यताका आधारमा सन्तुलन मिलाउने कुरामा अझ बढी ध्यान दिन जरुरी छ ।

घ) सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सुरक्षाको क्षेत्रमा सरकारको प्रयास भइरहेता पनि खास प्रगतिको अनुभूति नभएको जन–गुनासो स्थानीय स्तरदेखि केन्द्रसम्म सुनिन्छ । अतः सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण अझ प्रभावकारी कदम चाल्न आवश्यक छ । यसका निमित्त प्रदेश र स्थानीय सरकारलाई लोकप्रिय र प्रभावकारी ढंगले सञ्चालन गर्न पार्टीको तर्फबाट आवश्यक संयन्त्र निर्माण गर्नुपर्दछ ।

ङ) देशमा ठूल्ठूला पूर्वाधार निर्माणका परियोजनाले जनतालाई ठोस परिणाम दिन वर्षौं लाग्छ । ठूला परियोजनाको आवश्यकता हुँदा हुँदै पनि तत्काल जनताले परिणाम देख्ने र राहत महसुश गर्ने स–साना काम र योजनामा सरकारको ध्यान कम जाने गरेको जन–गुनासोलाई पनि सरकारले गम्भीरतापूर्वक लिन जरुरी छ । उदाहरणका लागि ठूला र नयाँ राजमार्गको निर्माणको कुरा गर्दा सहर बजारका खाल्टा पुर्ने, धूलो, हिलो रोक्ने र स–साना सुधार र मर्मतका काम नछुट्न, फाष्ट ट्रयाक र सडक विस्तारको कुरा गर्दा आज भइरहेका सडकमा दिनदिनै हुने गरेको दुर्घटना र जन–धनका क्षति रोक्न नीति योजना र कार्यक्रम निर्माण एवम् बजेट विनियोजनमा पनि सरकारको ध्यान जान जरुरी छ ।

च) गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षको सरकारी नीति कार्यक्रम र बजेट सन्तुलित र लोकप्रिय रहेको सकारात्मक सन्देशका बाबजुद सरकारले आउँदा दिनहरूमा जनतामा अझै बढि भरोषा र उत्साह जगाउने नीति कार्यक्रम र बजेट ल्याउन विशेष तयारी गर्नु पर्दछ ।

निश्कर्षका रुपमा भन्न सकिन्छ कि नयाँ संविधान, नयाँ संरचना र नयाँ अभ्यासका तमाम जटिलताहरूलाई पार गर्दै तथा पार्टी एकताको संक्रमणकालिन अवस्थाका समस्याहरू झेल्दै सरकारले गरेका काम र उपलब्धीहरूको पक्ष नै मुख्य पक्ष रहेको तथ्यलाई सिंगो पार्टी पंक्ति र आम जनतामा स्थापित गर्नु पर्दछ । साथसाथै यस बीचमा देखा परेका सिमा र कमजोरीहरूलाई हटाई निर्वाचनको बेला जनसमक्ष गरिएका प्रतिवद्धता र घोषणालाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न, संविधानको मर्म र भावना अनुसार आवश्यक बाँकी कानूनहरू समेत निर्माण गर्दै तीनवटै तहका सरकारहरूका बीचमा समुचित समन्वय कायम गर्दै जनतालाई प्रभावकारी सेवा प्रदान गर्न जोड लगाउनु पर्दछ । यसरी नै पार्टी र सरकार सुदृढ गर्न सकिन्छ ।

५. उपनिर्वाचनको समिक्षाको सम्वन्धमा

एक प्रतिनिधि सभा सदस्य, तीन प्रदेश–सभा सदस्य र ४८ स्थानीय तहका रिक्त स्थान समेत गरी जम्मा ५२ स्थानका लागि भएको उप– निर्वाचनको परिणामले अन्य राजनीतिक दलका साथै हाम्रो पार्टीलाई समेत केही गम्भीर प्रश्न र शिक्षा दिएको छ ।

उपनिर्वाचनमा नेकपाले विगतमा विजय हासिल गरेका प्रतिनिधिसभा सदस्य– १ र प्रदेशसभा सदस्य– १ गरी १९ स्थान कायम गरेको छ भने प्रदेशसभा सदस्य–१ र उपमहानगरपालिका प्रमुख–१ सहित विगतमा विजय हासिल गरेका ९ ठाउँ गुमाएको छ । पार्टीले गाउँपालिका अध्यक्ष–२ र उपाध्यक्ष– १ समेत ११ ठाउँमा नयाँ जित निकालेको छ । सिट सङ्ख्याको हिसाबले २०७४ मा विजय हासिल भएका २७ स्थान बढेर ३१ पुगेको छ । नेपाली काङ्ग्रेसले ४ ठाउँमा आफ्नो विजय कायम गरेको छ, प्रदेशसभा– १ र उपमहानगरपालिका प्रमुख– १ समेत ९ ठाउँमा नयाँ जित निकालेको छ भने विगतमा आफूले जितेका गाउँपालिका अध्यक्षसहित ११ ठाउँ गुमाएको छ । समग्रमा २०७४ मा उसले हासिल गरेको १६ सिट घटेर १३ मा सीमित भएको छ । समाजवादी पार्टीले ३ ठाउँ कायम गरेर १ ठाउँमा नयाँ जित निकालेको छ भने राष्ट्रिय जनता पार्टी, नेपालले २ ठाउँ कायम गरेको छ, १ गाउँपालिका अध्यक्ष गुमाएको छ भने १ ठाउँमा नयाँ जित निकालेको छ । राष्ट्रिय जनमोर्चाले नेकपाको समर्थनमा प्रदेशसभा सदस्य पद कायम गरेको छ भने एक वडा अध्यक्ष गुमाएको छ । समग्र परिणामको हिसाबले यो निर्वाचन पार्टीका लागि सकारात्मक नै रहेको भए पनि विगतमा विजय हासिल गरेको भक्तपुरको प्रदेशसभा सदस्य र पार्टीका अभेद्य किल्लाको रुपमा रहँदै आएको धरान उपमहानगरपालिकामा व्यहोर्नु परेको हारलाई गम्भीरतापूर्वक लिनु जरुरी छ ।

निर्वाचनमार्फत् जनताले नेकपाले लिएको नीति र सरकारले अगाडि बढाइरहेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई भरोसा गरेका छन् । देखा परेका कमी कमजोरीहरुलाई हटाउँदै नेकपालाई जनताको आशा र भरोसाको केन्द्रका रुपमा थप सुदृढ बनाउँदै लैजानु पर्ने सन्देश निर्वाचनबाट प्राप्त भएको छ । यस निर्वाचनमा झण्डै ४० प्रतिशत स्थानमा निर्वाचन परिणाम परिवर्तन भएको छ अर्थात् विगतमा जितेको भन्दा फरक पार्टी या उम्मेदवारले निर्वाचन जितेका छन् । यस परिणामको प्रवृत्तिगत विश्लेषण गरिनु र मतदाताको परिवर्तित मनोविज्ञानको पनि अध्ययन गरिनु आवश्यक छ ।

नेपाली काङ्ग्रेसले विगतमा भन्दा कम सिट सङ्ख्या जितेको छ, तर भक्तपुर र धरानमा प्राप्त सफलताले ऊ अलिकति उत्साहित भएको देखिन्छ । नेकपासँगको तालमेलमा राष्ट्रिय जनमोर्चाले आफ्नो स्थितिलाई कायम राख्न सफल भएको छ । समाजवादी पार्टी, नेपालले दुई वडा अध्यक्ष सिट थप्न सफल भएको छ भने राजपा, नेपालले पिपरा गाउँपालिकाको अध्यक्ष गुमाएको छ । साना पार्टीहरुको अवस्था भने निकै कमजोर देखिएको छ । यसले नेपालको राजनीति मूलतः दुई ध्रुवीय बन्दै गरेको प्रारम्भिक सङ्केत गर्दछ । सामाजिक सञ्जालको प्रचार, केही सञ्चारमाध्यमहरुको योजनावद्ध ‘प्रोजेक्सन’ र सरकारको विरोधले मात्रै राजनीतिक स्पेश निर्माण गर्न सकिँदैन, यसका लागि सही राजनीतिक कार्यक्रम र कार्यदिशा, आन्दोलन र रुपान्तरणमा खारिएको पृष्ठभूमि, जनताले पत्यार गरेको नेता– कार्यकर्ताको पङ्क्ति र सही राजनीतिक विषयवस्तु आवश्यक पर्दछ भन्ने कुराको पुनर्पुष्टि भएको छ ।

पार्टीले अनपेक्षित पराजय व्यहोर्नु परेका निर्वाचन क्षेत्र र स्थानीय तहहरुको परिणाम विश्लेषण गर्दा त्यसका पछाडि देहायका मुख्य कारणहरु रहेको निष्कर्ष निकाल्न सकिन्छ-

भक्तपुर
१. उम्मेदवार चयनमा स्थानीय जनताको मनोविज्ञान र कार्यकर्ताको चाहनाका सम्बन्धमा यथेष्ट ध्यान नपुग्नु । उम्मेदवार तय भएपछि प्रकट भएको असन्तुष्टि समाधान गर्न समय लाग्नु ।
२. हाम्रो पार्टीका विरुद्ध नेपाली काङ्ग्रेस, राप्रपा लगायतले गठबन्धन गर्नु ।

धरान
१. स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुप्रति जनतामा उत्पन्न गुनासो र असन्तुष्टिलाई समयमै संवोधन गर्न ध्यान नदिनु ।
२. स्थानीय तहबाट हुने निर्णयमा जनताको सरोकारलाई ध्यान दिन नसक्नु । कर निर्धारण गर्दा वस्तुनिष्ठ र व्यवहारिक बन्न नसक्नु ।
३. नेपाली काङ्ग्रेस र समाजवादी पार्टी, नेपालबीच अघोषित गठबन्धन हुनु ।

यसका अलावा देहायका कमजोरीहरु आम रुपमै देखा परे

क) पार्टी एकता र एकीकरणको काम आधारभूत तहसम्म समयमै सम्पन्न हुन नसक्दा सिङ्गो पार्टी पङ्क्तिलाई परिचालित गर्न नसकिनु । स्पष्ट कार्यविभाजन र जिम्मेवारी तोकेर खटाउन नसकिनु ।

ख) पार्टीमा भावनात्मक एकता हासिल गर्न अझै धेरै काम गर्न बाँकी रहनु ।

ग) उम्मेदवार चयन प्रक्रियामा कमी रहनु । संभाव्य उम्मेदवारहरुबारेको सामाजिक प्रतिक्रिया र निजको लोकप्रियता आँकलन गर्न नसकिनु ।

घ) अति आत्मविश्वासका कारण निर्वाचनसंग सम्बन्धित बिषयमा तयारी गर्ने कुरामा समुचित ध्यान नपुग्नु ।

ङ) सरकार तथा स्थानीय तहहरुका कतिपय निर्णयहरुलाई लिएर जनतामा उत्पन्न गुनासो र असन्तुष्टिलाई विपक्षीहरुले मुख्य चुनावी मुद्दा बनाउनु, हामीले त्यसलाई चिर्न नसक्नु ।

च) निर्वाचित जनप्रतिनिधिको निधन भएर रिक्त पदमा निर्वाचन हुँदै गर्दा कतिपय स्थानमा सम्बन्धित व्यक्तिका परिवारजनलाई विश्वासमा लिन ध्यान नपुग्नु ।

छ) विगत निर्वाचनका क्रममा गरिएका प्रतिवद्धताहरु कार्यान्वयन हुन नसक्दा प्रतिकूल प्रभाव पर्नु ।

ज) प्राप्त उपलव्धी, भएका सकारात्मक कामहरु र सामाजिक–आर्थिक रुपान्तरणको समग्र योजनाबारे प्रभावकारी प्रचार कार्य नहुनु, विपक्षीहरुका भ्रम चिर्ने प्रभावकारी प्रचार संयन्त्र नहुनु, आदि ।

अनुभव र शिक्षा

१. पार्टी एकीकरणका बाँकी कामहरु अविलम्ब सम्पन्न गरेर सिङ्गो पार्टी पङ्क्तिलाई जिम्मेवारी सहित परिचालन गर्नु आवश्यक छ । कार्यकर्ताहरु कमिटीगत ढाँचामा नबाँधिदा र ठोस जिम्मेवारी सहित काममा नखटाइँदा एकीकरणको गणितीय सङ्ख्याले मात्रै अपेक्षित परिणाम दिन सक्दैन ।

२. आमरुपमा पार्टीमा भावनात्मक एकता बलियो बन्दै गएको भए पनि अझै कतिपय ठाउँमा त्यसका असरहरु छन्, जसको अभिव्यक्ति जिम्मेवारी प्रदान गर्ने कुरामा, उम्मेदवार चयन गर्ने कुरामा, कमिटीमा सङ्गठित गर्ने र कार्यविभाजन लगायत प्रक्रियामा देखा पर्ने गरेका छन् । सदस्यहरुको एकमुष्ठ अभिलेख अद्यावधिक नहुँदा र त्यसलाई नवीकरण गर्न नसक्दा व्यक्तिलाई चिन्ने र उपयुक्त जिम्मेवारी दिने कुरामा पनि कमी देखा परेको छ । यसलाई अविलम्ब समाधान गर्नु जरुरी छ ।

३. निर्वाचनमा उम्मेदवारको भूमिका महत्वपूर्ण हुन्छ । आमरुपमा पार्टीको सामथ्र्य र जनाआधार एवं पार्टीका नीतिहरुको सहीपनाको निर्णायक भूमिका हुने भए पनि उम्मेदवारको लोकप्रियता, पृष्ठभूमि र क्षमताले ठूलो अर्थ राख्छ । त्यसैले उम्मेदवार चयन गर्दा निजको लोकप्रियता, निजलाई हेर्ने आम दृष्टिकोण, सम्बन्धित स्थानको सामाजिक बनोट र विविध पक्षलाई ध्यानमा राख्नुपर्छ।

४. निर्वाचनमा प्रचारको निकै ठूलो भूमिका हुन्छ । प्रचार संयन्त्र कमजोर र प्रचार कार्य प्रतिरक्षात्मक भयो भने मतदातामाझ हाम्रा सकारात्मक कुराहरु नपुग्ने मात्रै होइन, विपक्षीहरुका भ्रामक र प्रायोजित प्रचारलाई पनि चिर्न सकिन्न । प्रभावकारी प्रचार संयन्त्र र काममा अविलम्ब ध्यान दिनु जरुरी छ ।

५. आगामी निर्वाचनमा स्थानीय तहहरुको कार्यसम्पादनको प्रभावले ठूलो अर्थ राख्ने स्पष्ट देख्न सकिन्छ । अत्यधिक स्थानीय तहमा विजय हासिल गरेको हाम्रो पार्टीका जनप्रतिनिधिहरुको भूमिका राम्रो हुन सकेन भने यसको प्रभाव निर्वाचनमा मात्र नभएर समग्र राजनीतिमै देखिने भएकाले स्थानीय तहको प्रभावकारी परिचालनमा विशेष ध्यान दिनु जरुरी छ ।

६. विपक्षीहरुले मतदाताहरुलाई प्रभावित पार्ने परम्परागत तरिका (प्रत्यक्ष गुण्डागर्दी, धाँधली र बुथ कब्जा आदि) का ठाउँमा आर्थिक प्रलोभन, भ्रमपूर्ण प्रचार र अन्य छद्म तरिका अवलम्बन गर्दै गएकाले यसलाई परास्त गर्न सोही अनुरुप तयारी गर्नु जरुरी छ ।

७. अतिविश्वास निर्वाचनका लागि आत्मघाती विषय हो । मतदाताहरुको मनोविज्ञान निरन्तर परिवर्तन भइरहने हुनाले विगतमा प्राप्त परिणामलाई मात्रै आधार बनाएर योजना तयार गरिनु हुँदैन । मतदाताको परिवर्तित मनोविज्ञान बुझ्न र तिनलाई निरन्तर विश्वासमा लिन विभिन्न उपायहरु अवलम्बन गर्दै जानु पर्छ ।

८. हरेक वर्ष थपिने नयाँ मतदाताहरु नै आगामी दिनमा निर्णायक बन्ने भएकोले त्यस विषयमा व्यवस्थित तयारी र गृहकार्य गर्नु पर्छ ।

९. झन्झन् खर्चिलो बन्दै गएको निर्वाचनलाई मितव्ययी बनाउने उपायहरुको गंभीरतापूर्वक खोजी गरिनु पर्छ ।

६. पार्टीको आगामि कार्यक्रमको रुपरेखा

(पार्टी एकता सदृढीकरण र जन–सम्वन्ध विस्तार विशेष अभियान) 

हाम्रो पार्टी एकता वस्तुगत राष्ट्रिय आवश्यकता र जनताको चाहना अनुरुप भएको हो । यो एकीकरणले जनताको पक्षमा मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई अनुकूल बनाउन, राजनीतिक स्थायित्व हासिल गर्न र सामाजिक आर्थिक रुपान्तरणका पक्षधर शक्तिहरुलाई सुदृढ बनाउन अत्यन्तै महत्वपूर्ण योगदान गरेको छ । तर एकता प्रक्रियाले अनपेक्षित रुपमा लामो समय लिंदा पार्टी पंक्ति र आम जनतामा अन्यौलको स्थिति सिर्जना हुन पुग्यो । दुई भिन्न कार्यदिशा बोकेका पार्टीहरु बीचको एकता प्रकृयालाई सफल बनाउने काम चुनौतीपूर्ण थियो नै । तर तीन महिनामै पार्टी एकता सम्पन्न गर्ने योजनाका साथ पूर्व कमिटिहरु भंग गरिनु तर एकता सम्पन्न गर्न भने लामो समय लाग्नुले स्थानीय स्तरमा राजनीतिक तथा संगठनात्मक कार्यमा गतिरोध हुनपुग्यो । यसैबाट पार्टी आन्दोलन र देशलाई पनि क्षति पुग्न गयो । तर ढिलै भए पनि यतिबेला आधारभूत रुपमा पार्टी एकताको काम सम्पन्न भएको छ । अब पार्टी एकताको सन्देशलाई पार्टी पंक्ति र जनस्तरमा विस्तार गर्न सकिने आधार तयार भएको छ । यस अवसरलाई पार्टीले बिना कुनै विलम्ब सदुपयोग गर्नु पर्दछ ।

यतिबेला हामी प्रतिक्रियावादी तथा यथास्थितिवादी कित्ताबाट हुनसक्ने षडयन्त्र र आक्रमणलाई परास्त गर्दै जनतामा आशा, उत्साह एवं आत्मविश्वास जगाउन र राजनीतिक क्षेत्रको परिवर्तनलाई सामाजिक– आर्थिक क्षेत्रमा विस्तारित गर्दै परिवर्तनको प्रकृयालाई सही दिशामा अघि बढाउन सक्षम हुनुपर्दछ । यसका लागि सिंगो पार्टी पंक्ति एकतावद्ध भएर केन्द्रीकृत योजनाका साथ क्रियाशील हुनु आवश्यक छ । युगान्तकारी परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गर्दै नेपाली समाजलाई विकास, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढाउन जरुरी छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अनुरुप जनताको जनवाद कार्यान्वयन गर्न र समाजवाद निर्माणको आधार तयार गर्न जरुरी छ । र, यसका लागि सिंगो पार्टी पंक्तिलाई एकतावद्ध रुपमा परिचालित गर्न र पार्टीको पक्षमा जनताको व्यापक समर्थन संगठित गर्न आवश्यक छ ।

पार्टी काम कुनै ‘पार्ट टाइम’ या आवधिक या मौसमी काम होइन । पार्टीको सम्पूर्ण संगठनात्मक संरचना र पार्टी पङ्क्ति हरहमेशा एउटा अभियानमै हुन्छ, हुनु पर्दछ । संगठन निर्माण र परिचालन, प्रचारप्रसार र जनसम्पर्क, सामाजिक आर्थिक रुपान्तरण र विकास निर्माण, विकृति विसंगतिको विरोध र सुशासनका लागि जनपरिचालन एवं पार्टीका वैचारिक कामहरु पार्टी जीवनका अभिन्न अङ्ग र नियमित कामभित्र पर्दछन् । राष्ट्रव्यापी या स्थानीय स्वरुपका अभियानहरु नचलेका बेलामा पनि पार्टी कमिटी र सदस्यहरुले यी कामलाई नियमित रुपमा सञ्चालन गरिरहनु पर्दछ । तर पनि निश्चित उद्देश्यका लागि भने खासखास बेलामा पार्टीले राष्ट्रव्यापी अभियान सञ्चालन गर्छ, जसले पार्टीका तत्कालीन अभिभाराहरुप्रति आमजनतामा जागरण ल्याउन, पार्टी पङ्क्तिमा नयाँ उर्जा र गतिशीलता सिर्जना गर्न र पार्टी र जनताबीचको सम्बन्धलाई थप घनिष्ट बनाउन मद्दत गर्दछन् ।

यतिबेला पार्टीका समस्त नेता, कार्यकर्ता एवं सदस्यहरुको संगठित एवं योजनावद्ध परिचालन मार्फत पार्टी एकताको तात्कालिन एवं दीर्घकालिन महत्व जनतामा स्थापित गर्न, राजनीतिक स्थायीत्व एवं सामाजिक–आर्थिक रुपान्तरणद्वारा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाँक्षा कार्यान्वयन गर्न र सुदृढ संगठन एवं फराकिलो जनाधार निर्माण गर्दै सरकारले गरेका सकारात्मक कामहरुबारे जनतामाझ सन्देश सम्प्रेषण गर्न र पार्टी पङ्क्तिमा नयाँ गतिशीलता सिर्जना गर्न विशेष अभियान सञ्चालन गर्न लागिएको हो । पार्टी एकता सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियान अन्तर्गत समस्त पार्टी पंक्तिको एकिकृत परिचालनका लागि तीन महिने योजना निम्नानुसार प्रस्तावित गरिएको छ-

१. अभियानको मूल नारा

समृद्ध नेपाल, सुखी नेपालीको आधार – सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार ।

२. अभियानको उद्देश्य

 गौरवपूर्ण इतिहास बोकेका नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको ऐतिहासिक एकताको तात्कालिन एवं दीर्घकालिन महत्वलाई समस्त पार्टी पंक्ति र आम जनसमुदायका बीचमा स्थापित गर्ने ।

 एकीकृत पार्टीका सैद्धान्तिक, राजनैतिक एवम् नीतिगत निश्कर्षका आधारमा समस्त पार्टी पंक्तिलाई प्रशिक्षित गर्ने । पार्टी एकताका ऐतिहासिक दस्तावेजहरु – राजनीतिक प्रतिवेदन, विधान, नियमावली र निर्णयहरुबाट पार्टी पंक्तिलाई दिशानिर्देश गर्ने । पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुका बीचमा वैचारिक, संगठनात्मक एवं भावनात्मक एकताको विकास गर्ने ।

 केन्द्रीय निकाय एवं विभागहरुको पूर्णता, सबै तहमा पार्टी तथा जनवर्गीय संगठनहरुको एकीकरण, पार्टी सदस्यको एकिकृत अभिलेख र नवीकरण, पार्टी सम्पत्तिहरुको अभिलेख एकीकरण लगायत पार्टी एकताका बाँकी कामहरु सम्पन्न गर्न सम्बन्धित कमिटी तथा निकायलाई सहयोग र सहजिकरण गर्ने ।

 पार्टीमा पारदर्शि, सादा एवं जवाफदेही जीवनशैली, श्रमप्रतिको सम्मान र सहभागिताको विकास गर्ने । जनशैली र कमरेड्ली भावनाको विकास गर्ने । नेता, कार्यकर्ता र सदस्यहरुमा पार्टी, आन्दोलन तथा नेतृत्वप्रतिको भरोसा र विश्वास विकसित गर्ने ।

 पार्टीमा सबै प्रकारका समुहबन्दी वा गुटबन्दीपूर्ण क्रियाकलालाई निरुत्साहित गर्ने र पार्टीमा वैधानिक व्यवस्था, संगठनात्मक पद्दति र अनुशासनको विकास गर्ने । पार्टी एकतालाई सुदृढ र सबल तुल्याउने ।

 जनता र राष्ट्रको पक्षमा सरकारले गरेका राम्रा काम, महत्वपूर्ण उपलब्धि र भावी योजनाका सम्बन्धमा समस्त पार्टी पंक्ति र आम जनतलाई प्रशिक्षित गर्ने । सरकारका सकारात्मक कामको पक्षमा जनमत सिर्जना गर्ने । आम जनतामा सरकारले चुनावी घोषणा पत्र कार्यान्वयन गर्ने मात्र होइन, थप उपलब्धिका साथ जनअनुमोदनका लागि प्रस्तुत हुन्छ भन्ने सन्देश प्रवाह गर्ने । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा विकास, समृद्धि र सामाजिक न्याय सम्भव छ र जनताको जनवादको कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण संभव छ भन्ने विश्वास जगाउने ।

 प्रदेश तथा स्थानीय तहका सरकार तथा जनप्रतिनिधि संस्थाहरुलाई पार्टीको घोषणा पत्र र नीति अनुरुप परिचालित हुन निर्देशित गर्ने । सम्बन्धित तहको पार्टी र जनप्रतिनिधिहरुका बीचको सम्बन्ध र सहकार्यलाई घनिष्ट र सजिव बनाउने । आ–आफ्नो कार्यक्षेत्रको विशेषता अनुरुप विकास, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा उपलब्धिपूर्ण कार्य गर्न सहयोग र सहजीकरण गर्ने । सुशासन, सदाचार र जनशैली अवलम्बन गर्न, जनतासंगको सम्बन्धलाई जीवन्त तुल्याउन र जनताको सरोकारप्रति संवेदनशील हुन, कानुनसम्मत, लोकतान्त्रिक, पारदर्शी, जवाफदेही र परिणाममुखी आचरण र कार्यशैली अवलम्बन गर्न प्रशिक्षित गर्ने ।

 सुखी नेपाली, समृद्ध नेपालको अभियानबाट नै जनताको जनवाद कार्यान्वयन हुन्छ र समाजवादको आधार तयार हुन्छ भन्ने पार्टीको मान्यतालाई स्थापित गर्ने । तदनुरुप सिंगो पार्टी पंक्ति र सबै तहका जननिर्वाचित प्रतिनिधिहरुलाई एकतावद्ध रुपमा परिचालित हुने बलियो आधार तयार गर्ने ।

 पार्टी, पार्टी एकता, पार्टी नेतृत्व र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारलाई कमजोर एवं असफल बनाउन प्रतिकृयावादी खेमाबाट भईरहेका सबै प्रकारका गतिविधि, षडयन्त्र र दुश्प्रचारको प्रतिवाद गर्ने । पुनरुत्थानवादी, अतिवादी र यथास्थितिवादी प्रवृत्ति र पात्रहरुका दुस्प्रयासका विरुद्ध जनमत सिर्जना गर्ने ।

३. अभियानको अवधि

पार्टी एकता र समृद्धिको पक्षमा राष्ट्रिय अभियानको समयावधि ५ महिनाको हुनेछ । उक्त अभियान फागुन १ गते सुरु भई असार मसान्तमा सम्पन्न हुनेछ । २०७७ सालको साउन महिनामा अभियानको समिक्षा गरिनेछ ।

४. अभियानको सहजकर्ता र नेतृत्वकर्ता

अभियानको नेतृत्व केन्द्रीय सचिवालयले गर्नेछ । प्रदेशमा प्रदेश कमिटीले, जिल्लामा जिल्ला कमिटीले र पालिकामा सोही स्तरका कमिटीले नेतृत्व गर्नेछन् । केन्द्र, प्रदेश र जिल्ला कमिटीका तर्फबाट अभियानलाई प्रभावकारी बनाउनका लागि आवश्यकता अनुसार सहजकर्ताहरु तोकिने छ । माथिल्लो कमिटीबाट तोकिएका सहजकर्ताको समन्वय र नेतृत्वमा सम्वन्धित कमिटीले अभियानको कार्ययोजना बनाई कार्यान्वयन गर्नेछन् ।

जनवर्गिय संगठनहरुले पनि सोही अनुरुप आफ्नो बर्ग, समुदाय वा कार्यक्षेत्रमा अभियानको कार्ययोजना बनाई कार्यान्वयन गर्नेछन् ।

५ अभियानको कार्यक्रम र कार्यतालिका

 २०७६ फागुन १ देखि १५ सम्ममा प्रदेश, जिल्ला र स्थानिय कमिटीहरुले आ–आफ्ना बैठक बसी अभियानको कार्ययोजना बनाउने ।

 फागुन मसान्तसम्म पार्टी तथा जनवर्गीय संगठनहरु केन्द्र, जिल्ला र पालिका तहमा कार्यकर्ता भेला आयोजना गरी अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गर्ने ।

 चैत्र र बैशाख महिनामा केन्द्रीय संगठन विभागको योजना र निर्देशन अनुरुप संगठित सदस्यता नवीकरण सम्पन्न गर्ने । अभियानका रुपमा पार्टी सदस्यता वितरण गर्ने ।

 २०७७ जेठ मसान्तसम्ममा घरदैलो–पदयात्रा, टोल भेला र टोलसभाको आयोजना गर्ने । असार महिनाको अन्त्य सम्ममा पालिकास्तरमा जन¥याली सहित जनसभाहरुको आयोजना गर्ने ।

 विशेष पार्टी कमिटी, सम्पर्क मञ्च र जनवर्गिय संगठनहरुले पनि उपरोक्त योजना अनुरुप आ–आफ्नो कार्यक्षेत्रमा अभियानको योजना बनाई कार्यान्वयन गर्ने । भूगोल सम्बद्ध पार्टी कमिटीद्वारा आयोजित जनसभामा सहभागी हुने ।

 प्रवासमा आ–आफ्नो विशेषतामा आधारित अभियान अघि बढाउने ।

६. अभियानका क्रममा सम्पन्न गर्नुपर्ने थप कामहरु

 पार्टी प्रवेश ।

 राजनीतिक दल र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुका बीचमा विकास र समृद्धिको कार्यसूचीमा छलफल तथा अन्तरक्रिया ।

 जनप्रतिनिधिमूलक निकायसंगको अन्तरक्रिया ।

 पार्टी तथा सरकारले गर्ने कामका सन्दर्भमा सुझाव संकलन ।

 जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रम र राष्ट्रको समृद्धिका निमित्त अनुकूल हुने आयोजनाहरुको पहिचान ।

 स्थानिय स्तरमा देखिएका अन्तरविरोधहरुको समाधान ।

७. प्रचार सामग्री

 पार्टी एकताका दस्तावेजहरु,

 अन्तरपार्टी निर्देशन तथा विशेष परिपत्रहरु,

 संघीय सरकारले गरेका महत्वपूर्ण काम र उपलब्धिहरु,

 सम्वन्धित प्रदेश सरकारले गरेका महत्वपूर्ण काम र उपलब्धिहरु,

 सम्बन्धित स्थानीय तहले गरेका महत्वपूर्ण काम र उपलब्धिहरु,

 अभियान सम्वन्धि हाते पुस्तिका

 पर्चा तथा ह्याण्डबिलहरु,

 रेडियो, टेलिभिजन र पत्रपत्रिका तथा सामाजिक संजालको प्रयोग ।

८. अभियानका नाराहरु

 समृद्ध नेपाल, सुखी नेपाली – नेकपाको संकल्प ।

 नेपाली पहिचान – राष्ट्रको स्वाभिमान ।

 नेकपाको नेतृत्वमा – बन्दैछ देश, बनाउँछौ देश ।

जनताको जनवाद – जिन्दावाद ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) – जिन्दावाद ।

९. अभियानबाट अपेक्षित परिणामहरु

 पार्टी एकताको सकारात्मक सन्देश प्रवाह हुनेछ । पार्टीका नेता, कार्यकर्ता, सदस्य र जनसमुदायका बीचमा भावनात्मक एकताको बलियो आधार तयार हुनेछ ।

 पार्टी, सरकार र नेतृत्वका विरुद्धमा फैलाइएका भ्रमपूर्ण प्रचार परास्त हुनेछन् । पार्टी र नेतृत्वप्रतिको विश्वास र भरोसामा बढ्नेछ । कार्यकर्ताको मनोबल उच्च हुनेछ ।

 पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरु जनताका बीचमा पुग्नेछन् । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाँक्षाप्रतिको विश्वास र भरोसा बढ्नेछ ।

 पार्टी प्रवेशको लहर सुरु हुनेछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा धु्रविकरणको प्रकृया तीब्र हुनेछ ।

 पार्टी कमिटी र जनप्रतिनिधिमूलक निकाय बीचमा समञ्जस्यता स्थापित हुनेछ । पार्टी र सरकारका कामहरु प्रभावकारी भई प्रतिफल देखिने छ ।

 एकीकृत पार्टीको सदस्यता, कमिटी र पार्टी सम्पत्तिको व्यवस्थित अभिलेख तयार हुनेछ ।

१०. अभियानको प्रतिवेदन र समिक्षा

 २०७७ साउन महिनाको पहिलो हप्तामा पालिका तहको कमिटीले अभियानको समिक्षा गर्ने र प्रतिवेदन तयार गरी जिल्ला कमिटीमा पठाउने ।

 साउन महिनाको दोश्रो हप्तामा जिल्ला कमिटीले आ–आफ्नो जिल्लाको अभियानको समिक्षा गर्ने र प्रतिवेदन तयार गरी प्रदेश कमिटीमा पठाउने ।

 साउन महिनाको तेस्रो हप्तामा प्रदेश कमिटीले आ–आफ्नो प्रदेशको अभियानको समिक्षा गर्ने र प्रतिवेदन तयार गरी केन्द्रीय कमिटीमा पठाउने ।

 साउन महिनाको चौथो हप्तामा केन्द्रीय कमिटीले समग्र अभियानको समिक्षा गर्ने र प्रतिवेदन पारित गर्ने ।

११. अधिवेशन तथा महाधिवेशनको आयोजना

 २०७७ भदौदेखि मंसिरसम्ममा सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने ।
 चैत्र २५ देखि ३० सम्म पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने ।

प्रिय कमरेडहरू,
यो राजनैतिक प्रतिवेदनको अन्त्यमा उपसंहारका रुपमा गत सालको राजनैतिक प्रतिवेदनको निम्नि अंश जस्ताको तस्तै प्रस्तुत गरिएको छ। जुन आज पनि उत्तिकै सान्दर्भिक रहेको छ ।

“यतिबेला हामी इतिहासकै महत्वपूर्ण मोडमा उभिएका छौं । नेपाली जनताबाट हामीमाथि अपार विश्वास र भरोषाका साथ मुलुकको नेतृत्वको वैधानि अख्तियारी प्राप्त भएको छ । तुलनात्मक रुपमा प्रतिकुल अन्तराष्ट्रिय परिस्थितिका बीचमा नेपाली जनताले हामीलाई गरेको विश्वास प्रति हामी आभारी छौं र हामी गम्भीर पनि छौं । एक अर्थमा हामी इतिहास कै सौभाग्यशाली पुस्ता हौं, जसलाई आफ्नै कार्यकालमा देशको मुहार बदल्ने र समृद्धिको नयाँ उचाईमा पुर्याउने अभूतपूर्व अवसर प्राप्त छ । तर यो हाम्रो अग्निपरिक्षा पनि हो । इतिहासले सुम्पेको यस विरल अवसर सदुपयोग गर्न र जिम्मेवारी वहन गर्न सफल नहुने हो भने हामी मात्रै असफल हुने छैनौं, यसले समग्र कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रलाई नै संकटमा पुर्याउने छ । निश्चय नै, युगौंदेखि एउटा मानसिकता, एउटा गति र संरचनामा अभ्यस्त राज्य संरचना एवम् पार्टी पंक्तिको रुपान्तरण सहज छैन, तर हामीले रुपान्तरण गर्नै पर्छ र सबैको साथ लिएर यो अभिभारा पुरा गर्नै पर्छ । हाम्रो एकतालाई सदृढ गरौं र इतिहासले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गरौं ।”

क्रान्तिकारी अभिवादन सहित

केपी शर्मा ओली अध्यक्ष
पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष

मितिः २०७६ माघ १५ गते

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार