
काठमाडौँ । यूएईले क्रिकेट विश्वकप लिग २ मा नेपाललाई ६८ रनले पराजित गरेको छ। २ सय ८ रनको लक्ष्य लिएर आएको नेपाल ३१.५ ओभरमा १ सय ३९ रनमै अलआउट भयो। यो सँगै नेपालको लगातार ५ खेलको जितको यात्रा पनि टुंगिएको छ।
कुशल मल्लले ६० रन बनाए पनि नेपालले त्यसको फाइदा उठाउन सकेन। पछिल्ला पाँच खेलमा यो उनको तेस्रो अर्धशतक हो। यूएईका बलरमाथि आक्रामक भएर खेलेका उनले ५३ बलको इनिङ्समा ९ चौका र १ छक्का प्रहार गरे।
पहिलो ओभरमा ११ रन बनाएपछिको अर्को ओभरमा कुशल भुर्तेल अफ स्टम्प बाहिरको बल प्रहार गर्दा ५ रनमा आउट भए। ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले खाता खोल्नै भ्याएनन्। आसिफ शेखले १५ रन बनाए। उनका दाई आरिफ शेखले पनि खाता खोल्न सकेनन्। दीपेन्द्रसिंह ऐरी ७, गुलशन झा र सोमपाल कामी समान ४ रनमा आउट भए।
करण केसी ५ रनमा आउट भए। सन्दीप लामिछाने २४ बलमा ४ चौकासहित २६ रन बनाउदै अविजित रहे। रोहन मुस्ताफाले १० ओभरमा २ मेडन राख्दै ३१ रन खर्चेर ३ विकेट लिए। कार्थिक मेइयापनले पनि ३ विकेट लिए। उनले ८.५ ओभरमा १ मेडन राख्दै २६ रन खर्चे। जुनाइद सिद्धिकीले २ विकेट लिए।
यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले बिहीबार निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ७ रन बनाएको थियो।
करणले पहिलो ओभरमा मोहम्मद वासिमलाई बोल्ड गरेपछि यूएई सुरुआत देखि नै दबिएर खेलेको थियो। वृत्या अर्भिन्दलाई १८ रनमा आउट गरेपछि नेपालले खेल पूर्णरुपमा नियन्त्रणमा लिएको थियो। अर्का ओपनर आसिफ खानको ७२ रनमा यूएईले चुनौतीपूर्ण स्कोर बनाउन सक्यो।
आसिफले ९९ बल खेली ५ चौका प्रहार गरे। अर्भिन्द र आसिफलाई सन्दीप लामिछानेले आउट गरे। कप्तान सीपी रिजवानले २२ रन बनाए। आरिफ शेखले अलिशान सराफुलाई २ रनमा बोल्ड गरे।
मुस्ताफा र आर्यन लकराले छैटौं विकेटमा ५८ रनको साझेदारी गरे। सन्दीपले ४९ औं ओभरमा लकरालाई राउन्ड द लेग बोल्ड गरि यो साझेदारि तोडेका थिए। लकराले ३६ बल खेलि १ चौका प्रहार गरि ३८ रन बनाए। मुस्ताफा ५२ रन बनाई अविजित रहे। उनले ७६ बल खेली २ चौका प्रहार गरे।
अन्तिम ओभरमा जुनाइद सिद्धिकी र कार्तिके मेइयापन रन आउट भए। सन्दीपले ३ विकेट लिनेक्रममा १० ओभरमा २७ रन खर्चे। करण, कुशल मल्ल र आरिफले १–१ विकेट लिए।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपालले लिग २ मा आफ्नो बाँकी रहेको ६ मध्येको ४ खेल जित्नु पर्नेछ। यूएईको ३० खेलमा ३१ र नेपालको ३० खेलमा २८ अंक छ।