
पल पल तिम्रै याद आउँछ सताउँछ
तिम्रै आँसुले याद आउँछ
मनमा गहिरो घाउ छ के गरौं
लाखौं खुशी गरे नि बिर्सन
तिम्रै झल्को आउँछ के गरौं
याद आउँछ सताउँछ
तिम्रो अभाव आँसुले बताउँछ
मनमा गहिरो घाउ छ के गरौं
पीएन साइँलाका यी मार्मिक शब्द सुनेपछि प्रतिस्पर्धी मात्र होइन, जजले समेत आँसु बगाए। ज्योति मगरदेखि कुलेन्द्र विश्वकर्माले आफूलाई सम्हाल्न सकेनन्। महाजज कुमार बस्नेतले त भिटो अधिकार प्रयोग गर्दै साइँलालाई भोटिङ राउण्डका लागि छनोट गरे।
हिमालय लोकस्टारको १३ औं एपिसोड पीएन साइँलामय रह्यो। मर्मस्पर्शी गीत र दमदार प्रस्तुति पेश गर्दै उनले उपस्थित सबैलाई भावुक तुल्याए। उनको प्रशंसामा महाजज बस्नेतदेखि तीनैवटा जजले शब्द मात्र खर्चिएनन्, उनको गायकीको मुक्तकण्ठले प्रशंसा गरे।
काखे छोरा बोकेर स्टेज चढेका उनले यथार्थ जीवनलाई गीतमा व्यक्त गरे। पत्नीको निधनपछि एक्लिएका उनी छोरालाई बोकेर काठमाडौं आइपुगेको कथालाई गीतमा प्रस्तुत गरेका छन्। पत्नीको मृत्युपछि साइँलाले सम्झनामा सल चिनो राखेका रहेछन्। त्यही सलले छोरालाई बोकेर उनी लोकस्टारको मञ्चमा उक्लिएका थिए।
‘यही सलले छोरालाई बोकेर काठमाडौं ल्याउँदा सिंगो गाउँ रोएको थियो’ साइँला सुनिए, ‘पत्नी नरहेपछि कहाँ जाने भन्ने थाहा थिएन। घाटमा सबै लुगा जलाउँदा यो सल लुकाएर राखेको थिएँ। उनी स्वर्गबास भएको दुई वर्ष भयो। यो सलले आज उनी मसँगै छिन् कि भन्ने याद दिलाउँछ।’ छोरालाई काखमै बोकेर उनले गीत गाए र आफ्नो मनका कुरा बाँडे।
गीत सुनेपछि जज ज्योति मगरले आफूलाई सम्हाल्न सकिनन्। साइँलाको गायकी सुन्दा ज्योतिले टिस्यु पेपरले आँसु पुछ्दै थिइन्। कुलेन्द्रदेखि प्रतियोगीले आफूलाई सम्हाल्न सकेनन्। ज्योति मगरले त संसारमा आज पनि पीएन साइँलाजस्ता बुवा छन् भन्ने उदाहरण भएको भन्दै प्रशंसा गरिन्।
साइँलाको यो घतलाग्दो प्रस्तुति पहिलोपटक भने होइन। पहिलो एपिसोडमै उनले दमदार प्रस्तुति दिँदै गोल्डेन स्टार अवार्ड जितेका थिए। अवार्ड जितेसँगै उनी सीधै अन्तिम २० मा समेत प्रवेश गरे।
२०६० सालमा जनवादी कलाकार हुँदै उनी युद्धमा होमिएका थिए। पहिलो भागमा जनयुद्धदेखि अहिलेसम्मको यात्रालाई गीतमा प्रस्तुत गरेका थिए।
साइँलाको यो प्रस्तुति अहिले सामाजिक संजालमा भाइरल भएको छ। टिकटक र फेसबुकमा उक्त एपिसोडका दृश्य सेयर भैरहेका छन्। टिकटक प्रयोगकर्ताले साइँलाको प्रस्तुतिलाई प्रशंसा गरेका छन्।
हिमालय लोकस्टारमा भोटिङ राउण्ड सुरु हुने क्रममा छ र यसका लागि पीएन साइँला दाबेदार देखिएका छन्। हिमालय लोकस्टार हिमालय टेलिभिजनमा प्रत्येक मंगलबार र बुधबार राती ८ बजे प्रसारण हुँदै आएको छ।