
काठमाडौँ । सरकारले मुस्ताङमा कलेज खोल्नका लागि गाउँपालिकाले भारतीय दूतावासमा गरेको पत्राचारबारे छानबिन गर्ने भएको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार विज्ञप्ति जारी गर्दै यसबारे आवश्यक छानबिन हुने र तथ्य सार्वजनिक गर्ने स्पष्ट पारेकी हुन्।
‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा के भएको हो सोको अध्ययन र आवश्यक छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्ने व्यहोरा जानकारी गराउन चाहन्छौं’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा छ।
यसबारे केही दिनअघि समाचार प्रकाशित भएको थियो। समाचार अनुसार मुस्ताङको फल्याक क्षेत्रमा बौद्ध कलेज स्थापना गर्न भारतले ७० करोड ३३ लाख नेपाली रुपैयाँ अनुदान दिने तयारी गरेको छ। काठमाडौंस्थित भारतीय दूतावासले कलेज निर्माणका लागि बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाबाट प्रस्ताव आएको र भारतको अनुदानमा निर्माण गर्ने अनुमतिका लागि नेपालसँग आग्रह गरेको थियो।
दूतावासले ‘मुस्ताङ साक्या बौद्ध संघ’ ले कलेज खोल्ने गरी बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाले प्रस्ताव पठाएको र अर्थ मन्त्रालयलाई पत्राचार गरिसकिएको र सहमति प्राप्त भएपछि परियोजनाको समझदारी पत्रमा हस्ताक्षर गर्न सकिने बताएको थियो। ‘यो संस्था (कलेज) ले मुस्ताङ र यसको वरपर रहेका जिल्लाका भिक्षुहरूलाई मात्र होइन, विदेशी विद्यार्थीलाई आध्यात्मिक, शिक्षा, संस्कृति र पूर्वाधार विकासमा आकर्षित गर्न सक्छ,’ दूतावासको विकास साझेदारी एवं पुनर्निर्माण प्रभागद्वारा माघ ११ मा अर्थ मन्त्रालयलाई पठाइएको पत्रमा उल्लेख छ।
यही विषयलाई इंगित गर्दै शनिबार एमाले अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्न लागिएको अभिव्यक्ति दिएका थिए। उनले चीनसँगको सम्बन्ध समेत विग्रने चेतावनी दिएका थिए। विदेशी शक्तिराष्ट्रहरुको खेलमैदान बनाउने कोसिस भएको बताएका थिए।
सरकारका प्रवक्ता शर्माले अध्यक्ष ओलीले दिएको विश्वविद्यालय खोल्ने भन्ने अभिव्यक्ति सही नभएको उल्लेख गरेकी छन्। उनले ओलीको यो भनाई भ्रमपूर्ण भएको उल्लेख गरेकी छन्। विश्वविद्यालय खोल्ने भन्ने निर्णय नभए पनि कलेज खोल्नेबारे गाउँपालिकाले भारतीय दूतावासमा गरेको पत्राचारबारे भने छानबिन गरेर सत्य तथ्य सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख गरेकी छन्।
हेर्नुस् विज्ञप्ति-