एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, एसिया कपमा छनोट

  हल्कारान्यूज  97 पटक हेरिएको

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएको छ। मंगलबार सम्पन्न फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरि नेपाली क्रिकेट इतिहासकै ठूलो सफलता हात पार्न सफल भयो।

प्रिमियर कपको विजेताले एसिया कपमा छनोट हुने प्रावधान रहेको थियो। नेपालले पहिलो पटक एसिया कप खेल्ने छ। पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुने तालिका छ।

गुलशन झा र भीम सार्कीले अविजित अर्धशतकीय साझेदारी गरेपछि यूएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३०।३ ओभरमा पूरा गर्‍यो। झा र सार्कीले ९६ रनको साझेदारी गरेका थिए। गुलशनले ८४ बलमा ६७ रन बनाए। उनले ३ चौका र ६ छक्का प्रहार गरे। भीमले ७२ बल खेली ३६ रन बनाउने क्रममा ४ चौका प्रहार गरे।

गुलशनले दोस्रो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक पूरा गरेका हुन्। डेढ महिनाअघि विश्व क्रिकेट लिग २ को अन्तिम खेलमा उनले यूएईविरुद्ध नै अविजित ५० रन बनाएका थिए।

नेपालको सुरुआत राम्रो थिएन। ८ ओभरमा नेपालले २२ रनमात्र बनाउँदा ३ विकेट गुमाएको थियो। कुशल भुर्तेल १ रनमा आउट भए। उनलाई रोहन मुस्ताफाले एलबीडब्लु आउट गरे। आसिफ शेख पनि एलबीडब्लु आउट भए। उनलाई आयन खानले ८ रनमा आउट गरे।

कप्तान रोहित पौडेल १ रनमात्र बनाई रोहन मुस्ताफाको बलमा बोल्ड भएपछि निकै दबाबमा परेको नेपाललाई गुलशन र भीम मिलेर उकासेका थिए। यूएईबाट मुस्ताफाले १० ओभरमा ३ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए।

वर्षाका कारण सोमबार स्थगित खेलले मंगलबार पनि निरन्तरता पाउदा यूएईलाई मंगलबार ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट भएको थियो। सोमबार नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भइ खेल अवरुद्ध हुन पुगेको थियो।

त्यही स्कोरबाट मंगलबार खेल्न सुरु गरेको यूएई ५.४ ओभरमात्र टिक्न सक्यो र टोलीले ११ रन थप्यो। अघिल्लो दिनको खेलको अन्तिम दुई बलमा लगातार विकेट लिएका ललित राजवंशीको ह्याट्रिक बललाई जुनाइद सिद्धिकीले रोकेका थिए।

उनै सिद्धिकीले ललितको बलमा एउटा छक्का पनि प्रहार गरे। ललितले नै सिद्धिकीलाई १० रनमा लङ अनमा कुशल भुर्तेलबाट क्याच गराई यूएईको इनिङ्सको अन्त्य गरे। ललितले ४ विकेट लिए। उनले ७.१ ओभरमा २ मेडन राख्दै १४ रन खर्चे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार