सार्वजनिक सवारीका चालक तथा सहचालकलाइ शुक्रबारदेखि अनिवार्य रुपमा पोशाक

0
55
सार्वजनिक सवारी

काठमाडौं । चैत्र १०, काठमाडौं उपत्यकामा सार्वजनिक सवारी चलाउने चालक तथा सहचालकले शुक्रबारदेखि अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केही दिन अगाडि बसेको बैठकको निर्णयानुसार शुक्रबारदेखि सबै मार्गका सवारी चालक र सहचालकले पोशाक लगाउनुपर्ने हुन्छ । महाशाखा र महासंघको आयोजनामा आज आरएनएसीबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चल्ने बस तथा माइक्रोबसका चालक र सहचालकलाई पोशाक लगाएर शुरुआत गरिएको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले चालक र सहचालकलाई पोशाकको व्यवस्थासँगै सडक सभ्यता र अनुशासित रूपमा गाडी चलाउने अभियानको विकास हुने बताए । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले उपत्यकामा चल्ने सबै समितिका बस तथा माइक्रोबसलाई चालक र सहचालकलाई अनिवार्य रुपमा पोशाक लगाउन पत्राचार गरिसकिएको बताए । “नियम पालना नगर्ने चालक र सहचालकलाई समितिबाटै कारवाही हुन्छ”, उनले भने ।

काठमाडौँ उपत्यकाबाट सुरु भएको पोशाक अभियान देशव्यापी रुपमा लैजाने महासंघका महासचिव पुण्यप्रसाद सरोज सिटौलाले जानकारी दिए । समितिअनुसार भिन्दाभिन्दै ज्याकेट भएकाले यात्रुलाई समेत यात्रामा सहजता हुने छ । चालकलाई रातो र सहचालकलाई हरियो खालको पातलो ज्याकेटको व्यवस्था गरिएको छ । यही चैत २ गते ललितपुर यातायात व्यवसायी संघबाट शुरु भएको उक्त अभियानअन्तर्गत शुक्रबार १२ मार्गका चालक र सहचालकलाई पोशाक लगाइएको थियो । रासस

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here