गजल वाचनको १ सय ७७ औं शृंखलामा मन र हुकुम पोखरेली पारखी सामु

0
22
पोखरेली

११ चैत, पोखरा ।

इतिहासदेखि नै देश विरामी छ अरु के छ ?
राजा महाराजाको काहानी छ अरु के छ ?
जसको आँखामा देश र समृद्धिको सपना हुनुपर्ने
ऊसँग नागरिकता छ, राहदानी छ अरु के छ ?

गजलकार मन क्षेत्रीले यी शेर सुनाउँदा पोखरेली गजलको पारो तात्दै थियो । पोखरामा शनिबार दुई फरक ठाउँ र फरक गजलकारले मेहफिल जमाए । पोखराका गजलकार मन क्षेत्री र नेपालगञ्जका हुकुम धड्कनका गजलमा पोखरेली पारखीले मजा लिए ।

मन र हुकुमका गजलले हिमालयन रिडर्स कर्नरको हलमा खचाखच दर्शकको धड्कनमात्रै बढाएन, ताली र वाहवाहीको वर्षा नै ल्याइदियो । गजल सन्ध्या पोखराले ‘विशेष गजल वाचन’ नाम दिएर पश्चिम नेपालगञ्ज र पोखराका २ गजलकारलाई एउटै मञ्चमा उभ्याएको थियो । सन्ध्याले महिनाको तेस्रो शनिबार गर्दै आएको नियमित वाचनको १ सय ७७ औं शृंखलामा मन र हुकुमलाई विशेष गजल वाचनको रुपमा पोखरेली पारखीसामु प्रस्तुत गरेको हो ।

तिमी सोच्दछौ अरुको नक्कल कसरी हुन्छ ?
म सोचिरहन्छु जिन्दगी सरल कसरी हुन्छ ?
मलाई काँडामा राख्नुहोस् र छातीमा टेक्नुहोस्
टेक्दै टेकेन भने चप्पल, चप्पल कसरी हुन्छ ?

पहिलो वाचनको रुपमा मञ्च उक्लेका गजलकार धड्कनले पोखरेली र आसपासका ठाउँबाट गजल सुन्न पुगेका पारखीको मन जिते । सुरुमै गजल वाचनमा खरो उत्रिएका घड्कनले कार्यक्रम अवधिभर दर्शकको मन जिते ।

तिम्रो मृत्युले मलाई जिन्दगी दिन सक्छ
हेर बत्ती निभ्यो र पुतली मखमलमा बसेको छ

पहिलो चरणमा ३ र त्यसपछि ३/३ र अन्तिममा एक गजल वाचन गर्ने कार्यक्रम सूचीअनुसार उभिएका धड्कनको वाचन शैलीले पनि वाहवाही बटुल्यो । अन्तिम गजलमार्फत कार्यक्रमको बिट मार्न खोजेका धड्कनलाई दर्शकले थप २ गजल वाचनका लागि फर्माइस गर्दा माहोल अझै तात्यो ।

पोखरेली दर्शकसामु परिचित गजलकार मन क्षेत्रीले गजलका नयाँ-नयाँ शैली र स्वादका गजल पस्किएर मन जिते ।

नलगाउ भन्यो भने झन् लगाउँछन्
फलामलाई त आफन्तैले घन लगाउँछन्
एकैचिम्टी सिन्दूरले बुहारी बनाइदिन्छ
छोरी बनाउन बा-आमा जीवन लगाउँछन्

क्षेत्रीले सामाजिक विसंगती, मानवीय संवेदनालाई गजलमार्फत सुनाए । राजनीतिक खिचातानी, देशको पछौटेपन, वेरोजगारी र प्रेमलाई गजलका शेरमार्फत सुनाउँदा मनले दर्शकको पनि मन जिते । मनले गजलमार्फत घरि भावुक बनाए, घरि हाँसोको फोहोरा छुटाए । घरि देश, माटो र राजनीतिक परिस्थितिप्रति गम्भीर बनाए ।

यी मान्छेहरु अचम्म-अचम्च तरिकाले जिन्दगी चलाउँछन्
खेतमा घर बनाउँछन् अनि छतमा घिरौंला फलाउँछन्

खेतीयोग्य जमिन कंक्रिटको जंगल बन्दै गएको र मानवीय अतिक्रमणले खुम्चिँदै गएकोप्रति उनले गजलका शेरमार्फत व्यंग्य गर्दा दर्शकले तालीले थप उत्साही बनाए । १०/१० गजल वाचन गर्न मञ्चमा उक्लेका मन र धड्कनले दर्शकको आग्रहले थप गजल नसुनि धरै पाएनन् ।

१ सय ७७ औं शृंखलासम्म आइपुग्दा गजल सन्ध्याले गजलको राजमार्गलाई फराकिलो बनाउँदै नयाँ र पुराना पुस्ताको गजलको एउटै थलोको रुपमा स्थापित गरेको सन्ध्याका अध्यक्ष अमृत सुवेदीले बताए । ‘सन्ध्याले फरकफरक शैली तथा स्वादका कार्यक्रम र गतिविधि गर्दै आएको छ,’ सन्ध्याका अध्यक्ष सुवेदीले भने, ‘सन्ध्या नेपाली र गजलकारको साझा थलो बन्दै आएको छ ।’

सन्ध्याका सचिव मोहन भण्डारीले पोखराले नेपाली गजलमै हस्तक्षेपकारी भूमिका खेलेको बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here