काठमाडौं आफैमा एक प्राचीन महत्वको शहर हो, सभ्यता र इतिहासको साक्षी हो

0
77
प्राचीन

काठमाडौं आफैमा एक प्राचीन महत्वको शहर हो, सभ्यता र इतिहासको साक्षी हो:

आदरणीय मेयर ज्यू,

तपाइँ मेयर पदका लागि उम्मेदवार हुँदै गर्दा, तपाइँहरुले पेश गर्नुभएको स्वप्नदर्शी योजनाहरुले हामीलाई आकर्षित गरेको थियो, तपाइँलाई निर्वाचित गराउन काठमाडौंका पूर्व मेयर केशव स्थापित ज्यूले गर्नुभएको पहल र उहाँले राख्नुभएका स्वप्निल योजनाहरु वास्तवमै सुन्दर थिए, यधपि त्यसको कार्यान्वयन पक्ष प्रति केही संशयहरु जरुर थिए  । करिब ३ हप्तामै माइतीघर मण्डला निर्माण गर्नुभएका र आफ्नो मेयर कार्यकालमा उत्कृष्ट मेयर सूचीमा आफूलाई स्थापित गर्नुभएका स्थापित ज्यू तपाइँको सारथिको रुपमा देखिनुभएको थियो, एउटा बलियो संगठन बाट प्रतिनिधित्व गर्ने तपाइँ र तपाइँहरुले दावी गर्नुभएको आफ्नो पहुँच, टिम अनि सुन्दर योजनाहरु मतदातालाई आकर्षित गर्न प्रयाप्त रहे, र तपाइँले सानदार विजय निकाल्नुभयो ।

काठमाडौंको मतदाता नहुनुले तपाइँको विजयमा पंक्तिकारको प्रत्यक्ष मतको योगदान थिएन, तर सद्भाव र शुभेच्छा भने अथाह थियो, किनकि सुन्दर काठमाडौंको कामना थियो, ति कामनाहरु तपाइँबाट पूरा हुनेछन् भन्ने आशा थियो र धेरै हदसम्म भरोसा पनि थियो । तपाइँ निर्वाचित भए लगत्तै पंक्तिकारले लेखेको थियो  “( काठमाडौंको मेयर हुनु आफैंमा एउटा सुवर्ण अवसर हो, अनि भयानक चुनौती पनि । चुनौतीको पहाडहरु छिचोलेर अवसरलाई यसरी उपयोग गर्नु कि स्वर्णिम इतिहास बोकेको काठमाडौं उपत्यका, अस्तव्यस्त बर्तमानको नियतीलाई पार गर्दै स्वर्णिम भविष्य तर्फ लम्कन सकोस् । नाम ‘विधा सुन्दर’, हो ठ्याक्कै यी नामहरुलाई न्याय गर्नु, जसरी एउटा ढुंगाबाट अनावश्यक चिज हटाउदै गयो भने त्यहिँ भित्र एउटा सुन्दर मुर्ति भेट्न सकिन्छ, त्यसरी नै काठमाडौं आफैंमा एउटा सुन्दर भूगोल हो, बस् यसलाई सुन्दर आकार दिनु । नव निर्वाचित काठमाडौंका मेयर विधा सुन्दर शाक्य ज्यूलाई सफलताको हार्दिक शुभकामना । #जयदेश )”

तपाइँ निर्वाचित हुनुभयो, विजयको माला पहिरिनुभयो, सपथ लिनुभयो, अनि १०० दिनमै महानगरलाई महसुसनै हुनेगरी सुधार गरिने भन्दै १०० दिन-१०१ कामको खाँका ल्याउनुभयो । जसलाई हेरेर तपाइँ प्रति भरोसा गरेका र देखाएका आम नागरिकहरु झनै उत्साहित बने । तर त्यो उत्साह बिस्तारै बिस्तारै सेलाउदै गयो, तपाइँ बधाई तथा शुभकामना थाप्दै हिंड्दा, महानगरवासीहरु निरन्तर धूलो र धुवाँ थाप्दै हिंड्न अभिशप्त बनिरहे । तपाइँले दिनुभएको नारा ‘स्मार्ट सिटी’को ठोस शुरुवात अपेक्षा गरिरहेका मतदाताहरुलाई, आफैंलाई ‘स्मार्ट फोन’ बाट शुरुवात गरिएको तपाइको कार्यकालले बिस्तारै चिढ्याउन थाल्यो, १०० दिनमा १०१ कामको महत्वाकांक्षी योजना सारेर काठमाडौं को सरसफाईका लागि सडकमा स्वयं कुचो लिएर उत्रनुभएको तपाइँ बिस्तारै यसरी कतै हराउनुभयो कि ‘मेयर हराएको सूचना’ भन्दै केहीले व्यंग्य समेत गर्न भ्याए, दिनहरु यसरी बिते कि तपाइँले देखाउनु भएका सपना र आश्वासनको एक छेउ पनि नागरिकहरुले महसुस गर्न पाएनन्, बरु ‘मेयरका लागि विलासी गाडी खरिद’ गरिएको समाचार देखि ‘नागरिकहरुले भेट्नै पाउदैनन् मेयर’ भन्ने जस्ता समाचारहरुले बजार तताइरह्यो । निर्वाचन अघि काठमाडौंको धूलो धुवाँ र सडकका खाल्डा खुल्डी कुनै समस्यानै होइनन्, यो चुट्कीमा समाधान हुन्छ, यी झिनामसिना समस्याहरु २-३ महिनामै समाधान गर्न सकिने गरि हामी संग योजना र श्रोत साधनहरु छन् भनेर तपाइँहरुले गरेको दावी सम्झिरहेका जनताहरुले, पानी परे हिलोमान्डु अनि घाम लागे धूलोमान्डु को नियती भोगिरहे  । तरपनि भर्खरै तिन तहको संरचनामा देश गएको र, पर्याप्त नीति नियम तथा अधिकार अनि प्रष्ट कार्यक्षेत्र बाँडफाँड नभैसकेकोले महानगरपालिकाको काम कारबाही अलि फितलो भएको तर्क प्रति आमनागरीकहरुले शंकाको लाभ दिदै बाध्यात्मक सहमति जनाए । यहि नेतृत्व बाट सुन्दर काठमाडौंको सपना देखिरहे, आखिर अर्को विकल्प नै पनि थिएन नागरीकहरु संग किनकि आफैंले चुनेको जनप्रतिनिधिले नेतृत्व जो गरिरहेको थिए काठमाडौं महानगरपालिका ।

काठमाडौं आफैमा एक प्राचीन महत्वको शहर हो, सभ्यता र इतिहासको साक्षी हो काठमाडौं । मन्दिरको शहर/ देवताको शहर उपमा पाएको विश्वका पुराना शहरहरु मध्यको एक यो शहर यसको प्राकृतिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक वैभवका लागि विश्व विख्यात छ । काठमाडौंबाट यसको  ऐतिहासिकता र धार्मिक सांस्कृतिक संपदा निकालिदिने हो भने के बाँकी रहला ? भन्ने प्रश्नको जवाफ जति सरल छ, त्यो भन्दा कैयौ गुणा कहालीलाग्दो पनि छ । त्यसैले पनि काठमाडौं एउटा संवेदनशील शहर हो र यसको विकासको प्रसङ्ग जब आउछ, संगसंगै आउछ जगेर्ना र संरक्षणको सन्दर्भ । हुन त हरेक ठाउँको विकास कार्यको क्रममा त्यहाँको प्राकृतिक, धार्मिक, सांस्कृतिक संपदाहरुको संरक्षणको सन्दर्भ जोडीएरै आउछ तर त्यस्ता संपदाहरुको प्रचुरताका सन्दर्भमा काठमाडौं यति धनी छ कि, ति सबै संपदाहरु हरु जोगाउदै दिगो विकासको बाटोमा हिंड्नु/ हिँडाउनु आफैँमा एउटा चुनौतीपूर्ण कार्य हो । अनि सयौ वर्षको सभ्यता र इतिहास बोकेर देशलाईनै नेतृत्व गरिरहेको देशकै राजधानी को नेतृत्वको अवसर प्राप्त गर्नु एउटा स्वर्णिम अवसर पनि । मेयर ज्यू तपाइँ एकसाथ चुनौती र अवसरको डुंगामा सयर गर्दै हुनुहुन्छ, क्षणिक लाभका लागि पुर्खाको नाशो माथि तपाइँ सम्झौता गर्नुहुनेछैन र समयले दिएको जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गरेर स्वर्णिम अवसरले जन्माएको पृष्ठमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाउनुहुनेछ भन्ने हाम्रो विश्वास छ ।

मल्लकालीन युगको नाशो हो रानीपोखरी, भूकम्पले भत्काएको रानीपोखरी पुनर्निर्माणको पहलकदमी सरहानिय छ, र रानीपोखरीलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने योजना त झनै गजबको । तर यसको पुनर्निर्माण कार्यमा मौलिकताको ख्याल गरिएन र पुरातात्विक संवेदनशीलतालाई वेवास्ता गरियो भन्ने जुन आरोप आइरहेको छ यसले धेरैलाई झस्काएको छ, र झस्काउनु स्वाभाविक पनि हो किनकि भूकम्पले क्षति गरेको धेरै स्मारकहरु पुनर्निर्माण हुनुछ अनि नेतृत्वमा तपाइँ हुनुहुन्छ, तपाइँको सोच, नियत र कार्यशैलीमा धेरै कुरा निर्भर रहने देखिन्छ । तपाइँ आधुनिकताको कुरा उठाएर तर्क गर्दै हुनुहुन्छ, आवश्यकता अनुसार परिमार्जनको कुरा गर्दै हुनुहुन्छ तर आधुनिकता र समयानुकुल परिमार्जन के हरेक सन्दर्भमा जायज हुन्छ ? प्रश्न उठेको छ । यहाँ आधुनिकताको होइन, प्राचीनताको कुरा उठिरहेको हो, समयानुकुल परिमार्जन होइन, स्मारकलाई सक्ने जति दुरुस्तै राखिरहेर पुस्ता हस्तान्तरणको आवाज उठाइएको हो । आधुनिक प्रयोगको लागि उल्लेख्य प्रविधिहरुको विकास भइसकेको यो युगमा, आधुनिकताका नाममा, सहजताका नाममा अनि बलियो या यो ऊ को नाममा हरेक धरोहर र स्मारकहरुलाई त्यहि हिसाबले पुनर्निर्माण र विकास गरिदै लाने हो भने हाम्रो प्राचीनता जीवित रहन सक्छ ?

र हाम्रो प्राचीनतालाई तिलान्जली दिएर निर्माण गरिने कंक्रिटको जंगल घुम्न आउनेछन् पर्यटकहरु यो देशमा ? हो पुर्खाहरुको नाशोले मात्रै हुदैन हामीले पनि कृति छोडेर जानुपर्छ, समयानुकुल विकास र निर्माण हुनुपर्छ भन्नेमा भिन्न मत हुनै सक्दैन तर त्यसका लागि आफ्नो बलाबुताले अर्को सिर्जना गर्ने हो, सिर्जित धरोहरहरुमा कैची चलाउने होइन । रानीपोखरीलाई रानीपोखरीनै राखिरहनु पर्छ, चार पर्खाल भित्र पानी ताल परेको पानीपोखरी होइन । यसलाई अझै भव्य बनाउन सकिन्छ तर त्यो भव्यताले त्यो मल्लकालीन सभ्यतालाई मेट्नु भएन । भोलि हजारौँ पानीपोखरीहरु निर्माण हुन सक्छन्, तर अब कहिल्यै अर्को रानीपोखरी बनाउन संभव छैन, त्यसैले यसको सक्दो दुरुस्त संरक्षण हुनुपर्छ ।यसलाई हलुका ढंगले लिएर हेलचेक्र्याइँ गरिनु हुँदैन ।

रानीपोखरी भित्र कफीसप राखेर आम्दानी गर्न सकिन्छ, हो व्यावसायिक युग हो, व्यावसायिक सोच राख्नुपर्छ तर त्यो व्यावसायिक सोच सहि बाटोमा लगाउनुपर्छ । कफी मात्रै होइन अझ वियर बारनै राख्न पाए गजब हुन्थ्यो होला भन्ने सोच आउन सक्छ, मधुर साँझमा पोखरीको छेउमा बसेर वियरको आनन्द दिन पाए कति धेरै पर्यटकहरु भित्रन्थे होला । त्यस्तो सोचलाई मेयर ज्यू अर्को पोखरी बनाएर प्रयोग गर्दा उचित होला कि, त्यस्तो अर्को पोखरी जति अत्याधुनिक बनाउनुहोस् प्रश्न उठ्नेछैन । रानीपोखरीको ढोका खुल्ने आफ्नै एउटा युगिन विशेषता छ, त्यसैले त यसको आफ्नै महत्व छ । यी विशेषताहरु यसका अभिन्न गहनाहरु हुन्, सबै गहनाहरु एक एक गरेर फुकालेर यसलाई बुच्चै बनाइनु हुँदैन । रानीपोखरी संग धेरैको धार्मिक आस्था जोडिएको छ, यसलाई संवेदनशील तबरले सोचिनुपर्छ, बुझिनुपर्छ । फगत व्यावसायिक हुने सोचमा आज रानीपोखरीमा कफिसपलाई सहज लिनेहरुले भोलि पशुपतिनाथ परिसरको हाइटमा वियर बारको कल्पना ल्याए भने त्यसलाई कसरी लिने? नारायणहिटी दरबारलाई पांच तारे होटल बनाउने योजना कसैले ल्यायो भने त्यसलाई व्यवासायिक तथा प्रगतीशील सोच भनेर हामीले तालि बजाउने कि नबजाउने ?

ऐतिहासिक संरचनालाई हेर्न सायद ऐतिहासिक दृष्टिकोण चाहिन्छ, आधुनिकताको चस्मा लगाएर त्यो संभव नहुन सक्छ । रानीपोखरी केवल बिचमा मन्दीर भएको एउटा ताल होइन, न यो स्विमिंग पूल हो, यो सयौ वर्ष पुरानो स्मारक हो, देशको धरोहर हो । यसलाई केवल व्यावसायिक दृष्टिकोणले हेरिनु सर्वथा गलत हुन्छ । सजिलाको लागि अनुसन्धान र अन्वेषणनै नगरी यसको भौतिक स्वरूपमा महत्वपूर्ण परिवर्तन गरिनु, क्षणिक लाभ देखाएर अनावश्यक व्यापारिकरणको मार्गमा हिंड्नु अनि पुरातात्विक विभाग र स्थानीय संस्कृतिविदहरुको आवाजलाई वेवास्ता गर्दै राजनैतीक आग्रह पूर्वाग्रहको आरोप लगाउनु भन्दा सम्बन्धित संपूर्ण सरोकारका पक्षहरु संग पारदर्शी रुपमा छलफल गरि समाधानमुखी बाटोमा हिंड्नु जरुरी देखिन्छ । मूलत: यस्तो सन्दर्भमा त्यहाँको स्थानीयहरुसंग सहकार्य हुनैपर्छ, उनीहरुको प्रत्यक्ष निगरानी र अनुगमनलाई प्रोत्साहित गरिनुपर्छ किनकि रानीपोखरी संगको स्थानीय समुदायको आत्मीयता, अपनत्व र मायाले सकारात्मक भूमिका खेल्न सक्छ ।

आदरणीय मेयर ज्यू, जब पुरातात्विक महत्वका संपदाहरुको पुनर्निर्माणको कुरा आउछ, त्यसलाई प्रगतिशील हुनुको भ्रममा व्यावसायिक आधुनिक कोणबाट होइन फराकिलो प्राचीन दृष्टिकोणबाट हेरिनुपर्छ । तपाइँको काँधमा काठमाडौं जस्तो विश्व विख्यात शहरको जिम्मेवारी छ, जहाँको गल्लि गल्लीले पुरातात्विक महत्व बोकेका छन्, प्राचीन इतिहासहरुको साक्षी बसेका छन् । रानीपोखरी तपाइँको लागि एउटा परिक्षा हो । आशा गर्छौं तपाइँ यो परिक्षामा उत्कृष्टताका साथ उतीर्ण हुनुहुनेछ ताकी तपाइँलाई जिम्मेवारी दिएकोमा हामी पछुताउनु नपरोस् ।

 

-मोफसलबाट काठमाडौंको शुभचिन्तक-

विनोद रिमाल

यो लेख हामीले स्टिम न्युजबाट साभार गरेका हौ

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here