शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा वैज्ञानिक अनुसन्धानको कार्य शुरु

0
36
अनुसन्धान

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा वैज्ञानिक अनुसन्धानको कार्य शुरु गरिएको छ ।

निकुञ्जमा डार्बिन परियोजना शुरु भएपछि वैज्ञानिक अनुसन्धानको कार्यलाई अगाडि बढाइएको छ ।

सिंहपुरफाँटाको २० हेक्टर घाँसे मैदानलाई पाँचवटा ब्लकमा विभाजन गरी हरेक ब्लकलाई फरकफरक क्रियाकलाप गरी वैज्ञानिक परीक्षणको कार्य भइरहेको जुलोजिकल सोसाइटी अफ लण्डन, नेपाल अफिसका निरीक्षण एवं सर्भेक्षण अधिकृत प्रदीपराज जोशीले बताए ।

“तीन वर्षदेखि घाँसे मैदानमा रहेका ढड्डी, खरलगायतका वनस्पति काटेर आगो लगाउने, त्यसै छाड्ने, वनस्पति नकाटी आगो लगाउने र काटेर त्यसै छाडिदिने, बन्यजन्तुको उपस्थितिको अभिलेख राख्ने र घाँसको अवस्थालाई हेर्नेलगायतका क्रियाकलाप अगाडि बढाउँदै आएका छौँ”, उनले भने, “यस्तै विधिका आधारमा वन्यजन्तुको उपस्थिति, व्यवहार अवलोकन गर्ने, वनस्पतिको अवस्थालाई परीक्षण गर्ने र वन्यजन्तुको अनुकूलनका साथै ब्लकको नतिजाअनुसार घाँसे मैदान प्रयोगमा ल्याइने छ ।”

वैज्ञानिक अनुसन्धानको कुन विधि सफल हुन्छ त्यसै आधारमा घाँसे मैदान प्रयोगमा ल्याइने बताउँदै घाँसे मैदानमा यस्तो अनुसन्धानको कार्य नौलो हो ।

निकुञ्जलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउने नै घाँसे मैदान भएकाले यो बाह्रसिंगे, बाघ, गैँडा र विभिन्न चराचुरुङ्गीको बासस्थानका रुपमा रहेकाले वन्यजन्तु र विचरणका दृष्टिले महत्वपूर्ण रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका सहायक संरक्षण अधिकृत अनिल प्रसार्इंले बताए ।

“निकुञ्जमा खाद्यचक्रको मुख्य परभक्षी बाघ, चितुवालगायतले आहाराका रुपमा प्रयोग गर्ने बाह्रसिंगा, हरिण, बँदेल लगायतलाई लखेटीलखेटी संघर्ष गरेर शिकार गर्ने भएकाले सयौँको संख्यामा निकुञ्ज क्षेत्रमा छाडिने चौपायालाई नलखेटिकनै शिकार गर्ने भएकाले त्यो सिद्धान्तविपरीत हुन्छ”, उनले भने । रोगको संक्रमण बढ्ने सम्भावनासमेत उत्तिकै रहेको उनको भनाइ छ ।

नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा निकुञ्जलाई घाँसे मैदान संरक्षण र व्यवस्थापनका हिसाबले सबैभन्दा महत्वपूर्ण संरक्षण क्षेत्रका रुपमा लिइन्छ । निकुञ्जमा सानाठूला गरी १२ ठूला तथा फराकिला खुला घाँसे मैदान रहेका छन् ।

बाह्रसिंगाको ठूलो बथान निकुञ्जको घाँसे मैदानमै आश्रित रहेको छ । यो निकुञ्ज संकटापन्न अवस्थामा रहेका बाघ, गैँडा, हात्ती, खरमजुर र सेतोकण्ठे धिप्सीलगायतका वन्यजन्तु र चराचुरुङ्गीको बासस्थानका रुपमा रहेको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेका अनुसार निकुञ्जमा घाँसे मैदान वैज्ञानिक व्यवस्थापन तथा अनुसन्धानको कार्य भइरहेको छ भने निकुञ्जको मध्यवर्ती क्षेत्रमा उन्नत जातका पशु पालन, पशु बीमा, गोठ सुधार र पशु स्वास्थ्य केन्द्रको स्थापना लगायतका कार्य पनि भइरहेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here