धुमधामको घुमघाम नेपालः तीनजुरे मिल्के जलजले अर्थात टीएमजे

0
46
धुमधामको घुमघाम

धुमधामको घुमघाम नेपालः तीनजुरे मिल्के जलजले अर्थात टीएमजे

नयाँ वर्ष सुरु हुनै लाग्यो । नयाँ वर्षलाई नयाँ उत्साह, खुशी अनि उर्जा बटुल्ने अवसरका रुपमा स्वागत गर्ने तयारी धेरैजनाको हुन्छ नै । धुमधामको घुमघाम का लागि योजना पनि बनाइरहनु भएको होला । तपाईँका लागि गुराँसको राजधानी अर्थात तीनजुरे मिल्के जलजले क्षेत्र एउटा गजबको गन्तव्य बन्न सक्छ ।

पूर्वी पहाडी जिल्लाहरु तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले अर्थात टीएमजेका वनपाखा यतिवेला गुराँस फूलेर राताम्मे भएका छन् । थरिथरिका गुराँसका मनमोहक रङले देख्ने जोकोहीको पनि मन लोभ्याउँछ । विश्वमा पाइने ४२ मध्ये २८ बढी प्रजातिका गुराँस पाइने भएकाले यो क्षेत्रलाई गुराँसको राजधानी मानिन्छ ।

गुराँसमात्र होइन, पोखरी, सुन्दर लेकाली बस्ती, मकालु र कञ्चनजंघा हिमशृंखला, एउटै उचाइको रमणीय पदमार्गलगायतले यो क्षेत्र घुमफिरका लागि गजबको गन्तव्य बन्दै गएको छ । नयाँ वर्षमा पर्यटकको संख्या अझ बढ्ने गर्छ ।

जति हेरे पनि नअघाइने विविधता बोकेको यो क्षेत्रका वनभरी गुराँसको वैंश फक्रिएको छ । ठाउँ–ठाउँमा देखिने नागी र पोखरीहरू, पालुवाले हरियै बनेका डाँडाकाँडा अनि सङ्लो पानी बगिरहेका खोलाको दृष्य पर्यटकको मन लोभ्याउन पर्याप्त छन् ।

यस क्षेत्रमा गुराँसका रैथाने र नयाँ प्रजाति भेटिने क्रम पनि चलिरहेको जिल्ला वन कार्यालय तेह्रथुमले बताएको छ । १ हजार ५ सयदेखि ५ हजार ५ सय मिटरसम्मको उचाइमा फैलिएको यो क्षेत्र जैविक तथा सांस्कृतिक विविधता, प्राकृतिक स्रोत र सौन्दर्यको हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ ।

टीएमजेको प्रवेशद्वारको रुपमा रहेको वसन्तपुरबाट केही अगाडि टुटे देउराली नपुग्दै मनोरम गुराँसको जंगलले स्वागत गर्छ । वर्षको आठ महिना मानिसको ओहोरदोहोर नहुने यो क्षेत्रमा अहिलेको याममा गुराँसकै कारण आन्तरिक तथा बाह्य पर्यटकको मुख्य रोजाइमा पर्ने गर्छ ।

नयाँ वर्षमा अझै धेरै पर्यटक टीएमजे पुग्छन् । यो वर्ष सँधैभन्दा अलि कम मात्र गुराँस फुले पनि पर्यटकको संख्या नघटेको बसन्तपुरमा रहेको याक होटलका सञ्चालक पेम्बा भोटियाले बताउनुभयो । यो क्षेत्रमा घुम्न आउने पर्यटकका लागि तोङ्वा र सुकुटी मात्र होइन छुर्पी, गुराँसको जुस, ऐंसेलुको को स्वाद जिब्रोमै झुण्डिने गरेको छ ।

गुराँस संरक्षणको अभियानमा लागेका प्रदेश सभासदसमेत रहेका राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समितिका संयोजक लक्ष्मण तिवारी यो क्षेत्र विश्वभरिकै लागि गुराँसको अध्ययन अनुसन्धान र अवलोकनका लागि पहिलो गन्तव्य बनेको बताउनुहुन्छ । टीएमजे क्षेत्रको जनसंख्या ८० हजार हाराहारी छ ।

कसरी पुग्न सकिन्छ

काठमाडौंबाट विराटनगरसम्म जहाजमा वा काठमाडौंबाट सिधै गाडीमा पनि यो क्षेत्रसम्म पुग्न सकिन्छ । काठमाडौंबाट ३५ मिनेटको हवाई यात्रापछि विराटनगर पुगिन्छ । यहाँबाट लगभग चार घण्टाको यात्रापछि तेह्रथुमको वसन्तपुर पुगिन्छ ।

त्यहिँबाट गुराँसलगायत २ सयभन्दा बढी प्रजातिका वनस्पतिको अवलोकन र सुन्दरताको आस्वादन गर्न पाइन्छ । यो क्षेत्रमा गुराँसको सबैभन्दा अग्लो र होचो प्रजातिसमेत फूल्न थालेका स्थानीयबासी बताउँछन् ।

गाडी रिजर्भमा लिएर जानेहरुका लागि काठमाडौंबाट एकदिनमा बसन्तपुरसम्म पुग्न सकिन्छ । यस्तै, सार्वजनिक गाडीमा जाने हो भने काठमाडौंबाट विपी राजमार्ग हुँदै माइक्रोबसमा इटहरी वा धरानसम्म र त्यहाँबाट अर्को गाडी लिएर जान सकिन्छ । यस्तै काठमाडौंबाट रात्री बसमा जाने हो भने सिधै बसन्तपुरसम्मकै गाडी पनि पाइन्छ ।

वसन्तपुरदेखि मिल्के भञ्ज्याङसम्मको पदमार्गमा होटल तथा लज प्रसस्तै पाइन्छन् । अहिले यी होटल र लजमा पर्यटकको घुइचो लाग्ने गरेको छ । यस क्षेत्रमा यात्रा गर्दा एउटै उचाइका रमणीय पहाड भएर यात्रा गर्नुपर्ने भएकाले उचाइ परिवर्तनका कारण उत्पन्न हुने हाइअल्टिच्युड अर्थात लेक लाग्ने समस्या हुँदैन ।

नयाँ वर्ष सुरुवातको दिन बैशाख १ गते टीएमजेमा आगन्तुकहरुको भीड नै लाग्छ । यो वर्ष पनि तीनजुरे पाथीभरा मन्दिरमा पूजा गरिदैछ भने आर आर गार्डेन र अन्य ठाउँमा पनि पर्यटकलाई लक्षित गरी विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

थप पर्यटकिय गन्तव्य हरू

तिलिचो विश्वकै अग्लो स्थानमा रहेको ताल

“सिरूबारी होमस्टे” नेपालको पहिलो नमुना होम स्टे 

पनौती : ४० मन्दिर र २८ जात्राको शहर

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here