राजनीति

नेकपा सल्यानको चुनावी अभियान ३ चरणमा, चुनावी कमाण्डर बने ज्वाला



सल्यान । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रमेश मल्ललाई विजयी गराउने उद्देश्यसहित पार्टीले निर्वाचन परिचालन समिति गठन गरेको छ।

नेपाली कम्युनिष्ट पार्टी सल्यानको जिल्ला कार्यालय बैठकले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसांसद प्रकाश ज्वालाको संयोजकत्वमा निर्वाचन परिचालन मूल समिति गठन गरेको हो।

मूल समितिका साथै विभिन्न ६ वटा उपसमिति गठन गरिएको छ। त्यस्तै उपसमितिका संयोजकहरू सम्मिलित निर्वाचन परिचालन सचिवालय गठन गरिएको छ।

निर्वाचन परिचालन मूल समितिको सह–संयोजकमा केन्द्रीय सदस्य टेकबहादुर बस्नेत र सचिवमा रत्नबहादुर वली रहेका छन्।

त्यसैगरी, प्रचार–प्रसार उपसमितिको संयोजकमा रमेश गौतम, आर्थिक स्रोत परिचालन उपसमितिको संयोजकमा कृति बहादुर पुन, युवा तथा स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा लोक बहादुर डाँगी, सूचना तथा प्रविधि उपसमितिको संयोजकमा इन्द्रकुमार शर्मा तथा घोषणापत्र मस्यौदा उपसमितिको संयोजकमा भद्र सिंह बुढा रहेका छन्।

आन्तरिक पार्टी पंक्ति र आम मतदातासम्म प्रभावकारी रूपमा पुग्ने लक्ष्यसहित निर्वाचन अभियानलाई तीन चरणमा सञ्चालन गरिने नेकपाले जनाएको छ।

पहिलो चरण अन्तर्गत कार्यकर्ता प्रशिक्षण, घरदैलो कार्यक्रम तथा चुनाव चिन्ह वितरणका कार्यक्रम सञ्चालन गरिने प्रचार–प्रसार उपसमितिका संयोजक रमेश गौतमले जानकारी दिएका छन्। उनका अनुसार माघ ११ गते छत्रेश्वरी, माघ १२ गते कपुरकोट, माघ १३ गते शारदा, माघ १४ गते सिद्धकुमाख र माघ १५ गते बागचौरमा कार्यक्रम आयोजना गरिनेछ।

त्यसैगरी माघ १६ गते दार्मा, माघ १७ गते कुमाख, माघ १८ गते बन्गाड कुपिण्डे र माघ १९ गते कालिमाटीमा कार्यक्रम तय गरिएको छ। माघ २० गते त्रिवेणीमा विभिन्न समितिहरूको संयुक्त समीक्षा कार्यक्रम आयोजना गरिने पनि उनले बताए।

गौतमका अनुसार दोस्रो चरणमा माघ २१ गतेदेखि फागुन १५ गतेसम्म तीनवटा टोली गठन गरी जनसभा, जनभेला तथा जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ।

त्यसैगरी तेस्रो चरणमा फागुन १६ देखि १८ गतेसम्म बुथ प्रतिनिधि निर्धारण, प्रशिक्षण तथा मतदातासँग प्रत्यक्ष भेटघाटका कार्यक्रम सञ्चालन गरिने नेपाली कम्युनिष्ट पार्टी सल्यानले जनाएको छ।

प्रकाशित : ११ माघ २०८२, आइतबार, ,