सल्यान, माघ १७ । नेपाली कम्युनिष्ट पार्टी सल्यानका उम्मेदरवार रमेश मल्ल आज बिहान कुमाख गाउँपालिका वडा नं ५ तिमिलकाँडास्थित सहिद झक्कुप्रकाश पुन (निर्मम)को आमाको हातबाट टीका र आशिर्वाद लिएर आफ्नो पालिका प्रवेश गरेका छन्।
निर्वाचनकै तयारीको सिलसिलामा कुमाख गाउँपालिका स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा जाने क्रममा मल्लले तिमिलकाँडा, नेटा, झारकाँडा लगायतका टोलमा सहिद परिवार र स्थानीयसँग भेट गरेका हुन्।
सहिदकी आमाले लगाइदिएको रातो टीकालाई सहिदहरूको रगतको प्रतिबिम्ब भन्दै मल्लले आफ्नो तर्फबाट सहिदहरूप्रतिको सम्मान र सहिदले देखेको सपना पूरा गर्ने प्रतिबद्धतामा कमी हुन नदिने बताएका छन्।
सहिदकी आमाले टीका लगाइदिएको र स्थानीयसँग भेटेको तस्बिर फेसबुकमा शेयर गर्दै मल्लले लेखेका छन्- “आज म जन्मे हुर्केको- खेलेको, पढेको र बाल्यकाल बिताएको आफ्नै गाउँमा छु! बिहान तिमिलकाँडास्थित महान् सहिद झक्कुप्रकाश पुन (निर्मम) की आमाको हातबाट टीका ग्रहण गरेर कुमाख गाउँपालिकाको पार्टी बैठक तथा निर्वाचन विशेष भेलाका लागि पालिकाको केन्द्र रागेचौर पुगेको छु। सहिद आमाको आशिर्वाद लिएर तिमिलकाँडा, नेटा, झारकाँडामा बाटोमा सम्भव भए जति आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूलाई भेट्यौँ। सभा, घरदैलोका माध्यामबाट भेटघाटमा फेरि आउने गरि अहिले पार्टी बैठक र भेलामा केन्द्रित भएका छौँ।”








प्रतिक्रिया