सल्यान, माघ २० । नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन केन्द्रित त्रिवेणी गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम त्रिवेणीमा सम्पन्न भएको छ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी सल्यानका उम्मेदवार रमेश कुमार मल्ल, निर्वाचन परिचालन समिति सल्यानका संयोजक एवम् पार्टी केन्द्रीय सदस्य प्रकाश ज्वाला, निर्वाचन परिचालन समिति सल्यानका सह-संयोजक एवम् पार्टी केन्द्रीय सदस्य टेकबहादुर बस्नेत, केन्द्रीय सदस्य कृतिबहादुर पुन लगायत उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा पार्टीका नेता प्रकाश ज्वालाले आगामी निर्वाचनलाई लक्षित गरेर संगठन सुदृढीकरण र जनतासँग प्रत्यक्ष जोडिन कार्यकर्ताले विशेष भूमिका खेल्नुपर्ने बताउनु भयो। उहाँले भन्नुभयो, “चुनाव केवल मतदानको प्रक्रिया होइन, जनताको मुद्दा उठाउने र परिवर्तनको एजेन्डा स्थापित गर्ने अवसर पनि हो।”
पार्टी केन्द्रीय सदस्य टेकबहादुर बस्नेतले पार्टीको नीति, सिद्धान्त र कार्यक्रम गाउँ–गाउँसम्म पुर्याउन अगुवा कार्यकर्ताहरू सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।
नेपाली कम्युनिष्ट पार्टी सल्यानका उम्मेदवार रमेश कुमार मल्लले विकास, सुशासन र सामाजिक न्याय आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “जनताको समस्यालाई संसदसम्म पुर्याउनेछु। जिल्लाका विकास निर्माणका काममा सहजीकरण गर्नुका साथै जनपक्षीय नीति निर्माणमा प्रभावकारी र हस्तक्षेपकारी भूमिका खेल्नेछु।”
पार्टीका केन्द्रीय सदस्य कृतिबहादुर पुन, केन्द्रीय सदस्य तिलकराज भण्डारी र प्रदेश समिति सदस्य राजेन्द्र कुमार थापाले अहिलेको अवस्था र पार्टीको भूमिका, निर्वाचनको तयारी, संगठन विस्तार र कार्यकर्ता परिचालनबारे चर्चा गर्दै पार्टी पंक्ति एकताबद्ध,अनुशासित र इमान्दार भएर फिल्डमा खटिनुपर्ने बताउनु भयो।
नेत्र पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुजा भण्डारीले गर्नुभएको थियो भने स्वागत भोजकुमारी बुढाथोकीले गर्नुभएको थियो।
कार्यक्रममा त्रिवेणी गाउँपालिकाका विभिन्न वडाका अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी त्रिवेणी वडा नं. १ का शालिकराम खड्काले नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको थियो। उहाँलाई संयोजक प्रकाश ज्वालाले खादा लगाएर स्वागत गर्नुभएको थियो।
यसैबीच राजेन्द्र कुमार थापाको संयोजकत्वमा १३९ सदस्यीय त्रिवेणी गाउँपालिका निर्वाचन परिचालन समिति गठन गरिएको छ। समितिको सह-संयोजकमा कुलबहादुर भण्डारी र नेत्रप्रकाश पुन तथा सचिव पूजा भण्डारी रहनुभएको छ।








प्रतिक्रिया