नयाँ र पुरानोको फैसला विचार र एजेन्डाले हुन्छ- संयोजक प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ र पुरानोको परिभाषा विचार र एजेन्डाले तय गर्ने बताउनु भएको छ।
नेपाली कम्युनिष्ट पार्टी सल्यान सम्पर्क समितिले काठमाडौँ सुविधानगरमा आयोजना गरेको निर्वाचन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई नयाँ शक्ति भन्ने दलहरूसँग स्पष्ट विचार, सिद्धान्त र दीर्घकालीन एजेन्डा नभएको उहाँले टिप्पणी गर्नुभयो।
नयाँ भनिएका पार्टीप्रति लक्षित गर्दै उहाँले भन्नुभयो,“को हो नयाँ? को हो पुरानो? नयाँ र पुरानोको फैसला विचार, एजेन्डा र संघर्षले गर्छ। देशमा अहिलेको सबैभन्दा नयाँ विचार गणतन्त्र हो, संघीयता हो र ती विचार र उपलब्धिको नेतृत्व गर्ने शक्ति हामी नै हो।”
संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा नयाँ एजेन्डा कसैसँग नरहेको दाबी गर्दै उहाँले नयाँको धाक लगाउनेहरू वास्तवमा उदार पूँजीवाद र दलाल पूँजीवादको पक्षधर रहेको आरोप लगाउनु भयो।
“हामी नै सबैभन्दा नयाँ शक्ति हौँ। गणतन्त्र र संघीयताभन्दा नयाँ केही छैन। अब देशको नेतृत्व नेकपाले गर्ने आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा नेकपा नेता प्रकाश ज्वालाले सल्यानको विकासका लागि पार्टीका उम्मेदवार रमेश मल्ललाई विजयी बनाउन जिल्लाबाहिर रहेका सल्यानी शुभेच्छुकहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो। उहाँले युवा, क्षमतावान र अनुभवी नेतृत्वलाई अघि सारिएको उल्लेख गर्दै सल्यानको समृद्धिको जिम्मेवारी रमेश मल्लको काँधमा रहेको बताउनु भयो। पार्टीका उम्मेदवारले सुशासन, सामाजिक न्याय र दिगो विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने उहाँको भनाइ थियो।
नेकपा सल्यानका उम्मेदवार रमेश मल्लले सल्यानी जनताको साथ पाए जिल्लाको समग्र विकास र प्रतिष्ठा उँचो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफ्नो तीन दशक लामो राजनीतिक अनुभव र समाजसेवाको मूल्याङ्कन जनताले मतदानमार्फत् गर्ने विश्वास व्यक्त गर्नुभयो।
सम्पर्क समन्वय प्रदेश निर्वाचन परिचालन समितिका संयोजक तथा पार्टी केन्द्रीय सदस्य लक्ष्मण केसी काठमाडौँमा रहेका सबै सल्यानीहरु जिल्लामा गएर पार्टीका उम्मेदवार रमेश मल्ललाई जिताउन लाग्न आग्रह गर्नुभयो।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य उदय बोहरा, अन्तरिम व्यवस्थापिका संसद सदस्य टीका बुढाथोकी लगायत काठमाडौँमा बस्दै आएका नेकपा निकट पेसा–व्यवसायमा संलग्न व्यक्तिहरु, कलाकारहरु र सल्यानीहरुको उल्लेख्य सहभागिता रहेको थियो।
सल्यान सम्पर्क समितिका अध्यक्ष जीवन शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राजेन्द्र खड्काले गर्नुभएको थियो भने सहभागीलाई सचिव भरत परियारले स्वागत गर्नुभएको थियो।
कार्यक्रममा कलाकारहरु रामु विक, देवी बस्नेत, नवीन बुढाथोकी, पिएन साइला लगायतले तयार गरेका चुनावी गीतहरु सार्वजनिक गर्नुका साथै प्रस्तुत गरिएको थियो।








प्रतिक्रिया