समाचार

चुनावी अभियानमा एमाले र कांग्रेसबाट नेकपा प्रवेश



सल्यान, माघ २६ । प्रतिनिधि सभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टी सल्यानका उम्मेदवारको दोस्रो चरणको चुनावी अभियानअन्तर्गत कपुरकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकामा मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्।

अभियानअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवार रमेश कुमार मल्ल र समानुपातिक उम्मेदवार शारदा परियार मतदातासँग प्रत्यक्ष भेटघाट, घरदैलो तथा जनसंवाद कार्यक्रममा सहभागी हुँदै आएका छन्। मतदातासँग आफ्ना एजेन्डा प्रस्तुत गर्ने, स्थानीय समस्या बुझ्ने तथा जनताका सुझाव संकलन गर्ने उद्देश्यसहित उहाँसहितको टोली गाउँ–गाउँ पुगेको हो।

आज कपुरकोट गाउँपालिकाको वडा नं. ५ खाली, वडा नं. ३ कपुरकोट बजार तथा वडा नं. ४ का किमुचौर, धनवाङ र गाँडापानीमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ। यसै क्रममा कपुरकोट–४ किमुचौरमा विभिन्न राजनीतिक दल परित्याग गरी केही व्यक्तिहरू नेकपामा प्रवेश गरेका छन्।

नेकपा एमालेबाट अमृत बुढाथोकी र पदमबहादुर बुढा तथा नेपाली कांग्रेसबाट टेकबहादुर पुन, निमबहादुर बुढा, टेकेन्द्र राना र दलवीर बुढा नेकपामा प्रवेश गरेको जनाइएको छ। नवप्रवेशीहरूलाई उम्मेदवार मल्लले स्वागत गरेका थिए।

 

त्यसैगरी त्रिवेणी गाउँपालिकामा पनि चुनावी कार्यक्रम जारी रहनेछ। त्रिवेणी–४ फलाबाङ, त्रिवेणी–५ सल्लेखोला र सिम्क तथा त्रिवेणी–६ पोखरीमा भेटघाट तथा जनसंवाद कार्यक्रम तय गरिएको उम्मेदवार मल्लले जानकारी दिए।

भेटघाटका क्रममा उम्मेदवार मल्लले स्थानीय समस्या समाधानका लागि निरन्तर पहल गर्ने तथा जनताका आधारभूत आवश्यकता पूरा गर्न नीतिगत र भौतिक विकासमा भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले चुनावपछि पनि जिल्लासँग निरन्तर सम्पर्कमा रहने बताए।

कपुरकोटका विभिन्न टोल–बस्तीमा आयोजित कार्यक्रममा उम्मेदवार मल्लसहित नेकपाका केन्द्रीय सदस्य भद्रसिंह बुढाको उपस्थिति रहेको थियो। त्रिवेणीमा हुने घरदैलो कार्यक्रममा उम्मेदवार मल्लसहित केन्द्रीय सदस्य प्रकाश ज्वाला, टेक बहादुर बस्नेत,भीमप्रकाश शर्मा लगायतका नेताहरूको सहभागिता रहने जनाइएको छ।

प्रकाशित : २९ माघ २०८२, बिहिबार, ,