समाचार

त्रिवेणी र छत्रेश्वरीका गाउँ गाउँमा पुगे रमेश मल्ल



सल्यान । आगामी फागुन २१ गते हुने चुनावमा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिएका रमेश मल्ल चुनावी अभियानका क्रममा गाउँ गाउँमा पुगेका छन्।

मल्लले आज सल्यानको त्रिवेणी-१ काभ्रा रामबजार, छत्रेश्वरी-६ जिताठान, त्रिवेणी-३ ढुङ्गेबगर, त्रिवेणी-५ पोखरी र छत्रेश्वरी-७ लान्तीका साथै कालिमाटी गाउँपालिका-१, लक्ष्मीपुर सात्तलखोलामा मतदाताहरुसँग छलफल/अन्तरक्रिया गरेका छन्।

अभियानका क्रममा मल्लले युवाको माग र चाहनालाई सम्बोधन गर्ने उद्देश्यका साथ चुनावी मैदानमा उत्रिएको बताए।

अघिल्लो पुस्ताको अनुभव र युवाको जोशलाई समन्वय गर्दै निष्ठा र इमान्दारिताका साथ जिल्लाको विकास र समृद्धिमा योगदान दिने उनको प्रतिबद्धता थियो।

वर्षौँदेखि प्रतीक्षामा रहेको राप्ती लोकमार्गको काम हाल तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै उनले यो समस्या छिट्टै समाधान हुने बताए। साथै निर्वाचनमा नयाँको नाममा देखिएका गलत तत्वहरूलाई चिनेर सचेत ढंगले मतदान गर्न मतदातालाई उनले आग्रह गरेका छन्।

मल्लले सडक, विद्युत्, सञ्चार, खानेपानी तथा सिँचाइजस्ता पूर्वाधारलाई प्राथमिकतामा राखेर विकास अघि बढाउँदै सल्यानमा पूर्वाधार निर्माणका धेरै काम सम्पन्न भए पनि अब ती संरचनालाई गुणस्तरीय बनाउने चरणमा प्रवेश गर्नुपर्ने बताए।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउने चुनौती रहेको उल्लेख गर्दै गाउँ–गाउँका अस्पताल र विद्यालयलाई प्रभावकारी तथा सेवामुखी बनाउनेतर्फ आफू निरन्तर सक्रिय रहने पनि उनले प्रतिबद्धता जनाएका छन्।

चुनावी कार्यक्रममा नेकपा नेता तथा पूर्वमन्त्री प्रकाश ज्वालाले देशलाई निकास दिन परिवर्तनकामी, प्रगतिशील र युवाको भावना सम्बोधन गर्ने पार्टी तथा उम्मेदवारलाई विजयी गराउनु पर्ने बताए। नयाँ पुस्ताको आकांक्षा बुझ्ने पार्टी नेकपा भएको र जिल्लामा युवा उम्मेदवारलाई अघि सारेको भन्दै ज्वालाले मतदातालाई तारा चिन्हमा मतदान गर्न आग्रह गरे।

चुनावी कार्यक्रमहरुमा नेताहरु भीमप्रकाश शर्मा, समानुपातिक उम्मेदवार शारदा परियार, प्रदेश कमिटी सदस्य राजेन्द्र कुमार थापा, कुलबहादुर भण्डारी, नेत्र पुनलगायतका नेताहरूले बोलेका थिए।

प्रकाशित : २९ माघ २०८२, बिहिबार, ,